neapl investment mega bank
  • गृहपृष्ठ
  • जनतालाई दुःख दिएर सलाम खान नैतिकताले दिन्छ, प्रधानमन्त्री ज्यू ?

जनतालाई दुःख दिएर सलाम खान नैतिकताले दिन्छ, प्रधानमन्त्री ज्यू ?

Jun 25th, 2024

काठमाडौं, असार ११

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख वालुवाटारबाट पुतलीसडक हुँदै सिंहदरबार आउँछन् । मन्त्री निवास पुल्चोक भएपनि अधिकांश वालुवाटारमा भेटघाट गरेर पुतलीसडकको बाटो हुँदै सिंहदरबार जान्छन् । प्रधानमन्त्री वालुवाटारबाट आउँदा र सिंहदरबारबाट फर्किदाँ पुतलीसडक एरिया ठप्प हुन्छ ।
पारिको मान्छे पारि र वारिको मान्छे वारि नै उभ्याएर राखिदिन्छन्, ट्राफिक प्रहरी । समय एक सेकेण्ड पनि महत्वपूर्ण हुन्छ । कोही अस्पताल हिँडेका हुन्छन्, कोही जागिरमा । त्यसरी सडकमा उभ्याएर राखिदिँदा सर्वसाधारणलाई कति मर्का पर्छ ? देशका उच्च पदस्थहरुले सोचेका छन् ? कहिले प्रधानमन्त्री आइपुग्न १० मीनेट लाग्छ । एउटा प्रधानमन्त्रीको सवारीको लागि सयौं सर्वसाधारणको १० मीनेट खेर फाल्नु ठीक हो ? जति प्रधानमन्त्रीलाई आफ्नो समयको महत्व छ, जनताका लागि पनि त्यतिनै महत्वपूर्ण छ । एक मीनेटले जागिर जान सक्छ । जिम्मा कसले लिइदिन्छ ?
ट्राफिक प्रहरी, सरकारी कर्मचारीले जनताले तिरेको करबाट तलब खाएका हुन् । तर, उनीहरु जनताप्रति अलिकति पनि जिम्मेवार देखिँदैनन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतको आगमन हुँदा उफ्रीउफ्री सलाम ठोक्छन् । हुन त उनीहरुले जानेको पनि त्यति नै होला ।

ट्राफिकले सडकमा रोकेर राख्ने कि सहजीकरण गर्ने ? कोही स्कुल हिँडिरहेका हुन्छन् । उनीहरुलाई ढिलो भयो कि भएन् ? वृद्धावृद्धलाई १० मीनेट सडकमा उभ्याएर राख्न ट्राफिकलाई नैतिकताले दिन्छ ? जोपनि नेताकै चाप्लुसी गर्नमै व्यस्त छन् । कोही बच्चा बोकेर उभिरहेका हुन्छन् । ट्राफिकले त्यो हेर्नुपर्छ कि पर्दैन् ? नेताहरु मुलुकमा जनताको शासन आयो भन्छन् । तर, कहाँ आयो ? नाम मात्र ‘लोकतन्त्र’ राखेर हुन्छ ? त्यहाँ उभिन नसकेर सर्वसाधारणले बाटो काट्न खोजे भने ट्राफिकले हप्कीदप्की गर्छन् । उनीहरु ‘त’ मै उत्रिन्छन् । ‘पछाडि जा, पछाडि सर’ लगायतका शब्द उनीहरुले प्रयोग गर्छन् । कर तिर्ने जनतालाई गर्ने व्यवहार यही हो ? जो कर तिर्छ उसलाई यहाँ अपहेलना छ, जो कर खान्छ उसको चाँहि सम्मान । नेता होस् या सरकारी कर्मचारी उनीहरु जनताको सेवक होइन्, शासक बने । जनताभन्दा ठूलो कोही छैनन् भन्ने उनीहरुले बुझेका छैनन् । नेता होस् या सरकारी कर्मचारी, तिनले जनताको नुन खाएका छन् । तर, त्यही जनतामाथि शासन गर्न खोज्छन् । जनतालाई दुःख दिनुहुँदैन् भन्ने कुरा उनीहरुको दिमागमा कहिलेपनि आएन् । जनताले तिरेको करबाट तलबभत्ता खाने, सेवासुविधा लिने र जनतामाथि नै हैकम चलाउन खोज्ने । वर्तमानदेखि भूपू प्रधानमन्त्रीसम्मले बाटोमा हिँड्दा पुरै सुरक्षाकर्मीको लस्कर लगाउँछन् ।
प्रहरीको गाडीको साइरन त टाढाटाढा सम्म सुनिन्छ । देशको कायापलट गर्न लागेकोभन्दा बढी हतारो यिनीहरुलाई छ । यिनीहरु जाममा बस्नुहुँदैन् । जाममा बस्यो भने त यिनीहरुको नाक काटिन्छ । यिनी गाडीमा हिँड्छन् । तर, बाहिर के भइरहेको छ भन्ने यिनीहरुलाई थाहा हुँदैन् ।

