काठमाडौं, साउन २३
मुलुकको हरेक क्षेत्रमा राजनीति हाबी छ । सरकारी जागिर खान होस्, सरुवा–बढुवा हुन होस् या अन्य केही, राजनीतिक पार्टीको सदस्यता लिनैपर्छ । पार्टीलाई चन्दा बुझाउनैपर्छ । पार्टीको झोले बन्दिन् भन्नेहरुका लागि पनि बाध्यतै छ । किन कि राजनीतिक पार्टीको झोलेहरु माथि जान्छन्, अरु हेरेको हेर्यै । राजनीतिक दलको जसले चाप्लुशी गर्न सक्छ, उसैमाथि यहाँ कृपा बर्सिन्छ । योग्यता भएपनि राजनीतिक दलको सदस्यता लिएको छैन् भने त्यो मान्छे जहाँको त्यही अड्किन्छ । पछिल्लो समय शिक्षकदेखि लिएर निजामती कर्मचारी र सुरक्षाकर्मीसमेतले राजनीतिक पार्टीको सदस्यता लिएका छन् ।
ुउनीहरुले आफूले आस्था राख्ने र आफूलाई फाइदा हुने पार्टीनिकट संगठन खोलेका छन् । जबकी सरकारी कर्मचारीले राजनीतिक पार्टीको सदस्यता लिन पाउँदैनन् । त्यो कानुनविपरीत हो । तर, कसले टेर्ने ? तिनलाई राजनीतिक दलकै संरक्षण छ । जनताले तिरेको करबाट तलबभत्ता खान्छन्, लुगा लाउँछन् अनि कामचाँहि राजनीतिक दलको गर्छन् । सरकारी कर्मचारीले जनतालाई सेवासुविधा दिने भनेर जागिर खान्छन् । त्यसैले त लोकसेवा भनिएको हो । विडम्बना, भन्ने बेला जनताको सेवक तर हुन् आफ्नै सेवक । घुस नखाईकन काम नै गर्दैनन् । प्रधानमन्त्री केपी शर्मा ओली आफू पनि घुस नखाने र घुस खानेलाई नछोड्ने दाबा गर्छन् ।
भ्रष्टाचार गरेको पाइएमा चित्रगुप्त सामुन्ने गएर बयान दिने उनको भनाइ छ । ओलीकी श्रीमती बैंककी कर्मचारी हुन् । ओलीको व्यापार व्यवसाय केही देखिन्न । उनी राजनीतिक हुन् । तर, सम्पत्ति त अंकुत जोडेका छन् । कहाँबाट ल्याए ? यसको स्पष्टीकरण् दिए हुने हो । बालकोटमा महलजस्तो घर छ ।
झापा र तेह्रथुममा पनि घरजग्गा छ । उनले स्वदेशी मात्र नभई विदेशी बैंकमा समेत पैसा राखेको बताइन्छ । उनीसँग गरगहना कति होला ? जनताले ओली र उहाँकी श्रीमतीलाई सोध्छन्,‘तपाईंको तलब कति थियो ? घरखर्च कति थियो ? अनि यो सम्पत्ति कहाँबाट आयो ?’ यो सरासर भ्रष्टाचार होइन् ? राजनीतिक गर्दागर्दै आफ्नो पुर्ख्यौली सम्पत्ति सकाएर सडकमा आएका धेरै राजनीतिज्ञ छन् । ओली त एउटा गरिब परिवारमा जन्मिएको व्यक्ति । उनको त पुर्ख्यौली सम्पत्ति पनि थिएन् । उनले यत्रो सम्पत्ति कहाँबाट ल्याए ? घामजस्तै छर्लङ्ग भइहाल्यो । ओलीले उपचारका लागि राज्यको ढुकुटीबाट अर्बौं रुपैयाँ लिएका छन् । सर्वसाधारण भन्छन्,‘ओलीले पिउने पानी विदेशको हो । त्यसका लागि दैनिक ७० हजार खर्च हुन्छ ।’ यो पैसा कहाँबाट आयो ? प्रधानमन्त्रीचाँहि जनताले तिरेको करमा मँहगो पानी खाने, अनि जनताचाँहि खोलानालाको, ढल मिसिएको फोहोर पानी पिउने । यही हो लोकतन्त्र । अझैं जनताको लागि काम गरिरहेको छु भन्न सुहाउँला ? सिंहदरबारमा बस्ने, हावा गफ ठोक्ने अनि जनतामा भ्रम छर्न । यहाँ लाखौं मिर्गौला पीडित छन् । क्यान्सर पीडित छन् । तर, राज्यबाट सुको पनि पाउँदैनन् । उपचार गर्ने खर्च नहुँदा उनीहरु मर्ने दिन कुरेर बसेका छन् ।
ओलीले भने पटकपटक उपचारका लागि राज्यको ढुकुटीबाट पैसा लिएका छन् । जनतालाई के छ ? जो कर तिर्छ, ऊ सँधै रित्तै । निजामती कर्मचारीलाई सिभिल अस्पताल छ । आर्मीका लागि आर्मी अस्पताल छ, पुलिसलाई प्रहरी अस्पताल । जनताका लागि भनेर कुन अस्पताल छ ?
