ललितपुर, असाेज ९
ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियान सुरु भएको छ । बुधवारदेखि ललितपुर महानगर विपद् व्यवस्थापन शाखाले “चिने आगो जीवन बचाउने, नचिने त्यही संसार जलाउने’ भन्ने नारासहित आगलागी नियन्त्रण सचेतना अभियान कार्यक्रम सुरु गरेको हो ।
सोही कार्यक्रम अन्तर्गत ललितपुरमा आगलागी रोकथामका उपाय, अनपेक्षित आगलागीका पूर्व तयारीका प्याम्लेट, श्रव्य दृश्यका कार्यक्रमहरू शुभारम्भ गरिएको छ। ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले आगलागी नियन्त्रण सचेतना कार्यक्रम शुभारम्भ गरेका छन् ।
ललितपुर महानगर प्रहरीको संयोजनमा दस जनाको समूह अभियानमा खटिने नगर प्रमुखले जानकारी दिए । चाडपर्व नजिकिँदै गर्दा आगलागीका घटना बढ्ने हुँदा ललितपुर महानगरले सचेतना कार्यक्रम सुरु गरेको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए ।