काठमाडौं, साउन १६
धनी होस् या गरिब, बिरामी सबै हुन्छन् । तर, अस्पताल र डाक्टरहरुले बिरामीलाई हेर्ने नजर भने भिन्दै छ । सरकारी अस्पतालमै समेत धनी र गरिब बिरामीबीच विभेद गरेको देखिन्छ । धनी बिरामी भएर अस्पताल पुग्यो भने उसको लागि बेडको व्यवस्थापन भइहाल्छ । हुन त राजनीतिक पहुँच र पैसा भएर पनि होला । डाक्टरहरुले पनि ती बिरामी हेर्न टाइम मिलाउँछन् । यद्यपि, गरिबलाई त बेड पाउन पनि मुस्किल छ । बेड नपाउँदा भुइँमै बसेर बिरामीको उपचार गरेको खबरहरु पनि बेलाबखत सार्वजनिक भइरहेको हुन्छ । गरिब बिरामीलाई डाक्टरले गर्ने व्यवहार निकै रुखो हुन्छ । उनीहरुलाई स्वास्थ्यकर्मीले मान्छे नै गन्दैनन् । सरकारले निजामती कर्मचारीका लागि सिभिल अस्पताल बनाएको छ । त्यहाँ निजामती कर्मचारीले धेरै छुटमा उपचार पाउँछन् । सुरक्षाकर्मीहरुको पनि आ–आफ्नो अस्पताल सञ्चालनमा छ । जनताको लागि के छ ? मुलुकभर जतिपनि सरकारी अस्पताल छन्, ती सबै लथालिङ्ग अवस्थामा छ ।
न पर्याप्त बेड छ, न त उपकरण । चिकित्सक पनि न्यून संख्यामा छन् । सरसफाइको अभाव त्यस्तै । सरकारी अस्पतालमा दुई वर्षसम्म पनि अपरेशनका लागि पालो पाइँदैन् । केही समयअघि पत्थरीको शल्यक्रियाका लागि दुई वर्षपछाडिको डेट दिएको विषयले निकै नै चर्चा पाएको थियो ।
दुई वर्षसम्म मान्छे नै मरिसक्छ अनि किन अपरेशन गर्नुपर्यो ? देशमा सबै धनी छैनन् । तर, यो कुरा सरोकारवालाले बुझ्दैनन् । शल्यक्रियाका लागि लामो समयसम्म पालो नआउने भएपछि ऋणधन गरेर पनि निजीमा जानैपर्यो । यो सबै सरकारी डुबाएर निजी उक्साउने प्रपञ्च हो । पैसा नहुँदा बिरामीहरु बसमार्फत नै यात्रा गर्छन् । कतिपय त हिँडेर अस्पताल जान्छन्, आउँछन् । जनताको यस्तो अवस्था छ, विडम्बना सरकारलाई मतलब छैन् । स्वास्थ्य उपचार शुल्क निकै मँहगो भयो । पछिल्लो समय त नाम मात्रको सरकारीझैं भएको छ । बिरामीको ज्यान बचाउने भन्दापनि व्यापार गर्ने थलो बनेको छ, अस्पताल । उपचार गर्नुअगावै पैसा तिर्न लगाउँछन् । औषधी पसलेले पनि औषधी दिनुअगावै पैसा माग्छन् । उपचार खर्च तिर्न नसक्दा कतिपयले अस्पतालकै छतबाट हाम्फालेको पनि हामीले सुनेका छौं । केही वर्षअगाडिको कुरा हो, एक जना किशोरले शिक्षण अस्पतालको छतबाट हाम्फालेर मरे । उनको मिर्गौला फेल भएको थियो । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनले उपचार गर्नुभन्दा पनि जीवन नै समाप्त पार्ने बाटो रोजे । अस्पतालले उपचारका नाममा मान्छेलाई सडकमा ल्याइदिन्छ । मान्छेको घरखेत सकिन्छ तर बिरामीको उपचार सकिँदेन् । यता, सबै सम्पत्ति उपचार खर्चमा लगाइसकेपछि पनि बिरामी बाँच्छ कि बाँच्दैन् ? टुंगो हुँदैन् । कतिपय लाश निकाल्न नसकेर अस्पतालबाटै भागेको घटनाहरु पनि छन् । केही वर्षअगाडि बुटवलमा एकदमै दुःखदायी घटना भयो । आमाले छोराको उपचारमा सबै सम्पत्ति सकाइन् । तर, छोरा बाँचेनन् । पछि उनीसँग लाश निकाल्ने पैसा पनि भएन् र उनी भागिनन् । हरेक अस्पतालले गरिब, विपन्नका लागि कुल बेडको १० प्रतिशत छुट्याउनुपर्ने नियम नै छ । तर, यो नियम लागु हुन सकेको छैन् । गरिबका लागि छुट्याएको बेडमा त पूँजीपति वर्गहरुले मोज गरिरहेका छन् । गरिब हेरेको हेर्यै । यता, सरकारले निःशुल्क दिएको औषधी चिकित्सकहरुले बेचेर पैसा आफ्नो गोजीमा हाल्छन् । गरिबले त एउटा सिटामोलसमेत पाउँदैन् ।
गरिबहरु बिरामी हुनेबित्तिकै जीवन अन्धकार देख्छन् । उपचार गर्ने पैसा नभएकाले उनीहरुले आत्महत्याको बाटो रोज्छन् । तर, जनताको करमा बाँचेकाहरु अलिकति पेट दुख्यो भने पनि उपचार गर्न विदेश पुग्छन् । पछिल्लो उदाहरण त देशकै राष्ट्रपति पनि हुन् । राष्ट्रपति हुनेबित्तिकै रामचन्द्र पौडेल लाखौं रुपैयाँ खर्च गरेर भारत गएर उपचार गराए ।
अन्य नेताहरु पनि बाहिर गएर उपचार लाउँँछन् । कर तिर्ने जनतालाई भने केही न केही । पछिल्लो समय घरघरमा माग्न आउने मिगौला पीडितको संख्या बढेको छ । मिगौलाको डाइलासिस गराउनलाई केही आर्थिक सहयोग गरिदिनु भन्दै माग्छन् । कर तिर्ने र भोट दिने जनताको अवस्था हो यो ।
कि माग कि जिन्दगी फाल, यो भन्दा अन्य विकल्प गरिब जनतासँग छैन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले करोडौं रुपैयाँ खर्च गरेर मिर्गौला फेरे । त्योपनि जनताले तिरेको करमा । पैसा र पावर भएपछि दुईटा मिर्गौला फेरेपनि मान्छे बाँच्ने रहेछन् । पैसा र पावर नहुनेहरु त ज्वरो आएपनि मर्नुपर्छ ।
जनताको अवस्था नाजुक छ । जनताको सेवा गर्न राखिएका कर्मचारीहरु कार्यालयमा जाँड खाएर बस्छन् । नेताहरुलाई भ्रष्टाचार गरेर भ्याइनभ्याइ छ । अनि जनताको हितमा कसले काम गर्छ ? यहाँ त जनता जाऊन् भाडमा, सरकारी कर्मचारी र नेतालाई के मतलब ? सरकारी कर्मचारीलाई के ‘टेन्सन’ ?
