काठमाडौं, असाेज १
नेपालको पहिलो निजी क्षेत्रकोे जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गर्दै, नेपाल र आम नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको आफ्नो यात्राको १९औं वार्षिकोत्सव मनाएको छ ।
“विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गरि रु २ अर्ब (१ करोड ५० लाख अमेरिकी डलर) भन्दा बढिको योगदान गरेको छ । हाम्रा सबै राम्रा कार्यलाई एउटै उदेश्य र छातामुनि ल्याउनु महत्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेका हौं,” वार्षिकोत्सव मनाउन मंगलबार आयोजना गरिएको एक विशेष कार्यक्रमका दौरान एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।
कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान पुर्याउनु फाउन्डेसनको भिजन रहेको बताएको छ । फाउन्डेसनको उदेश्यहरुमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको छ ।
एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ । यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्यहरु कार्यान्वयन गरिने छन् र प्रत्येक एक आयोजनाले १० लाख सीड फन्डको रुपमा सहयोग प्राप्त गर्नेछन् । गत वर्ष ‘एटीन फर एटीन’ अन्तर्गत खुला गरिएका परियोजना प्रदेश स्तरमा कार्यान्वयन रहेका छन् ।