काठमाडौं, असार १७
नेपाल वायुसेवा निगमको ६६ औं वार्षिकोत्सव आज मिति २०८०/०३/१७ गते तद्नुसार ०१ जुलाई, २०२४ का दिन भव्यताका साथ मनाइएको छ । उक्त अवसरमा वैदिक विधि अनुसार आकाश भैरवको पुजा आराधना पश्चात् निगमको कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीले आमन्त्रित सवैलाइ स्वागत गर्दै सहभागिताको लागि धन्यवाद ज्ञापन गर्नुभयो । उक्त कार्यक्रममा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री हित बहादुर तामाङज्यूले नेपाल वायुसेवा निगमको उत्तरोत्तर प्रगती तथा उन्नतीको कामना सहित हार्दिक शुभकामना दिँदै प्रभातफेरी कार्यक्रमको शुरुवात गर्नुभयो । उक्त प्रभातफेरी निगमको प्रधान कार्यालय कान्तिपथबाट सुरु भई न्यूरोड, भोटाहिटि, भद्रकाली, शहिदगेट हुँदै निगमको प्राङ्गणमा आई टुँगिएको थियो ।
निगमको ६६ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत केन्द्रिय कार्यालयमा असार ७ गते सम्पूर्ण कर्मचारीहरुको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । असार १२ गते टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ निगमका का.मु उप–निर्देशक, प्रितम प्रसाद प्रधान प्रथम हुनु भएको थियो भने निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारी द्धितीय हुनुभएको थियो । महिला तर्फ निगमका उप–निर्देशक, सविना शाक्य प्रथम हुनुभएको थियो । यसै अवसरमा असार १३ गते निगमको केन्द्रिय कार्यालयमा र एयरपोर्टमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा निगमका २१८ जना कर्मचारीले रक्तदान गरेका थिए । त्यस्तै असार १४ गते शुक्रबार एयरपोर्ट टिम र प्रधान कार्यालय टिम बिच महिला–महिला, पुरुष–पुरुष मैत्रीपूर्ण फुटबल खेल आयोजना भएको थियो ।
आज वार्षिकोत्वसवको अवसरमा विजेताहरुलाई माननीय मन्त्रीज्यूले मेडल, ट्रफि तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने सहभागी अन्य खेलाडिहरुलाई निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारी र नायव महाप्रवन्धक (प्रा.) डोलेश्वर कोइरालाले मेडल, ट्रफि तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
उक्त अवसरमा माननीय मन्त्रीज्यूले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै नेपाल वायुसेवा निगमको ६६ वर्षको गर्विलो इतिहास कायम राख्दै इमान्दारीपूर्वक काम गर्न कर्मचारीहरुलाई निर्देशन दिंदै सवैले एकसाथ इमान्दारीताका साथ काम गरे मात्र निगमले प्रगति गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी निगमको कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीले आमन्त्रित सवैलाइ सहभागिताको लागि धन्यवाद ज्ञापन गर्नुभयो । उक्त अवसरमा बोल्दै कार्यकारी अध्यक्षले सम्पूर्ण कर्मचारीहरुलाई अनुशासित भई एकजुट भएर बाधा अड्चनलाई छिचोल्दै, राष्ट्रिय दायित्वको भूमिका निर्वाह गर्दै, राष्ट्रिय ध्वजावाहकको मान र स्वाभिमान कायम राख्दै निगमको हितमा कार्य गर्नुपर्नेमा जोड दिँदै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो ।
यस पटक निगमले बिना तामझाम आर्थिक मितव्ययिता अपनाई वार्षिक उत्सव कार्यक्रम मनाएको छ ।