काठमाडौं, साउन २५
नेपालीहरुको महान् चाड नजिकिँदै छ । पहिलेपहिले व्यापारीले महिनौं अगाडिदेखि चाडबाड लक्षित गरेर सामान आयात गर्दथें । खाद्यान्न, लत्ताकपडालगायत अन्य सामान महिनौं दिनअगाडि आयात गरिन्थ्यो । तर, यसपटक व्यापारीहरुले सामान ल्याउनमा चासो देखाएका छैनन् ।
असोजमा दशैं छ । अब डेढ महिना बाँकी छ । यद्यपि, व्यापारीहरुमा सामान ल्याउने रौनक छैन् । पुरानै सामान बेच्ने सुरमा छन्, उनीहरु । नयाँ सामान हाल्दा डुबिने डर छ, उनीहरुलाई । राजधानीको व्यापारिक केन्द्र महाबौद्ध, इन्द्रचोक, न्युरोडलगायतका स्थानमा कपडा पसल थापेर बसेकाहरु ग्राहक नआउने गुनासो गर्छन् । यता, ललितपुरको लगनखेल, मंगलबजार, भक्तपुरतिर पनि त्यस्तै हाल छ । ग्राहकहरुले नयाँ सामान पाएका छैनन् । पुरानै सामान किन्न बाध्य छन् । लुगामा मिति लेखेको छ । खाद्यान्नमा त व्यापारीहरुले नयाँ मिति लेख्छन् । व्यापारीहरु जनताप्रति अलिकति पनि जिम्मेवार देखिँदैनन् । आफूलाई फाइदा हुन्छ कि हुँदैन् ? यति मात्र हेर्छन्, व्यापारी । सर्वसाधारणलाई सामानको रेट थाहा हुँदैन् । व्यापारीले जति भन्यो त्यति तिर्ने हो । सामानको रेट व्यापारीको जिब्रोले तय गर्छ । त्योपनि गुणस्तर भए त हुने हो । पछिल्लो समय बजारमा आर्थिक मन्दी छ । पसलमा ग्राहक छिर्दैनन् ।
एक जना छिर्यो भने उसैबाट असुल्छन् खोज्छन् । पाँच सयको सामानलाई पाँच हजार । निजी कार्यालयमा काम गर्नेहरुले तलब पाएका छैनन् । महिनौंदेखि वर्षौंसम्मको तलब बाँकी छ । उनीहरु सामान किन्न पनि सक्दैनन्, कतै गएर केही खाऊँ भन्न पनि उनीहरुसँग पैसा हुँदैन् । मुलुकमा बेरोजगारी बढ्दो छ । काम नपाएर मान्छे रन्थनिएका छन् । खानलाई पैसा छैन् । सर्वसाधारणले सडकमा साग बेचेर, मकै पोलेर, अर्काको घरमा भाडा मेलेर जोडेको अलिकति पैसा पनि सहकारी र लघुवित्तले खाइहाल्यो । सहकारीबाट पैसा निकालेर चाडबाड मनाउ भन्न सक्ने अवस्था पनि छैन् । बैंकले धितो नभईकन ऋण दिँदैन् । अब जनताले कसरी दशैं मान्ने ? चाडबाड नजिकिँदै गर्दा अधिकांशलाई यो चिन्ताले सताउन थालेको छ । अहिलेको दशैंमा व्यापार हुँदैन् भन्ने कुरा व्यापारीहरुले थाहा पाइसके । दशैं मान्न गाउँ जाने र नफर्किने भन्न थालिसकेका छन्, सर्वसाधारण । दशैंपछाडि उपत्यकाभित्र धेरै सटर, कोठा, फ्ल्याट खाली हुन्छ भन्ने पक्कापक्की भइसकेको छ । सर्वसाधारण दशैंसम्म कुरेर बसेका छन् । बजार चलायमान हुन सकेको छैन् । असोज १७ गते घटस्थापना छ । सर्वसाधारणलाई घर जाने खर्च जुटाउनु छ । अर्थमन्त्री विष्णु पौडेललाई बजारबारे जानकारी छैन् । आफू अर्थमन्त्री हुनेबित्तिकै शेयरको मूल्य बढ्यो भनेर भाषण ठोक्छन् । शेयरमा ६५ लाख सर्वसाधारणको लगानी छ । शेयर खेलाडी भने ५० देखि ५५ जना छन् । उनीहरुले शेयरको मूल्य बढाए बढ्छ, घटाए घट्छ । एक सयको शेयर ३२ सय पुर्याउने र ३२ सयबाट एक सयमा झार्ने पनि यिनीहरु नै हुन् । गत असार ३१ गते केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ खाए । त्यतिबेलासम्म पार्टीभित्र सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउनेबारे छलफल भइरहेको थियो । तर, शेयर दलालीहरुले पौडेललाई अर्थमन्त्री बनाउन दबाब दिए । र, उनलाई नै अर्थमन्त्री नियुक्त गरियो । शेयरको मूल्य अचानक बढेपछि सदनमा आवाज उठाइसकेको छ ।
