काठमाडौं, जेठ २७
इटहरीमा बचतकर्ताको रकम अपचलन गरी दुईवटा सहकारी संस्थाका सञ्चालक फरार भएका छन् ।
कलश र हलेसी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बचतकर्ताको रकम अपचलन गरी फरार भएका हुन् । कलश बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले १५ लाखभन्दा बढी रकम अपचलन गरेर फरार भएका हुन् ।
बचतकर्ताले इटहरी उपमहानगरपालिकामा उजुरी दिएको आधारमा १० लाख र अन्य निवेदकमध्ये रकम नखुलाई दिएको आधारमा १५ लाखभन्दा बढी नै अपचलन भएको सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले जानकारी दिए ।
त्यसैगरी, इटहरी वडा नं. ६ मा रहेको हलेसी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको ६४ लाख रुपैयाँ तिर्न बाँकी रहेको अडिटमा उल्लेख गरिएको छ। अडिटमा ९ लाख रुपैयाँ ऋण लगानी भएको उल्लेख छ।
हलेसी बचतविरुद्ध १ सय ५० भन्दा बढीले इटहरी उपमहानगरपालिकामा उजुरी दिएका छन्।
दुवै सहकारीका सञ्चालकको खोजी कार्य भइरहेको डीएसपी टेकबहादुर कार्कीले बताए ।