काठमाडौं, भदाै २६
राष्ट्रपति होस् या भूपू राजा विभिन्न चाडबाडमा मन्दिरमा पूजापाठ गर्न जान्छन् । राष्ट्रपति सवारी हुने भन्नेबित्तिकै सुरक्षाकर्मीको लहड लाग्छ । राष्ट्रपतिलाई घेरा लगाएर दर्शन गर्न ठाउँसम्म पुर्याउँछ । जनतासँग बोल्न दिँदैनन् । मन्दिरको अवस्था के–कस्तो छ ? जनताको समस्या के छ ? राष्ट्रपतिले त्यो बुझ्दैनन् । वा, सुरक्षाकर्मीले बुझ्न दिन चाहँदैनन् । घेराबारा हालेर ल्याउँछन्, घेराबारा हालेरै लैजान्छन् । राष्ट्रपति आउने भएपछि मन्दिरको महिना दिनअगावैदेखि सरसफाइ शुरु हुन्छ । रंगरोगन गरिन्छ । दिँउसो १ बजे राष्ट्रपति आउने छन् भने बिहानदेखि सर्वसाधारणलाई पूजाआजामा प्रतिबन्ध लगाइन्छ । उनीहरुलाई जान दिँइदैन् । मन्दिरमा सरसफाइ हुन र मर्मत सम्भार हुन उच्च पदस्थ आउनैपर्छ । मन्दिर करोडौं हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र हो । तर, फोहोर पारेर राखिएको हुन्छ । न पानीको व्यवस्थापन हुन्छ न विश्रामस्थलको । शौचालय हुँदैन् । मन्दिरको जताततै फोहोरैफोहोर देखिन्छ ।
उच्च पदस्थ आउने भनेपछि रातारात मन्दिर चकाचक सफा पारिन्छ । उच्च पदस्थले त जनताको कुरा सुन्नुपर्छ, बुझ्नुपर्छ । उनीहरु जाँदा त मन्दिर सरसफाइ गरिहालिन्छ । भक्तजनसँग राम्रो व्यवहार गर्याजस्तो गर्छन् । तर, अन्य दिन जनताले कस्तो समस्या भोगेका छन् ? यो बुझ्नुपर्यो । देशको राष्ट्रप्रमुख होस् या राजा उनीहरु सबै जनताका सेवक हुन् । जनताको लागि काम गर्न त्यो पद राखिएको हो । तर, उनीहरु अर्काले तपाईँ भनोस् कि नभनोस् आफैं मपाईँ भने । जनतामा हामी को–को न हौं भन्ने देखाउन खोज्छन् । जनताको समस्या नै नबुझ्ने पनि के राष्ट्रप्रमुख ? जतिबेला पनि सुरक्षाकर्मीको घेराबारामा हिँडेको छ । जनतालाई दुःख दिएको छ । राष्ट्रपति आउने भन्नेबित्तिकै सुरक्षाकर्मीहरुले मन्दिरमा मागेर गुजारा गर्नेहरुलाई लखेटछन् । अपाङ्गता, वृद्धवृद्धालाई त्यहाँबाट धपाउँछन् । माग्न पनि नदिने अनि चोर्न जाने ? यसको जवाफ दिनुपर्यो ।
यस्तो पनि राष्ट्रपति र राजा ? भन्न पनि लाज लाग्दो । गरिब भएपनि ऊ देशको नागरिक हो । उनीहरुलाई माग्न बाध्य देखाउन देशका नेतृत्वकर्ताहरु न हुन् । उनीहरुले देशलाई सही गन्तव्यमा लगेको भए सायदै कोही मागेर गुजारा गर्थ्र्यो होला । आफ्नो जनताले माग्दा लाज लाग्ने राष्ट्रपति र राजाले उनीहरुको व्यवस्थापन गरिदिनुपर्यो । जनताले आफ्नो गुनासो सुनाउन पाउनुपर्छ । मागेर गुजारा गर्नेको चाँहि समस्या हुँदैन् ? उनीहरुलाई पनि त आफ्नो वेदना पोख्न मन लाग्दो हो । भूपू राष्ट्रपति, प्रधानमन्त्री, न्यायाधीश, मन्त्री कोही कहिले एक्लै हिँड्दैनन् । बलिउड फिल्मको हिरोजसरी अगाडिपछाडि सुरक्षाकर्मीको लहर लगाएर हिँड्छन् । जनताको कुरै सुन्दैनन् भने उनीको समस्या कसरी सम्बोधन गर्छन् ? राष्ट्रपतिले सडकमा हिँड्नै हुन्न भनेर कतै लेखिएको छ ? छैन् नि । अनि सडकमा हिँड्न र सर्वसाधारणको समस्या बुझ्न केको लाज ? जनताले त उनीहरुलाई केही गर्दैनन् । जनताको अगाडि डराउने हो भने उनीहरुका लागि कसरी काम गर्ने ?
पछिल्लो समय बाटोमा माग्नेको संख्या बढेको छ । देशको हरेक आकाशे पुलमा माग्नेको लर्को देखिन्छ । तर, सरकारको त्यसतर्फ ध्यान छैन् । देशको अवस्था के छ ? राष्ट्रपतिलाई भन्दा बढी महाबौद्धमा भारी बोक्नेलाई थाहा छ । उनीहरुलाई सोध्यो भने,‘आर्थिक मन्दी छ’ भनेर जवाफ दिन्छन् ।
किन कि उनीहरुलाई बजार डामाडोल छ भन्ने कुरा थाहा छ । हिजो एक हजार कमाइ हुन्थ्यो भने आज सय हुन मुश्किल छ । यद्यपि, सरकारलाई यो कुरा थाहा छैन् । सडकमा माग्नेको संख्या किन बढ्यो ? सरकारलाई सायदै थाहा होला । बैंक तथा वित्तिय संस्थाले घरबास उजाडिदिएपछि धेरै माग्न सडकमा आइपुगेका छन् ।
यता, बैंक तथा वित्तिय संस्थाकै कारण जनता आत्महत्याको बाटो रोज्न बाध्य छन् । मँहगी छ, जनतालाई गुजारा गर्न समस्या छ । तर, सरकारलाई थाहा छैन् । भारतको प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक प्रधानमन्त्री भएपछि नेपाल आए । सोल्टीमोडबाट फर्किँदै गर्दा उनले गाडी रोकेर नेपाली जनतासँग हात मिलाए । कुदिरहेको गाडी रोकेर जनतासँग कुराकानी गरे । नेपालका उच्च पदस्थलाई भन्दा भारतका उच्च पदस्थले नेपाली जनताको सम्मान गरे । हाम्रो मुलुकको उच्च पदस्थहरु कहिले जनतासँग भेट्दैनन्, उनीहरुको गुनासो सुन्दैनन् । हाम्रा नेतालाई जनतालाई भेट्न नहुने, जनताको कुरा सुन्न नहुने तर जनताले तिरेको करमा मोजमस्ती गर्न हुने । यत्रो सुरक्षाकर्मी राख्दा पनि आफ्नो ज्यानको डर हुनु वास्तवमै आश्चर्यचकित छ । जनतालाई विगतदेखि नै दासी बनाइएको छ । लोकतन्त्र, गणतन्त्रको नाम दिएर जनताको शोषण गरिएको छ । मिर्गौला पीडितको संख्या पछिल्ला दिन ह्वात्तै बढेको छ । उनीहरु उपचारका लागि सहयोग मागिरहेका हुन्छन् । आँखा नदेख्नेहरु सडक किनारा गीत गाएर माग्छन् । कलिला बालबालिकाहरु खानका लागि हात फैलाइरहेका छन् । जनता खान र उपचार नपाएर आफू पनि मर्छन्, आफ्ना बालबच्चा पनि मार्छन् । अनि प्रधानमन्त्री, मन्त्री, राष्ट्रपति, सरकारी कर्मचारीचाँहि जनताले तिरेको करले नपुगेर विदेशीबाट समेत ऋण लिन्छन् ।
यिनीहरुले जनताले तिरेको कर, रेमिट्यान्स र ऋण नउडाएको भए त जनताको मुख फेरिन्थ्यो होला नि । देश बेचेर ऋण लिने उनीहरु, अनि लखेटिनुपर्नेचाँहि जनता । बाटोमा मागेर पनि खान नपाउने ? लाज त देश बेच्नेहरुलाई हुनुपर्ने हो । तर, लखेटिनुपरेको छ जनता ।