बैंक, कम्पनी, फाइनेन्स, सहकारी, लघुवित्त घाटामा गइसकेको छ, शेयरको मूल्य कसरी बढ्यो ? पूर्वअर्थमन्त्री डा प्रकाशशरण महत र अमरेशकुमार सिंहको आवाज हो यो । उनीहरुले त्यो बोलेको भोलिपल्टै १४५ अंकले शेयर घट्यो । बैंकहरुले कर्मचारीलाई तलब दिन नसकेको कर्मचारी कटौती गरिरहेको छ । शाखा बन्द गरिरहेको छ । बैंकमा कर्जा लिन जाने कोही छैन् । बैंकको आम्दानीको स्रोत छैन् । बैंकका कर्मचारीहरुले खाताबाटै सर्वसाधारणको पैसा झिकिरहेका छन् । बैंक तथा वित्तिय संस्थालाई जनताले अब विश्वास गर्दैनन् । बैंकको दादागिरी अति नै भइसक्यो । करोडको धितो लाखमा खाइदिने । यता, उद्योगहरु पनि क्षमताको ३० प्रतिशत मात्र चलेको छ । अटो व्यवसायीहरु ७० प्रतिशत लगानी डुबिसकेको बताउँछन् । घरजग्गाको कारोबार छैन् । तीन करोड पर्ने घरजग्गा ८०–९० लाखमा बेच्छुभन्दा पनि किन्ने मान्छे छैनन् । तीन वर्षअगाडि सम्म न्युरोड, ठमेल, पुतलीसडक, महाबौद्धलगायत उपत्यकाका अन्य स्थानमा २० देखि ६० लाखसम्म सटर खरिदबिक्री हुन्थ्यो ।
तीनदेखि ६ महिनाअगावै पैसा बुझाउनुपर्थ्यो । यो ठाउँमा एउटा कोठाको पाँच हजारदेखि २० हजार पर्थ्यो । ६ महिना खोज्दा पनि भेटिदैन्थ्यो । यस्तो चाप हुने ठाउँमा समेत ‘टु–लेट’ लेखेको भेटिन्छ । यता, सटरहरु त धमाधम खाली भइसकेको छ । सटर भाडा तिर्न नसकेपछि कतिपयले नयाँ जुक्ति निकालेका छन् । सटर छोड्ने, सामान घरमा ल्याउने र अनलाइनमार्फत बेच्ने । तर, यो कुरा अर्थमन्त्रीलाई के थाहा ? उनी अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझ्नमै व्यस्त छन् । अहिलेको मन्त्रीमण्डलमा भएका चार मन्त्री भैसेंपाटीस्थित मन्त्री निवासमा सरेनन् । पौडेलको घर भैसेंपाटीमै छ । आफ्नो घर त्यही हुँदाहुँदै पनि उनी मन्त्री निवासमा सरे । कसरी हुन्छ उनलाई राज्यको ढुकुटी सोत्तर बनाउनु छ । ओली र शेयर दलालीको आँखामा पौडेल राम्रो, सक्षम व्यक्ति । तर, जनताको आँखामा उनी भूमाफिया हुन् । वालुवाटारको आठ आना जग्गा उनले छोराको नाममा पास गरेका थिए । तर, जेल जानुपर्ने डरले उनले पछि फिर्ता गरे ।
हुन त वर्तमान प्रधानमन्त्री नै दलाल हुन् । झापाको गिरीबन्धु टी–स्टेटको सरकारी जग्गा व्यक्तिको नाममा लैजान स्वीकृति दिने उनी नै हुन् । परराष्ट्रमन्त्री आरजु राणा नेपालीलाइृ भुटानी बनाउने काण्डमा मुछिएकी छिन् । ओली र पौडेलविरुद्ध एमालेका कुनै सांसदले बोल्न सक्दैनन् । सांसदहरु यी दुईको अगाडि आत्मसमर्पण गर्छन् । आरजुको सामुन्ने गगन थापा र विश्वप्रकाश शर्माको चुइक्क आवाज निस्किदैन् । माओवादी र रास्वपा पनि सामसुम भएको छ । सरकारमा गलत व्यक्तिहरु पुगेका छन् तर कसैले विरोध गर्न सक्ने होइनन् । टुलुटुलु रमिता हेरेर बस्छन् । राप्रपाका नेताहरु झन् बोल्दै बोल्दैनन् । सदनमा बोल्ने चित्रबहादुर केसी र प्रेम सुवाल हुन् । उनीहरुले बोलेको जनताले सुन्छन्, तर सरकारमा भएका दलालहरुले सुन्दैनन् । अहिले बजार धेरै सुनसान भइसकेको छ । उपत्यकामा सर्वसाधारणको चाप पातलिएको छ । यो कसरी भयो ?
सरोकारवालाहरुलाई जानकारी छैन् । पैसा भएकाहरुले लुकाएका छन् । नभएकाहरुसँग त छँदै छैन् । सरकार पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन चासो दिँदैन् । जबकी सांसदहरुले नै यो आवाज उठाइसकेका छन् । जनताले उठाएको त पहिल्यैदेखि हो । विडम्बना, सरकारले सुन्दैन् ।
नेता भनाउँदाहरु सबै स्वार्थभोगी भए । नेपालमा यस्ता नेता पनि थिए, जसले सिंहदरबारमा आगो लाग्दा नैतिकताको आधारमा पदबाट राजीनामा दिए । ती प्रधानमन्त्री हुन्, कीर्तिमान विष्ट । हावाहुरी चल्दा दशरथ रंगशालामा भागदौड मच्चियो । कतिपयले ज्यान गुमाए । खेलकुदमन्त्रीले त्यतिबेलै राजीनामा दिए । देशै सकिसक्यो तर अहिलेका प्रधानमन्त्री, मन्त्रीहरुले राजीनामा दिँदैनन् । प्रधानमन्त्री र अर्थमन्त्रीसँग अंकुत पैसा छँदै छ । उनीहरुले दशैं मानिहाल्छन् । जनताहरु मरुन्–बाँचुन्, खाऊन्–भोकै बसुन् उनीहरुलाई के मतलब ?
अनुसा थापा
भक्तपुर