neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रचण्ड सरकारको मन्त्रीजस्तै ओलीको हालत हुने त होइन् ?

प्रचण्ड सरकारको मन्त्रीजस्तै ओलीको हालत हुने त होइन् ?

Sep 20th, 2024

काठमाडौं, असाेज ४

सर्वोच्च अदालतले २०७८ असार २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट बर्खास्त गरिदियो । त्यसपछि काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए । एमालेले ९ महिना सदन अवरुद्ध गर्यो । सो अवधिभर एउटा पनि कानुन बनेन् । एमालेका सांसदका कारण ऐनकानुन बनेन् तर उनीहरुले राज्यबाट पाउनुपर्ने सेवासुविधा पनि छोडेनन् । चुनावको मिति छिटो घोषणा गर्न एमालेले दबाब दियो । देउवा नेतृत्वको सरकार भएमा देश बर्बाद हुने एमालेको भनाइ थियो । देउवाले २०७९ वैशाख ३० गते स्थानीय तहमा निर्वाचन गराए । मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भयो । दुवै चुनावमा जनताले एमालेलाई पत्याएनन् । सोचेअनुरुप मत नआएपछि ओली २०७९ पुस १० गते माओवादीका अध्यक्ष पुष्पकमल दाहालको शरणमा पुगे ।

प्रचण्डले प्रधानमन्त्रीको लोभमा परेर विगतमा पाएको धोका बिर्सिए । ३२ सीट भएकोले प्रधानमन्त्री पाउने भएपछि मख्ख परिहाले । हिजोको दिनमा ओलीले आफूलाई दिएको धोकाहरु बिर्सिए उनी प्रधानमन्त्री खान तम्सिए । प्रचण्ड नेतृत्वको सरकारमा एमाले गयो । २०७९ फागुन १५ गते एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरियो । एमाले सरकारबाट बाहिरिएपछि ओलीको फेरि उही गन्थनमन्थन शुरु भयो । देश सकायो, यो सरकार एक घण्टा मात्रै देश बर्बाद हुन्छ भनेर भाषण दिन थाले । हुन त ओलीको स्वभाव नै त्यस्तै छ । आफूले पाउँदासम्म सबै ठीक, नपाए सबै बेठीक । काँग्रेससँग गठबन्धन तोडेर प्रचण्ड २०८० फागुन २१ गते एमालेसँग गठबन्धन गर्न आए । देश बर्बाद बनाइरहेको व्यक्तिले नेतृत्व गरेको सरकारमा एमाले गयो । गत जेठ १५ गते बजेट भाषण आयो । अर्थमन्त्री थिए, वर्षमान पुन । बजेट भाषण आएपछि एमालेको रामकहानी शुरु भयो । सरकारी कर्मचारीको तलब बढाएन्, ज्येष्ठ नागरिकको भत्ता बढाएन्, माओवादीले आफ्नो क्षेत्रमा लगेर बजेट हाल्यो, अरु क्षेत्रमा बजेट हालेन्, हामी बजेट पास गर्न दिन्नौं भनेर एमालेले विरोध गाथा गाउन थाल्यो । बजेटको खुलेर विरोध गर्न ओलीले आफ्ना सांसदलाई निर्देशन दिए ।

संघीय संसद सचिवालयका कर्मचारीलाई तलब र सेवासुविधा बढाउनका निम्ति आन्दोलन गर्नका लागि उचालियो । काम छोडेर उनीहरु जतिबेला पनि चौरमा आएर आन्दोलन गर्थे । गत असार १७ गते काँग्रेस र एमालेबीच सरकार बनाउने सम्झौता भयो । अनि फेरि उही गन्थनमन्थन । प्रचण्ड एक घण्टा मात्र कुर्सीमा बस्यो भने देश बर्बाद हुन्छ भन्ने नारा लगाउन थालियो । असार ३१ गते ओलीले प्रधानमन्त्रीको शपथ खाए । ओली प्रधानमन्त्री भएको तीन महिना बित्न लाग्यो । यो अवधिमा उनले सिन्को पनि भाँचेनन् । हल्लेरै तीन महिना बित्यो । विभिन्न कार्यक्रममा जाने, भाषण ठोक्ने, यतिमै सीमित छन् उनी । हावा भाषण ठोक्ने अनि जनतालाई अल्मलाउने काम मात्र गरिरहेका छन् ओली । कर्मचारीको तलब, सेवासुविधा बढाउनुपर्छ भन्दै कराउने एमालेले आफू सरकारमा गएको लामो अवधि भएपनि बढाएको छैन् ।
राज्यको ढुकुटीमा भए त तलब बढाउने हो । पैसा छैन् अनि मुखले भट्टयाएर मात्र हुन्छ । एमाले जतिबेला पनि ज्येष्ठ नागरिक भत्ता हामीले दिएको भन्छ । जबकी त्यो राज्यको ढुकुटीबाट दिइएको हो । ज्येष्ठ नागरिक भत्ता बढाउनुपर्यो भनि बुरुकबुरुक उफ्रिने एमाले अहिले मौन छ । न विभिन्न क्षेत्रमा भएको सिण्डिकेट नै हटाइएको छ । ओली सरकारले गरेको काम भनेको धमाधम वैदेशिक ऋण लिने मात्र हो ।
दुई महिनामा एक खर्ब ४१ अर्ब रुपैयाँ विदेशी ऋण स्वीकृत गरिएको छ । दोस्रोचोटि २०७४ फागुन ३ गते उनी प्रधानमन्त्री हुँदा विदेशी ऋण ६ खर्ब थियो । २०७८ असार २१ गते पद छोड्ने बेलामा ऋण २१ खर्ब पुग्यो । ऋण ल्याउने, अलिअलि जनतालाई बाँड्ेजस्तो गरेर आफ्नो कार्यकर्ता पोस्ने अनि कसले देको भन्दा एमालेले । ‘स्टण्टबाजी’ गर्न पनि जानेकै हो । उनी सरकारमा आउनु भनेको विदेशी ऋण बढ्नु मात्र हो ।
अहिले ऋण बढेर झण्डै २६ खर्ब रुपैयाँ पुगिसकेको छ । नेपाल विदेशी ऋणको दलदलमा फसेको छ । एमालेले नौटंकी गर्नभन्दा अरु केही जानेको छैन् भन्ने त सबैले बुझेकै छन् । एमाले सरकारमा आयो भने अर्थतन्त्र सुध्रिन्छ, सेयर बजार ट्रयाकमा आउँछ, जनताको जीवनस्तरमा सुधार आउँछ भन्ने ओलीको झुठको मुकुट जनताको सामुन्ने खुलिसकेको छ । आफ्नो कार्यकर्तालाई हल्ला फिजाउन लगाएर सेयर बजार बढाएजसो गरे ।

