काठमाडौं, जेठ २५
फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा सम्पन्न खेलमा युएईले नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो ।
युएईले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।
जितसँगै युएईले १५ अंक जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । पाँच वटै खेलमा पराजित नेपाल भने अंकविहीन छ । नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ ।