neapl investment mega bank
  • गृहपृष्ठ
  • छोरीको हत्या गरेकाे आराेपमा आमा पक्राउ

छोरीको हत्या गरेकाे आराेपमा आमा पक्राउ

Sep 9th, 2024

ललितपुर, भदाै २४

ललितपुरमा छोरीको हत्या गरी खोलामा फालेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ।

२३ महिनाकी छोरीको हत्या आरोपमा प्रहरीले सोमबार कोन्ज्योसोम गाउँपालिका-३ दलचोकी बस्ने २१ वर्षीया प्रमिला भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

एसपी सुवेदीका अनुसार काभ्रे पनौती घर भई दलचोकी बस्ने प्रमिलाले साउन २४ गते अपराह्न ५ बजे आफ्नी छोरी पृन्सिका भण्डारी घरबाट हराइरहेको भन्दै प्रहरीलाई जानकारी दिएकी थिइन्। 

साउन २८ गते बिहान पौने ९ बजे सोही ठाउँको सिलिङ्गेबेसी आँपबोटमा रहेको ठोस्ने खोलामा पानीमा डुबिरहेको अवस्थामा मृत भेटिएकी थिइन्। पानीभित्र लत्रेको रूखको हाँगामा शव अड्किएको थियो।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले पोष्टमर्टमको लागि शव पाटन अस्पतालमा पठाएको थियो।

अनुसन्धानको क्रममा घटना शंकास्पद लागेपछि प्रहरीले सोधपुछ थालेको थियो। सोधपुछको क्रममा प्रमिलाले बालिकालाई हिर्काउँदा बेहोस भएको बताएकी थिइन्।

बेहोस भएपछि भने बालिकालाई खोलामा फालेको बयानमा भनेकी एसपी सुवेदीले बताए।

प्रमिलामाथि कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत ललितपुरबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ। यस सम्बन्धी अनुसन्धान प्रहरी वृत्त चापागाउँबाट भइरहेको प्रहरीले जनाएको छ।