काठमाडौं, जेठ २८
आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत वेस्ट इन्डिजमा आयोजना हुने खेलमा नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा यहाँ जारी विज्ञप्तिमा वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्धको खेलमा सन्दीपले सहभागिता जनाउने उल्लेख गरिएको छ । सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुँदै उक्त प्रतियोगिता खेल्न लागेका हुन् ।
क्यानले यसअघि यही जेठ २ गतेदेखि सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्वनबाट फुकुवा गरेको थियो ।
उच्च अदालत पाटनको फैसलाबमोजिम बलात्कार मुद्दामा सफाइ पाएसँगै क्यानले पनि सोही दिनदेखि क्रिकेट गतिविधिबाट निलम्वन फुकुवा गरेको थियो । सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसिसी सामु पेस गरेको क्यानको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, “यही जेठ ३ गतेदेखि नै सन्दीप नेपालको अफिसियल टिममा रहेका तर अमेरिकी राहदानी प्राप्त नभए तापनि आइसिसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बङ्गलादेशविरुद्ध नेपालका दुई खेलमा सन्दीपको उपस्थिति रहने जानकारी गराउन चाहन्छौँ । ”