यिनीहरु गाडी लिएर हिँड्नेबित्तिकै सर्वसाधारणले भन्छन्,‘ऊ देश बेच्ने दलालीहरु आए ।’ बाटोमा हिँड्दा एकदमै बिजीजस्तो गर्छन् तर के छ प्रगति ? जनतालाई देखाउनुपर्यो । वालुवाटार र सिंहदरबार जाने अनि चिया खाने, गफ ठोक्ने । योबाहेक तिनले केही जानेकै छैनन् । जसरी हतारोमा हिँड्छन्, त्यसैगरी विकास गरिदिए त जनतालाई कति सहज हुन्थ्यो होला । देश बिगारेको नेता र सरकारी कर्मचारीले हो भन्ने त घामजस्तै छर्लङ्ग छ । कर्मचारी मिठा कुरा सुनाउने, उफ्रीउफ्री सलाम ठोक्ने, नेता मख्ख परिहाल्ने । योभन्दा अरु के चाहियो ? चाप्लुसी गरेपछि प्रोमोशन पनि हुने ।

अनि जनताको सेवा कसले गर्छ ? यहाँ काम गर्नेभन्दा चाप्लुसी गर्नेमाथि पुगेका छन् । संसदका कर्मचारी केही दिनअघि तलबभत्ता बढाउन माग गर्दै निरन्तर आन्दोलनमा थिए । सरकारले तलब बढाउने सहमति गरेसँगै उनीहरुले आन्दोलन स्थगित गरेका छन् । तर, पुरानै तलब त कहाँबाट दिनुजस्तो अवस्था बनिसकेको छ । राजश्व उठाउनतर्फ कर्मचारीलाई चासो छैन् । तलबभत्ता चाँहि बढीबढी चाहिएको छ । साँच्चै भन्ने हो भने सरकारी कर्मचारी देशका लागि ‘साप’ नै भए । हुन त तिनलाई मात पनि लागेको हो । सरकारी कर्मचारी सबै पार्टीका झोले छन् । उनीहरुले केही भन्नेबित्तिकै सरकारमा बस्नेहरुले पुरा गरिदिईहाल्छन् ।

तर, जनताको कुराचाँहि कसले सुन्छ ? सरकारी कर्मचारीको माग सम्बोधन गर्दैमा सरकारलाई फुर्सद छैन्, जनता पीडा कसले देख्छ ? सरकारी कर्मचारीलाई वार्षिक तलबभत्ता बढ्छ । तर, जनताको घट्छ । जनतालाई बिहानबेलुका पेट पाल्न गाह्रो छ, सरकारी कर्मचारीमाथि सरकार सेवासुविधा थुपारेको थुपारै छ । अझै त्यतिले पनि नपुगेर उनीहरु भ्रष्टाचार गर्छन् । त्यस्ता भ्रष्टाचारीलाई जोगाउन पुरा सरकार नै लाग्छ । अनि यस्तो देश कहिले उमो लाग्छ ? सरकारी कर्मचारीलाई सेवासुविधा उप्रोमाथि थुप्रो लगाउनुको साटो जनताको पीडा पनि देख । पुतलीसडकमा दैनिक हजारौं नागरिक बाटो वारपार गर्छन् । त्यहाँ पुल बनाइदिए हुन्थ्यो ।

