काठमाडौं, असार २७
बुढापाकाले अहिलेपनि अर्थीबुद्धि दिन्छन्,‘ऋण नलागे जमानी बस्नु, घरमा शान्ति भए दुईटा श्रीमती बिहे गर्नु ।’ यसको अर्थ जमानी बसे तनाव बढ्नु र दुईटा श्रीमती भए घरको शान्ति भंग गर्नु हो । उनीहरु अहिलेपनि भन्छन्, राति सुत्दा बुढी औंला मुठ्ठीभित्र लुकाएर सुत्नुपर्छ । राति सुत्या बेला तमसुकमा थिचाउन सक्ने भएकाले त्यो भनिएको छ । पहिलेका मान्छेहरु अक्षर नचिनेको भएपनि धेरै टाठाबाठा थिए । के गर्नुहुन्छ ? गर्नुहुँदैन् ? के गरेमा कानुनको बर्खिलाप हुन्छ ? उनीहरु जानकार थिए । सेतो कागजमा कालो मसिले लेखेर ल्याप्चे लाइदिनु भनेमा उनीहरु मान्दैन्थे ।
आफू फस्ने भएकाले उनीहरु सतर्क रहन्थे । पछिल्लो समय साक्षारताको दर बढेको छ । धेरैले पढेलेखेका छन् । विडम्बना, पढेलेखेकामा नपढेकोजति पनि बुद्धि छैन् । बैंक तथा वित्तिय संस्था वा व्यक्तिले ऋण दिनुअगाडि दुई जना साक्षी राख्छ । साक्षी नराखिकन ऋण दिँदैन् ।
पढलेख गरेकाहरु सोचविचार नै नगरिकन गएर साक्षी बसिदिन्छन् । जसले लेनदेनको कागजमा साक्षी बस्छ, ऊ भोलि प्रहरी चौकीदेखि अदालतसम्म बयान दिन पुग्नुपर्छ । ऋणीले ऋण तिरेन् भने साक्षीको सम्पत्ति रोक्का हुन्छ । उसको तीनपुस्ते पत्रिकामा निक्लिन्छ । ऊपनि कालोसूचीमा पर्छ । जबकी पैसा त उसले लिएको हुँदैन् । धेरै साक्षीलाई अहिले बैंक तथा वित्तिय संस्थाको तनाव खेपिनसक्नु भएके छ । साक्षीले पैसा लिएको हुँदैन् न चलाएको नै हुन्छ । तर, सम्पत्ति चाँहि तिनको रोक्का हुन्छ । कालोसूचीमा पनि नाम निस्किन्छ । आफ्नो साथी वा आफन्तको अनुहार हेर्दा निर्दोषहरु फसिरहेका छन् । बेकाममा आफ्नो परिवारलाई फसाइरहेका छन् । पछिल्लो समय धेरैले बैंक तथा वित्तिय संस्थाको ऋण तिर्न सकेका छैनन् । यस्तोमा फस्ने साक्षी बनेका छन् । उसले बैंक तथा वित्तिय संस्थाबाट ऋण ल्याएर के गर्यो ? साक्षीलाई के थाहा ? उसले त लिएको हुँदैन् । आफ्नो परिवारलाई बेकारमा दुःख दिइरहेका छन् ।
एक लाखको धितो राखेर २० लाख ऋण लिनका लागि पनि साक्षी राख्नुपर्छ । त्यसमा घुस पनि खुवाउनुपर्छ । अधिवक्ताले पनि साक्षी नराखिकन तमसुकमा हस्ताक्षर गर्दैनन् । मुलुकमा आर्थिक मन्दी छ । व्यापार व्यवसाय सुकेको छ । यस्तोमा धेरै ऋणीले ऋण तिर्न सकेनन् ।
चाहे त्यो बैंकको होस् या व्यक्तिको । ऋणीले ऋण नतिर्दा दुःख साक्षीले पाइरहेका छन् । एकातिर पारिवारिक तनाव, अर्कोतिर आफ्नो सम्पत्ति गुमाउनुपर्ने डर । दुनियाँले देख्नेगरी पत्रिकामा तीनपुस्ते निस्किरहेको छ । प्रहरी र अदालत धाउँदाको पीडा । बयानका लागि अदालत जाऊ, तारिख बोक कम्ता सास्ती त छैन् । किताबको ज्ञान लिएकासँग व्यवहारिक ज्ञान नहुँदा आफ्नो खुट्टामा बञ्चरो हानिरहेका छन् । एउटा ल्याप्चे त हो, हस्ताक्षर त होभन्दा कति दुःख पाउनुपर्यो । अहिलेको पढाइको स्तर पनि यहाँबाट छर्लङ्ग भयो । घोकन्ते पढाइमा व्यवहारिक ज्ञान केही छैन् । के गर्दा कानुन आकर्षित हुन्छ ? भन्नलाई डिग्री लिएका छन्, सामान्य ज्ञान छैन् ।
ऋण लिने एउटा, दुःख पाउने अर्को । अहिले धेरैले ‘नखाएको विष लागेको’ भन्दै दुःखेसो पोखिरहेका छन् । बैंक तथा वित्तिय संस्थाले साक्षीहरुको नाममा धमाधम चिठी काटिरहेको छ । यसले गर्दा साक्षीको पूरा परिवार तनावमा आएको छ । बैंक तथा वित्तिय संस्था तथा व्यक्तिले मीटरब्याजमा पैसा लगानी गर्छन् ।
