काठमाडौं, बैशाख १६
समाजको कतार शाखाले यस वर्षको नयाँ वर्ष, जुडशीतल तथा ईद पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । बैशाख १४ गते शुक्रबारको दिन समाजको कतार शाखाले दोहाको सनैयास्थित फुलवारी रेस्टुरेन्टको सभाहलमा भव्य कार्यक्रम आयोजना गरेको हो । कतार शाखाका अध्यक्ष शिव कुमार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने समाजका संस्थापक डा. रवीन्द्र कुमार यादव र कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई विशिष्ट अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा एनआरएनएका पदाधिकारी तथा कतारस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिका साथै पत्रकार एवं बुद्धिजीविहरुको पनि बाक्लो उपस्थिति थियो । शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि एवं मधेश प्रदेशका अर्थमन्त्री यादवले नेपालको वर्तमान राजनीति र मधेशको पिछडिएको अवस्था एवं विकासका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । नेपाली दूतावास कतारका कार्यवाहक राजदूत कुमार राईले रोजगारीको सिलसिलामा कतारमा रहेका लगभग साढे तिन लाख नेपालीमध्ये प्रदेशको हिसाबले मधेश प्रदेशबाट कतारमा सबैभन्दा धेरै नेपाली दाजुभाई रहेको बताउनुभयो ।
मधेशका दाजुभाई नेपालबाट कतार आउँदा धेरै ठगिएको आफूले पाएको बताउदै कार्यवाहक राजदूत राईले आगामी दिनमा ठगिनबाट जोगिन सबैलाई आग्रह गर्नुभयो । आफू मध्यपहाडी भेगको भएपनि मधेसका दाजुभाईप्रति अत्यन्तै माया र सम्मान रहेको उहाँको भनाइ थियो । समाजका संस्थापक डा. यादवले मधेशका सबै जातजाति र समुदायलाई एकताबद्ध गर्नु, मधेशका भाषा र संस्कृतिको संरक्षण गर्नु एवं देश र मधेशको विकासमा योगदान दिनु मधेशी एकता समाजको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
यस्तै, मधेशको सामाजिक विकृति विसंगति उन्मूलनमा योगदान, मधेशीमा आत्मनिर्भरताको विकास र मधेशी परम्पराको संरक्षणलगायतका कार्यहरु पनि एकता समाजको लक्ष्य रहेको डा. यादवको भनाइ थियो । कार्यक्रममा सहभागी हुन कतारभरिबाट सयौंको संख्यामा मधेशी समुदायका व्यक्तिहरु दोहा पुगेका थिए । सो अवसरमा उनीहरुले एकअर्कालाई शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा तराई–मधेसका सांस्कृतिक गीत तथा नृत्यहरु प्रस्तुत गरिएका थिए । यस्तै अतिथिदेखि सहभागीहरुलाई तराई–मधेसको सांस्कृतिक खानाका परिकार पस्किएको थियो ।
नेपालको राष्ट्र गानबाट सुरु भएको कार्यक्रममा समाजको कतार शाखाका कोषाध्यक्ष गौतम शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । कतार शाखाका महासचिव चन्द्रवीर यादवले सञ्चालन गर्नुभएको कार्यक्रममा समापन मन्तव्य राख्नुहुँदै कतार शाखाका अध्यक्ष महतोले निमन्त्रणा स्वीकार गरी कार्यक्रममा उपस्थित भएका सबैलाई नयाँ वर्ष, जुडशीतल र ईद उल फित्र पर्वको शुभकामना दिनुभएको थियो । यस्तै कार्यक्रमलाई सफल बनाउन साथ र सहयोग गर्ने सबैलाई महतोले धन्यवाद समेत दिनुभयो ।