पुल बने सडकमा प्रधानमन्त्रीलगायतका सवारी हुँदा ‘टाइम वेस्ट’ त गरेर बस्नुपर्दैन्थ्यो । अहिले पनि कति जिल्लामा पुल पुगेको छैन् । दैलेखमा खच्चड पुलमा अड्केको घटनाले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमै चर्चा पायो । त्यसले नै नेताहरुको बिजीपनको नतिजा देखाइहाल्यो । उनीहरु केमा बिजी रहेछन् भन्ने त त्यहीबाट छर्लङ्ग भइहाल्यो । देशको अवस्था हेर्यो भने जतापनि भताभुङ्ग छ । अझैपनि हामीले जनताका लागि यो गर्यौं, त्यो गर्यौं भन्न लाज लाग्दैन् ? केपी शर्मा ओली देशको पूर्वप्रधानमन्त्री हुन् । तर, उनले देशको लागि के गरे ? आफ्नो गृहजिल्लामा लगेर जनताले तिरेको कर भ्युटावरमा खन्याए ।
तर, आजपनि कतिपय जिल्लामा सिटामोल पाइँदैन् । स्वास्थ्य चौकी छैन् । अनि उनले भ्युटावर बनाए भनेर जनताले ताली पडकाउने ? यस्तालाई नेता भन्न जनतालाई लाज लागिसकेको छ । माधव नेपाल, शेरबहादुर देउवा, झलनाथ खनाल, पुष्पकमल दाहाल सबै उस्तै हुन् ।

यिनीहरुलाई देख्नेबित्तिकै जनताको ‘रगत तातेर’ आउँछ । जनता खाईनखाई कर तिर्ने, यिनीहरु चाँहि मोजमस्ती गर्ने ? यिनीहरुको कारणले आज नेपाल कहाँ पुग्यो ? नेपालीहरु भेडाबाख्रा झैं बेचिरहेका छन् । जनताले के खोजेका थिए ? सुःख, शान्त र समृद्ध नेपाल होइन् । तर, तिनले त्यो दिन सकेनन् । जनतालाई भेडाबाख्राझैं बेच्ने अनि आफू मोज गर्ने । यिनीहरुको सोच त्यतिमै सोच छ । आफ्नो विरोधमा बोलिदिने कोही भएन् भने त फाइदा भयो नि होइन् । जनता बिहान घरबाट निस्किएपछि बेलुका घर पुग्छन् कि पुग्दैनन् ? अत्तोपत्तो हुँदैन् । न जेब्राक्रस छ न त आकाशे पुल । एक जना हिँड्न मुश्किल पर्ने फुटपाथ छ । देशमा तीन तहको सरकार छ, तीनै तहको सरकारले जनता लुटिरहेका छन् तर उपलब्धि केही छैन् । आधारभूत भौतिक पूर्वाधारको निर्माण हुन नसक्दा जनताले ज्यान गुमाइरहेका छन् । सरकार जनताप्रति यति गैरजिम्मेवार छ कि के भन्ने ?

जनता भोट र करका लागि मात्रै जन्मिएकोजस्तो भएको छ । बाहिरी मुलुकमा केही घटना घट्यो भने सरोकारवालाले नैतिकताको आधारमा पनि पद छोडिदिन्छन् । हामीकहाँ त मान्छे मरेपछि टाउको गन्ने प्रवृत्ति छ । दुर्घटनामा परेर मान्छे मर्छ, सरकार मान्छे मरेछ भन्छ, सकियो । हुन त भ्रष्टाचारको आरोप लागिसक्दासमेत त यिनीहरुले पद छोड्दैनन् । एक्काइशौं शताब्दीमा विश्व चलिरहेको छ, नेपालमा बाटो काट्ने जेब्राक्रससमेत छैन् । योभन्दा बढी विकास के होला ?
अनुसा थापा
भक्तपुर