मिर्गौला फेल भएपनि उपचार गर्न राज्यको ढुकुटी छँदै छ । नेताको हकमा पनि त्यही हो । मर्ने त यहाँ सीधासाधी जनता मात्र हुन् । केपीले देश र जनताका लागि केही गर्लान् भनेर देश–विदेशमा उपचार गराइयो, जनताले तिरेको करमा । तर, उनले नै सरकारी जग्गा नै व्यक्तिको नाममा पास गरिदिए ।
नेपाललाई सतिले सरापेको देश भन्थे, हो नै रहेछ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका बेच्ने मन्त्री बन्छन् । चिप्लो घस्नेहरु जनताको मतबिनै मन्त्रीको कुर्सीमा पुग्छन् । जनताचाँहि खान र उपचार नपाएर मर्छन् । नेपालको संविधानले हरेक नागरिकको बाँच्न पाउने अधिकारको संरक्षण गरेको छ ।
जोसुकै होस्, उसले गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य पाउनैपर्छ । दुर्भाग्यबस्, व्यवहारमा संविधान लागु हुने सकेन् । यहाँ त जसको शक्ति, उसैको भक्ति छ । जसले सक्छ, उसले खान्छ, अरु ट्वाल्ल रमिता हेरेर बस्ने हुन् । गरिबको नाम बेचेर कसैले अंकुत सम्पत्ति जोडे । गरिबहरु आज पनि जहाँको त्यही छन् । गरिबहरु उपचार नपाएर मर्ने दिन कुरेर बसेका छन्, नेताहरु हाँछ्यु आउनेबित्तिकै अस्पताल पुग्छन् । योभन्दा धेरै हकअधिकार किन चाहियो ? धनी होस् कि गरिब, हुन त नेपाली नै हुन् । धनी र गरिब दुवै मान्छे हुन् । उसले राज्यलाई तिर्ने कर र दिने भोट त एउटै हो । तर, उनीहरुबीच विभेद किन ? सरकारी डाक्टरहरुले जनताले तिरेको करबाट तलब खाएका छन् । जनता भनेपछि सबै परे, धनी मात्र होइनन् । यद्यपि, उनीहरु बिरामीबिच नै विभेद गर्छन् । धनी र पहुँचवाला बिरामी भयो भने हजुर–तपाईं भन्छन् । चिप्लो घस्छन् । तर, त्यही ठाउँमा गरिब बिरामी हुनुपर्छ, फर्केर पनि हेर्दैनन् ।
हुन त धनी र पहुँचवालालाई राम्रो व्यवहार गर्दा धेरै उपकार पाइन्छ । यसको उदाहरण हुन्, डा अन्जान शाक्य । केपीले उनीमाथि कृपा बर्साइदिए । उनले केपीको मिर्गौला फेरेकी थिइन् । त्यसबापत उनले तलब लिएकी थिइन् । तर, केपीले उनलाई राष्ट्रिय सभाको सांसदमा मनोनित गरिदिए ।
अनि त चिप्लो घस्नु स्वाभाविकै पनि हो । जनताले त त्यो पद दिलाउन सक्दैनन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी धेरैले सम्हालिसकेका छन् । तर, कुनैले स्वास्थ्य क्षेत्रमा सुधार गर्न सकेनन् । जो आउँछ, भ्रष्टाचार गर्छ अनि जान्छ । गगन थापा आए, भ्रष्टाचार गरे, हिँडे । अहिले काँग्रेसकै प्रदीप पौडेल छन्, उनी पनि सुधार गर्ने खालका देखिनन् ।
नेता र सरकारी कर्मचारी त जनताको लाश बेचेर पनि भ्रष्टाचार गर्छन् । यस्तो देशमा जनताले के सुःख पाउँछन् ? नेता र सरकारी कर्मचारीका लागि जनता भर्याङ्ग हुन् । जनता जहाँ पनि माध्यम । जसले पनि लुट्ने, ठग्ने भएकैले जनता भनिएको रहेछ । कर्मचारी र नेताको दम्भ बढ्दै गयो, जसका कारण आत्महत्याको बाटो रोज्ने बढे ।
अनुसा थापा
भक्तपुर