ललितपुर, जेठ २९
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा बागमती प्रदेशको ललितपुरमा श्रमाधान रोजगार मेला मंगलबारदेखि सुरु भएको छ ।
ललितपुरको पाटनमा सञ्चालन भएको मेलाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाले रोजगारीको अवसर मात्रै हैन करिअर काउन्सिलको काम पनि गर्ने बताइन् ।
कुनै रोजगारीका लागि कस्तो खालको शिक्षा तथा सिपको आवश्यकता पर्दछ भन्ने विषयमा पनि छलफल गरिने उनले बताइन् ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले दैनिक १ हजार ५ सयको हाराहारीमा वैदेशिक रोजगारीमा युवा गइरहेको अवस्थामा मेलाले थोरै भएपनि नेपालभित्रै रोक्दा त्यसलाई ठूलो उपलब्धिको रुपमा लिन सकिने बताए ।
बुधबारसम्म सञ्चालन हुने मेलामा ८० वटा नीजि तथा सरकारी क्षेत्रका स्टल रहेका छन् ।