neapl investment mega bank
  • गृहपृष्ठ
  • दशैँमा नयाँ नोट नछाप्ने राष्ट्र बैंकको निर्णयः अर्थतन्त्र संकटमा परिसकेको पुष्टि

दशैँमा नयाँ नोट नछाप्ने राष्ट्र बैंकको निर्णयः अर्थतन्त्र संकटमा परिसकेको पुष्टि

Sep 22nd, 2024

काठमाडौं, असाेज ६

मुलुकमा केही वर्षयता पाँच पैसा, दश पैसा, सुका, मोर, सिक्का, एक र दुई रुपैयाँको नोट प्रचलनमा छैन । यस्ता रकम पछिल्लो समय बजारमा न देखिन्छ न भेटिन्छ । अहिले पाँच रुपैयाँको नोट पनि निकै कम मात्र भेटिन्छ । भेटिहाले पनि पुरानो वा च्यातिएको हुन्छन् । सार्वजनिक यातायातदेखि पसलहरुमा सामान खरिद गरेपश्चात् पाँच रुपैयाँ फिर्ता आउने भएमा व्यापारी तथा व्यवसायीहरु पाँच रुपैयाँको नोट छैन भन्दै फिर्ता पठाउँछन् । दश र बीस रुपैयाँको नोट प्रशस्त छन् । तर, सबै च्यातिएको, थोत्रो, अबिर दलिएको हुन्छ । २५ रुपैयाँको त अहिले नोट नै देखिदैँन । यता, ५० र एक सय रुपैयाँको नोट पनि सबै पुराना छन् । कुनै टेपले टाँलिएको छ त कुनै अबिरका कारण बिग्रिएको छ । कतिपय नोटमा केरिएको वा लेखिएको पनि पाइन्छ । पाँच सय र हजारको नोट अन्य नोटभन्दा कम भेटिन्छन् । र, भेटिहाले पनि पुरानो, च्यातिएको भेटिने सर्वसाधारण बताउँछन् । यो वर्षको दशैँ मुखमै आइसकेको छ । हिन्दु धर्मावलम्बीहरुको महान् चाड बडा दशैंमा टिका लगाइन्छ । टिका लगाएपछि दक्षिणा दिइन्छ । सो क्रममा यस्ता साना नोटहरु आवश्यक पर्छ । तर, नेपाल राष्ट्र बैंकले यो वर्ष दशैंमा नयाँ नोट नछाप्ने तथा नबाँड्ने बताइसकेको छ । राष्ट्र बैंकको यो निर्णय अर्थतन्त्र संकटमा परिसकेको समेत पुष्टि गर्दछ ।

किनकि हरेक वर्ष बडा दशैँमा केन्द्रित बैंकले नयाँ नोट बाँड्दै आएको थियो । तर, यो वर्ष के भयो यस्तो जसले गर्दा राष्ट्र बैंक नयाँ नोट छाप्नबाट पछि हट्यो ? यसले अर्थतन्त्र संकटमा परिसकेको यकिन हुन्छ । हाल बजारमा रहेका नोट सबै थोत्रा, पुराना, अबिर, तेल लागेर बिग्रिएका छन् । अनि राष्ट्र बैंक भने हामी नयाँ नोट छाप्दैनौं भन्छ । राष्ट्र बैंकले बजारमा पठाएका कति पैसा चलायमान छ ? कति पैसा लुकाइयो ? कति पैसा बैंक, वित्तिय संस्थामा जम्मा भयो ? कति पैसा अबिर, पानी, तेलका कारण बिग्रियो ? कति पैसा च्यातियो ? कति पैसा आगोले नष्ट भयो ? भन्ने तथ्यांक केन्द्रिय बैंकसँग छैन ।
हुन त राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी देश र जनताको हितमा हुने यस्ता काम गर्ने व्यक्ति पनि होइनन् । उनी त घरजग्गा, गाडी र सेयर दलालीलाई कसरी फाइदा हुन्छ ? भनेर मात्र सोच्छन् । अनि उनीहरुकै हितमा काम गर्छन् । राष्ट्र र जनताको केही मतलब छैन, गर्भनर अधिकारीलाई ।
अहिले एमालेकै अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री छन् । उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री छन् । सोही पार्टीका कार्यकर्ता अधिकारी राष्ट्र बैंकको गर्भनर छन् । एमालेको पछिपछि काँग्रेस सति जान लागिरहेको छ । तर, देशमा के भइरहेको छ ? बजारमा के भइराखेको छ ? भनेर न सरकारलाई थाहा छ ? न त सरकारमा बसेका राजनीतिक दलहरुलाई ! राष्ट्र बैंकले यो वर्ष दशैँमा नयाँ नोट नछाप्ने भएसँगै आम नागरिक असन्तृष्ट छन् । उनीहरु भन्छन्, ‘नेता, कर्मचारीले देश बेचे । अर्थतन्त्र ध्वस्त भयो । अनि त्यसैले दशैंमा सरकार नयाँ नोट छाप्नबाट पछि हट्यो ।’ उता, चानचुन पैसा नहुँदा व्यापारी तथा व्यवसायीहरुको ठगीधन्दा बढ्दै गएको छ ।

