काठमाडौं, बैशाख २७
बागमती प्रदेश मातहतका ४४ वटा सहकारी संस्था समस्याग्रस्त देखिएकाले अनुसन्धानमा परेका छन् । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका सूचना अधिकृत लीलानाथ मिश्रका अनुसार प्रदेशभित्रका ४४ वटा सहकारीका सञ्चालकले आर्थिक अपलचन गरेको निष्कर्षसहित कारवाही र अनुसन्धान अघि बढाउन पत्राचार गरिएको उनले जनाए।
उनका अनुसार आर्थिक अनियमिततामा संलग्न सबैभन्दा बढी ३२ वटा सहकारी संस्था काठमाडौं जिल्लाका छन् । त्यसै गरी ललितपुरका आठ, भक्तपुर र काभ्रेका दुई वटा सहकारी ठगी र आर्थिक अनियमिततामा संलग्न छन् । बागमतीमा प्रदेशको नियमनमा तीन हजार २०७ वटा संस्था रहेका छन्।
प्रदेशको क्षेत्राधिकारमा पर्ने सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ यस अघि नै समस्याग्रस्त घोषित भइसकेको छ। बागमती प्रदेश सरकारले २०८० भदौ २१ गते समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका सञ्चालकले बचतकर्ताको करिब आठ अर्ब ८७ करोड रुपियाँ अपचलन भएको छ।
बागमती प्रदेशमा बचत तथा ऋण सहकारी एक हजार ५२४, बहुउद्देश्यीय एक हजार १४३, कृषि सहकारी २५६, दुग्ध ५०, अन्य २२१ तथा जिल्ला सहकारी सङ्घ १३ वटा रहेका छन् ।
बागमती प्रदेशमा हालसम्म २६६ वटा सहकारीविरुद्ध उजुरी परेको छ। बचतकर्ताको सम्पूर्ण रकम फिर्ता गराउन अधिकतम पहल गरि राखिएको मिश्रले बताए । ती मध्ये करिब दुई सय सहकारीका सञ्चालक र बचतकर्ताबिच मिलापत्र गरी रकम फिर्ता प्रक्रिया अघि बढाइएको उनले जनाए । उजुरी परेका मध्ये २२ वटाको समस्या केहि जटिल रहेको उनको भनाइ छ।