धितो राख्छन्, घुस खान्छन् । अझैपनि तिनकै दादागिरी छ । साक्षी बसेकै भरमा कसैको सम्पत्ति रोक्का गर्न मिल्छ ? कालोसूचीमा राख्न मिल्छ ? कालोसूचीमा राख्नेबित्तिकै न तिनका छोराछोरी विदेश जान मिल्छ न बैंक, फाइनेन्समा खाता खोल्न मिल्छ । अभिभावकले पैसा ल्याएर चलाएका पनि हुँदैनन् । अर्काको साक्षी बसिदिँदा यति कठोर बनिदिन त भएन् । बैंक तथा वित्तिय संस्थाले साक्षी बस्नेको घरबार उजाडिदिएका छन् । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी भने टुलुटुलु रमिता हेरेर बसेका छन् । बैंकले साक्षीहरुको घरमा रुवाबासी बनाएको छ । अदालत जाऊँ खर्च हुन्छ, बयान देऊ । अर्कालाई सहयोग गर्दा आफ्नो सम्पत्ति गुमाइरहेका छन् । साक्षी बस्नेको घरमा बैंकले चिठी टासिरहेको छ । चिठी टास्ने, समाजमा बद्नाम गराउने काम बैंकले गरिरहेको छ । साक्षी बसेकै भरमा मानसिक तनाव दिन पाइन्छ ? बालबच्चालाई मानसिक यातना दिन मिल्छ ? यसको जवाफ राष्ट्र बैंकको गर्भनर अधिकारीले दिनुपर्छ ।
कि त पहिल्यै ‘ब्रिफिङ’ गर्नुपर्थ्यो । साक्षी बस्दा भोलिको दिनमा यस्तो–यस्तो समस्या आउन सक्छ ? भनेर बुझाउनुपर्दैन् ? ऋणीले ऋण तिर्न सकेन् भने तपाईंको सम्पत्ति रोक्का हुन्छ । पत्रिका निस्किन्छ, कालोसूचीमा पर्न सक्नुहुन्छ भनेर शुरुमै जानकारी गराउनुपर्छ कि पर्दैन् ?
यति हस्ताक्षर गरिदिनु भन्ने अनि ऋणीले ऋण तिर्न नसकेपछि साक्षीलाई रातदिन तनाव दिने ? यस्तो पनि गर्न मिल्छ ? कतिपय मान्छेले पढेका छैनन् । पढेकालाई पनि कानुनको विषयमा जानकारी नहुन सक्छ । उनीहरु आफ्नो आफन्त रिसाउँछन् भनेर पो साक्षी बस्न आएका हुन्छन् ।
साक्षी बस्दा के हुन्छ ? त्यो त बैंक तथा वित्तिय संस्थाले उनीहरुलाई राम्ररी बुझाइदिनुपर्ने हो । अरुलाई फसाएर आफू कमाउन बसेको संस्थाले के भन्थ्यो ? बैंक तथा वित्तिय संस्थाको दाउ नै कमाउने मात्र हो । ठगेर हुन्छ कि सोझासाझीलाई फसाएर कमाउनै छ । फेरि उनीहरुको चंगुलमा परिसकेपछि उम्किन धेरै गाह्रो छ ।
राष्ट्र बैंक अहिले बैंकमा ऋण लिन जाने कोही भएन् भन्छ । जमानी बस्दा त आफ्नो सारा सम्पत्ति स्वाहा हुने भएपछि को जमानी बस्छ ? जमानी नबसिकन त बैंकले ऋण दिँदैन् । फेरि एक करोडको धितो राख्यो २० लाखका लागि । त्योपनि घुस र सेवाशुल्क गर्दा १५ लाख हातमा पर्छ । तीन किस्ता तिर्न सकेन् भने पचाइदिई हाल्छ । पहिले १२ प्रतिशत ब्याज भन्छ । जोड्दै जाँदा ७५ प्रतिशत पुग्छ । अनि को आफ्नो सम्पत्ति गुमाउन बैंकमा जान्छ । बैंक तथा वित्तिय संस्था जनताको आँखामा नाङगिसकेको छ । बैंकले सुकुम्बासी बनाउँछ अनि के गर्ने ? बैंकबाट ऋण लिनु भनेको भुइँको टिप्न जाँदा आफ्नो खल्तीको गुमाउनु हो । अभिभावकले आफ्नो सन्तानलाई दुनियाँथरी सिकाए । तर, कानुन सिकाएनन् । टिचरले पनि स्कुलमा सिकाएनन् । जसका कारण व्यवहारिक ज्ञान उनीहरुसँग भएन् । कानुनको कठघरामा पुगिसकेपछि कानुनबारे थाहा पाएर के गर्ने ? सरकारले अब पाठ्यक्रममा पनि यस्ता विषय राख्नुपर्छ । सरकारले जनतालाई सचेत गराउनुपर्यो ।
अनुसा थापा
भक्तपुर