ओली गृहमन्त्री र परराष्टमन्त्री भए । उनी बारम्बार प्रधानमन्त्री भए । तर, देशका लागि के गरे ? उनी पदमा हुँदा देशले के के उपलब्धि हात पार्यो ? विवरण देखाउन सक्नुपर्थ्यो । अनि मात्र जनताले तिरेको कर खर्च गर्न सुहाउँथ्यो । ओलीको पालामै विदेशी ऋण बढ्यो । सात खर्बबाट २१ खर्ब रुपैयाँ विदेशी ऋण पुर्याउने उनी नै हुन् । यसपटक पनि उनी विदेशी ऋण लिएर सरकार चलाउने दाउमा छन् । प्रधानमन्त्री हुनेबित्तिकै अर्बौं रुपैयाँ ऋण स्वीकृति गरिसके । ओलीले वास्तवमै भ्रष्टाचारको छानबिन गर्ने हो भने आफैंबाट गर्दा हुन्छ । पहिले त आफ्नो सम्पत्तिको स्रोत खुलाइदिनुपर्यो । ‘दूधको दूध, पानीको पानी’ बनाइदिनुपर्यो ।
जसले भ्रष्टाचार गरेको छ, उसले अर्को भ्रष्टाचारीलाई कारबाही गर्छ ? जनताले पत्याउने कुरा गर्नुपर्यो क्या । जहिले जनताको आँखामा छारो हालेर देश कहिले बन्छ ? जसले गलत गर्छ, ऊ कारबाहीको भागिदार बन्नैपर्छ । सरकारी सेवामा एउटा पिउनमा जागिर खानेको काठमाडौंमा महलजस्तो घर छ ।
त्यो सरासर भ्रष्टाचार होइन् ? मासिक १० हजार तलब खानेले कोठाभाडा तिरेर, घरखर्च चलाएर, छोराछोरी पढाएर, जग्गा किनेर घर बनाउन सक्छ ? यो कसैले पत्याउँला ? एउटा सानो पसल थाप्नेले पनि महल ठड्याएका छन् । त्यो पनि भ्रष्टाचार नै हो । राज्यलाई राजश्व नतिर्ने व्यक्तिगत सम्पत्ति जोड्ने ।
सबै भ्रष्टाचार हुँदा त देश नबनेको हो । अब भन्ने मात्र होइन्, भ्रष्टाचार छानबिन गरौं पनि । ज–जसले सम्पत्तिको स्रोत खुलाउन सक्दैनन्, तिनको सम्पत्ति राष्ट्रियकरण गरौं, तिनलाई जेल कोचौं । जो सच्चा नेपाली हो, ऊ खाडीमा पसिना बगाइरहेको छ । यहाँ बस्ने भनेको भ्रष्टाचारी, राजश्व छली गर्नेहरु, घुसखोरी, सरकारी कर्मचारी, व्यापारी मात्र हुन् ।
नेपालमा जनता छैनन् । अहिले यहाँ भएकालाई जनता भन्न मिल्दैन् । राज्यलाई दोहन गर्नेहरु मात्र यहाँ बसेका छन् । देशको अवस्था नाजुक बन्दै गएको छ । अर्थतन्त्र डामाडोल अवस्थामा पुगेको छ । विदेशी ऋण झण्डै २६ खर्ब रुपैयाँ पुगिसकेको छ । अहिले एक जना नेपालीको टाउकोमा ८६ हजार रुपैयाँ विदेशी ऋण पुगेको छ ।
नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ । ऋण तिर्न नसकेर नेपालीहरु आत्महत्या गरिरहेका छन् । सडकमा मागेर खानेको संख्या ह्वात्तै बढेको छ । सहकारी, लघुवित्तले करोडौं बचतकर्ताको बिल्लीबाठ बनाएको छ । बचतकर्ताको रुवावासी छ । बजारमा सटर, कोठा, फ्ल्याट खाली भइसकेको छ । मँहगीले ढाड सेकिएको छ । तर, नेपालमा भएका झोलेहरु चुइक्क बोल्दैनन् । हुन त यहाँ जनता नभएर पनि होला । बंगलादेशमा जनता थिए, प्रधानमन्त्री लखेटे । पूर्वप्रधानमन्त्री शेख हसिनाले बंगलादेशको अर्थतन्त्र निकै बलियो बनाएको बताइन्छ । उनले १५ वर्ष लगातार सरकारको नेतृत्व गरिन् । नेपालका नेताहरुले के गरे ? न अर्थतन्त्र बलियो बनाए न देश र जनताको अवस्था सुधारे । न विकास गरे । बरु देशलाई लगेर विदेशी ऋणको दलदलमा फसाए । अनि अझैपनि यस्ता नेताको पछाडि लाग्ने ? हामी भेडाबाख्रा होइनौं । राजनीतिक पार्टीमा आस्था राख्नुपर्छ तर देश सकाइसक्दासमेत त्यस्ता पार्टीको झोले बन्नु ठीक होइन् ।
हाम्रा नेताहरु कति बाठाः जनता भए भने आफ्नो विरोध हुन्छ भनेर सबैलाई आफ्नो झोले बनाए । नेताहरुको कारण आज नेपाल अन्तर्राष्ट्रिय स्तरमा बद्नाम बनेको छ । देशमा भ्रष्टाचार मौलाएको छ । युवाहरु पलायन हुन बाध्य छन् । विदेशी हस्तक्षेप बढेको छ । तैपनि कोही विरोधमा बोल्दैन् ।
पुष्पकमल दाहालको हातमा ६८ लाखको घडी, शेरबहादुर देउवाको रोपनीमा दरबार, माधव नेपालको अंकुत सम्पत्ति । अन्य नेताको पनि त्यस्तै । एउटा गरिब परिवारमा जन्मिएको व्यक्तिले कसरी यत्रो सम्पत्ति जोडे । राजनीतिले मात्र त सम्भव छैन् । यिनले राजनीतिको नाममा देश खोक्रो बनाए ।
जनता टुलुटुलु रमिता हेरिरहेका छन् । हाम्रो देशको सञ्चारमाध्यम पनि पार्टीगत बने । जनताको ऐना बन्नुपर्ने ठाउँमा सञ्चारकर्मीहरु पार्टीको कार्यकर्ता बने ।
अनुसा थापा
भक्तपुर