वास्तविकता अहिले सबैको अगाडि ‘दुधको दुध, पानीको पानी’ भइसकेको छ । अहिले सेयरको मूल्य घटेर २५ सयमा आएको छ । एमालेको दाबा त जम्मै झुठ्ठो भइसकेको छ । सेयरको मूल्य घटेपछि अर्थमन्त्री विष्णु पौडेल दौडिँदै नेप्सेको कार्यालयमा पुगे । आफ्नो र प्रधानमन्त्रीको पद र इज्जत जोगाइदिनपर्यो भन्दै पुगेका उनले जति नै गरेपनि अब सेयरको मूल्य बढ्दैन् । त्यो सामान्य नागरिकले पनि बुझिसकेका छन् । किन कि उद्योग व्यवसायी, कलकारखाना सबै धरासायी बनिसकेको छ । सेयर दलालीहरु उक्सिए तर सोझासाझी फसे । पौडेललाई अर्थमन्त्री बनाएर हामी उम्कियौं भनेर कोही हासिरहँदा कोहीको आँखामा टिलपिल आँशु छ । १८ सयको सेयर ३१ सयमा किन्नेहरु चुलुम्मै डुबे । उनीहरु सडक छाप बने । पौडेललाई अर्थमन्त्री बनाउनुहुन्न भनि पार्टीभित्रै विरोध भएको थियो । तर, ओलीले सेयर दलालीको कुरा सुनेर उनलाई प्रधानमन्त्री बनाइयो । पौडेल आए, केही दिन सेयरको मूल्य बढेजस्तो भयो, अहिले फेरि उही अवस्था । अरुले देश बनायो भन्ने एमालेले देश बनायो त ? ओली प्रधानमन्त्री भएपछि त देश झन्झन् नाजुक बनेको छ । जनता झनै आक्रोशित भएका छन् । अब उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएर बाटो खुल्ला गरिदिँदा ठीक होला ।

किन कि उनी प्रधानमन्त्री बनेपछि जनता झनै डुबे । जनतामा नैराश्यता छायो । विदेशीले उनलाई पत्याउनन् । हुन त नेपाली जनताले नै उनलाई पत्याउँदैनन् । ओलीको पछाडि लाग्दा काँग्रेसको पनि पत्ता काटिएको छ । एमालेसँगै काँग्रेस पनि सति गयो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गरेको आरोप देउवापत्नी डा आरजु देउवामाथि लागेपछि काँग्रेसले हत्तपत्त एमालेसँग गठबन्धन गर्यो ।
एकले अर्कोलाई जोगाउने खेलमा देश बर्बाद बनाइयो । गिरीबन्धु टी स्टेटको जग्गा हिनामिनाको आरोप लागेको व्यक्ति देशको प्रधानमन्त्री हुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालको बद्नामी भएको छ । जनताले पहिलो पार्टी बनाएपनि काँग्रेसले आफ्नो ‘स्ट्याण्ड’ लिन सकेन् । हामी असफल छौं भनेर काँग्रेसले आफ्नो मत एमालेलाई सुम्पिहाल्यो । जनताको मत काँग्रेसलाई धेरै सस्तो भयो । काँग्रेस र एमालेलाई भोट दिनुहुन्न भनेर सर्वसाधारणबीच बहस चलिसकेको छ । काँग्रेसलाई भोट दिएर सरकार चलाउन सक्दैनन्, एमालेलाई भोट दियो भने देशै सकाउँछ । त्यसैले यी दुई पार्टीलाई जरैबाट उखालेर फ्याँक्न जरुरी देखिएको छ । यता, अन्य पार्टीको अवस्था पनि त्यस्तै छ । सरकारबाट निस्किएपछि प्रचण्डको रमिता शुरु भइसक्यो । च्यातिएको सर्ट लगाएर, गाउँगाउँ पुगेर नौटंकी देखाएका छन् ।

रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी पुष्टि भइसकेको छ । अन्य पार्टी पनि त्यस्तै छन् । देशमा भएको बेतिथि र विकृतिको विरोधमा अब जनता सडकमा आउने देखिएको छ । ओली आज अमेरिका जाँदैछन् । उनी फर्किदाँ उनको पद रहने हो कि होइन् ? भनेर जनताले बहस गर्न थालिसकेका छन् । ओलीको त अहिले चौतर्फी विरोध छ । उनी आउँदा प्रचण्ड सरकारको श्रममन्त्री शरदसिंह भण्डारीको जस्तै हालत हुने हो कि ।
अनुसा थापा
भक्तपुर