यस्तै, रहेछ, यहाँको लोकतन्त्र र गणतन्त्र । ‘ठूलालाई चेन र सानालाई ऐन’ भन्थे, सायद यही नै होला । देशको प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला फेर्दा जनताले तिरेको करबाट अर्बौं रुपैयाँ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई सामान्य पेट दुख्दा भारत लगियो । ५५ लाखको बिल पेश गरियो । यी दुईले मात्र होइन् अन्यले पनि राज्यको ढुकुटीबाट उपचारका नाममा करोडौं रुपैयाँ लिएका छन् । जनताचाँहि सध्ये हुँदापनि गरिबीले गर्दा मर्नुपरेको छ । विदेशमा नेपालीले रगत पसिना बगाएका छन् । उनीहरुले पठाएको रेमिट्यान्स पनि सखाप बनाइयो । अनि यस्तालाई कुन मुखले नेता भन्ने ?
नेता त यस्ता हुँदैनन् । नेता त्यागी हुन्छन्, देश र जनताका लागि जे गर्नपनि तयार हुन्छन् । राज्यको ढुकुटीको दोहन गर्ने व्यक्तिलाई नेता भन्नु नेपालीका लागि दुर्भाग्यको कुरा हो । बाटोमा माग्न बस्नेको न जन्मदर्ता हुन्छ न नागरिकता । न उसले राज्यबाट पाउने सेवासुविधा पाउँछ । देश बेच्छ भनेर तिनलाई नागरिकता नदिएको हो ? मागेर खानेलाई राज्यले हरेक सेवासुविधाबाट वञ्चित गराएको छ । गरिब हुनुमा उनीहरुको के दोष ? चोरेर खाएको भन्दा त मागेर खाएको ठीक होला नि होइन् ? सरकार रोजगारी दिन नसक्ने अनि माग्नेलाई लखेट्न ?
अब यिनीहरुलाई होइन्, राष्ट्रपति, प्रधानमन्त्रीलाई लखेटौं । सुरक्षाकर्मी पनि देश बेच्नेलाई लखेट, नाकि कसैले दयाले दियो भने पेट भर्नेलाई । गरिब छ भन्दैमा हेप्न नखोज । भारत र चीनले कब्जा गरेको नेपाली भूमि सुरक्षाकर्मी फिर्ता ल्याउन सक्दैनन् । बरु, गरिबमाथि दमन गर्न खोज्छन् ।
सुरक्षाकर्मीलाई जनताको प्रश्न,‘देश सिद्धयाउनेलाई सुरक्षा दिएर के फाइदा ?’ मँहगी बढेको छ, भ्रष्टाचार बढेको छ, वैदेशिक ऋण बढेको छ, नेपालीको अवस्था दिनप्रतिदिन बिग्रिँदै गएको छ । यो सब त्यही नेताहरुको कारणले होइन् ? नेताहरुले देश र जनताभन्दा हामी ठूला हौं झैं गरे ।
हामीभन्दा ठूलो देश र जनता हो भन्ने यिनीहरुले सोचेनन् । जसको परिणाम कुनैदिन यिनीहरुले भोग्ने नै छन् ।
अनुसा थापा
भक्तपुर