सरकारले एक किलोमिटरबाट पाँच किलोमिटरसम्म १९ रुपैयाँ तोकेको छ । तर, यातायात व्यवसायीहरु चढ्नेबित्तिकै २५ रुपैयाँ असुल्छन् । अनि यात्रुले ३० रुपैयाँ दिएमा पाँच रुपैयाँ छैन भन्दै फिर्ता गर्दैनन् । ५० रुपैयाँको नोट दिएमा पनि २० रुपैयाँ फिर्ता दिन्छन् । चानचुन छैन भनेर । किराना पसलहरुमा पनि पाँच रुपैयाँ छैन भनेर उपभोक्तालाई ठगिन्छ । व्यापारीहरु पाँच रुपैयाँको सामानलाई १५ रुपैयाँ मूल्य तोक्छन् । अनि उपभोक्ताले २० रुपैयाँ दिएमा पाँच रुपैयाँ छैन भन्दै फिर्ता गर्दैनन् । पत्रिका पसलहरुमा पाँच रुपैयाँदेखि दश, बीस रुपैयाँसम्मका पत्रपत्रिका पाइन्छन् । पत्रिका पसलेहरु पनि पाँच रुपैयाँको पत्रिकालाई चानचुन छैन भन्दै पाँच रुपैयाँ बढी? असुल्छन् । उनीहरु कि त पाँच रुपैयँँकै दुईटा पत्रिका लैजानुस् भन्छन् कि त साटेर ल्याउनुस् भन्छन् । यसरी हरेक क्षेत्रमा व्यापारी तथा व्यवसायीहरुले चानचुन पैसा नभएको बहानामा सर्वसाधारणबाट बढी रकम असुल्छन् । अनि बजारमा साँच्चिकै चानचुन पैसाको अभाव भएकै हो त ?
के राष्ट्र बैंकले सिक्काजसरी पाँच रुपैयाँको नोट पनि छाप्न बन्द गरेको हो ? यदि बन्द गरेको हो भने सार्वजनिक रुपमा भन्नुपर्यो ? तर, छाप्न बन्द गरेको छैन भने कि बजारमा पाँच रुपैयाँको नोटको अभाव छ ? यसको जवाफ अब सम्बन्धित निकायहरुले दिनैपर्छ । किनकि कुनै पनि बहानामा जनता ठग्न पाइदै्रँन ।

अहिले बजारमा रहेका नोटको अवस्था हेर्दा लाजमर्दो छ । त्यस्ता नोट देखेमा विदेशीले के भन्लान् ? विदेशमै रहेका नेपालीले समेत के सोच्लान् ? बजारमा नोटको अवस्था दयनीय रहँदा राष्ट्र बैंक मौन छ । न त नोटको दुरुपयोग गर्नेमाथि कारबाही गरिन्छ न त नोटको सदुरुपयोग गर्न सिकाइन्छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको तलब मात्र लाखौं छ । सेवासुविधा छुट्टै छ । उनी चढ्ने सरकारी गाडीको मूल्य मात्र झण्डै २५ करोड छ । अनि गर्भनर चाँहि यसरी मोजमस्ती गरेर हिँड्ने, सर्वसाधारण भने कुहिएको, थोत्रा, पुराना नोट चलाउन बाध्य हुनुपर्ने । अहिले नोट अभावकै कारण करोडौं सर्वसाधारण व्यापारी तथा व्यवसायीबाट ठगिएका छन् । तर, बजारमा कुन नोट कति सञ्चालनमा छ ? कुन नोटको आवश्यकता छ ? भनेर गर्भनरलाई केही मतलब छैन । २०६६ सालमा माधत्रवकुमार नेपाल प्रधानमन्त्री भएका थिए । उनलाई प्रधानमन्त्री पदबाट हटाउन माओवादीले देशभरका आफ्ना कार्यकर्तालाई काठमाडौं ल्याएर सडकमा उतारेको थियो । अनि काठमाडौंबासीले त्यो आन्दोलनमा साथ नदिएपछि माओवादीले आन्दोलन स्थगित गरेको थियो । आन्दोलन स्थगन गरेपछि सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टुँडिखेलमा आयोजित एक कार्यक्रममा उपत्यकाबासी सुकिलामुकिला मात्र रहेछन् भनेर बताएका थिए । उनले यहाँका स्थानीयलाई देशमा के भइरहेको छ ? जनताले के भोगिरहेका छन् ? केही पनि थाहा छैन भन्दै भाषण नै गरेका थिए ।

प्रचण्डले भनेजसरी अहिले प्रधानमन्त्री ओली पनि सुकिलामुकिलामै पर्छन् । उनलाई पनि देशमा के भइरहेको छ ? भनेर केही थाहा छैन । थाहा छ त बस कसरी काँग्रेसलाई भ्रममा पार्ने अनि आफ्नो कुर्सी जोगाउने भनेर । अर्थमन्त्री पौडेल र गर्भनर अधिकारीलाई पनि देश र जनताको अवस्थाबारे केही थाहा छैन । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी भन्छन्, ‘बैंकमा पैसा थुप्रियो । कर्जा लिन कोही आएन ।’ बचतकर्ताको निक्षेप बैंककै कर्मचारी, सञ्चालकको मिलेमतोमा खाताबाटै गायब पारिएको छ । यता, कर्जा प्रवाह पनि घुसबिना गर्दैनन् । बैंकले एक करोडको धितो राखेर ३० लाख ऋण दिन्छ । त्यसमा पनि पाँच लाख त घुस नै खाइदिन्छ । कर्जाको एक प्रतिशत सेवाशुल्क भनेर तीन प्रतिशत लिन्छन् । अनि १२ देखि १८ प्रतिशत ब्याज भनेर ८० प्रतिशतसम्म असुल्छन् । ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै एक करोडको धितो २५ लाखमा पचाइदिन्छन् । सहकारी, लघुवित्त, फाइनान्समा बचत गर्ने करोडौं बचतकर्ताको हिजो पैसा डुबेपश्चात् रुवाबासी भयो । आफ्नै पैसाका कारण उनीहरु आत्महत्या गर्नुपर्ने अवस्थामा पुगे । अब बैंकका बचतकर्ताहरुको पनि यस्तै हालत हुने देखिएको छ । अब बैंक पनि सहकारीजसरी डुब्दैछ । किनकि दुर्गा प्रसाई, भाटभटेनी साहु मीनबहादुर गुरुङजस्ता सयौं व्यक्तिले कमसल धितो राखेर बैंकबाट अर्बौ ऋण लिएका छन् । अहिले उनीहरुले कर्जा नतिरेपछि बैंक डुब्ने अवस्थामा पुगेको छ ।
रुषा थापा
भक्तपुर