neapl investment mega bank
  • गृहपृष्ठ
  • फोहोर, प्रदूषण र अस्तव्यस्त शहर बन्यो काठमाडौं, सर्वसाधारणलाई सास लिन गाह्रो, जीवजन्तु विस्थापित !

फोहोर, प्रदूषण र अस्तव्यस्त शहर बन्यो काठमाडौं, सर्वसाधारणलाई सास लिन गाह्रो, जीवजन्तु विस्थापित !

Mar 27th, 2024

काठमाडौं, चैत १४
हरेक प्राणीलाई पानी र अक्सिजन चाहिन्छ । पानी र अक्सिजनबिना कुनै पनि प्राणी बाँच्न सक्दैन् । अक्सिजनका लागि वृक्षरोपण गर्नुपर्छ । तर, पछिल्लो समय वन नै फडाँनी गरेर बस्ती बसाउन थालिएको छ । प्रकृतिप्रति कोही पनि जिम्मेवार छैन् । काठमाडौं उपत्यका मात्रै नभई बाहिरी जिल्ला पनि घरघरैको शहर बनिसकेको छ । भौतिक पूर्वाधारको विकास गर्दा प्रकृतिको संरक्षण गर्नुपर्छ भन्ने कुरा सबैले बिर्सिएका छन् । उपत्यका बिजोग अवस्थामा छ । जता हेर्यो घरघरै र गाडी । रुखविरुवा देखिन छोडिसकेको छ । धुँवाधुलोको मुस्लो फयाँकेर गाडी गुडिरहेका हुन्छन् । जसले गर्दा आम सर्वसाधारणलाई श्वासप्रश्वास गर्न पनि समस्या परेको छ । सरकारले २० वर्ष पुगेका गाडी विस्थापित गर्ने नीति लिएको छ । विडम्बना, कार्यान्वयन भएको छैन् । ईट्टाभट्टाले दिएको सास्तीको कुरा गरिसक्नु छैन् । ईट्टाभट्टाबाट व्यापक प्रदूषण भइरहेको छ । सर्वसाधारण स्वस्थ हावा लिनबाट समेत वञ्चित भएका छन् । क्रसर उद्योगले पनि व्यापक वातावरण प्रदूषण गरिरहेको छ ।

खोला, नदीनालाबाट गिट्टीवालुवा निकाल्दा पानी नै फोहोर बनेको छ । यता, पानीमा बस्ने जीवहरु पनि मासिँदै गएका छन् । नदीनाला, खोलाको पानी फोहोर भएपछि मान्छेले के पिउने ? पशुपंक्षीले कहाँ गएर आफ्नो तिर्खा मेट्ने ? वातावरणसँग नराम्रो खेलबाँड गरिएको छ । ढुंगा, माटो निकाल्दा वनजंगल नै सखाप भएको छ । रुखहरु मासेर ढुंगा, माटो निकालिएको छ । जसले गर्दा चराचुरुंगी, जीवजन्तुहरुको बासस्थान मासिएको छ । यता, बर्खामा बाढी, पहिरोको जोखिम पनि उत्तिकै बढेको छ । खेतीयोग्य जमिनलाई खण्डीकरण गरेर, प्लटिङ गरेर घर बनाइएको छ । अन्न फल्ने जमिन त कंक्रिट बनिहाल्यो, साथै, छेउछाउमा भएका रुखविरुवा पनि मासियो । काठमाडौं उपत्यका कंक्रिटको शहर बनेको छ । पानी पर्यो भने पूरै शहर जलमग्न बन्छ, किन ? किन कि जमिन सबै ढलान गरिएको छ, पानी जाओस् कहाँ ? पहिलेपहिले पानी जमिनले सोस्थ्यो । ढलानले त पानी सोस्दैन् । यसले गर्दा ढुंगेधारा, कुवाको अस्तित्व पनि संकटमा परेको छ । आकाशबाट परेको पानी ढुंगेधाराबाट आउँथ्यो । बाटो हिँड्नेले ढुंगेधाराबाट पानी पिँउथे । अब अहिले त मिनिरल वाटरको जमाना आयो । ढुंगेधाराको कसले चासो गर्ने ? पानी पर्यो भने सिँधै घरको छतमा झर्छ अनि बाटोमा ।

बर्खामा डुबान, हिँउदमा धुलैधुलो । पानीको हाहाकार पछिल्लो समय व्यापक देखिएको छ । पानीको समस्या पूर्ति गर्नका लागि जमिनमा बोर्डिङ गर्ने क्रम बढेको छ । जमिनभित्र पानी नै गएको छैन्, बोर्डिङ गरेर के फाइदा ? भोलि जमिन नै भाँसिन सक्छ भन्ने कसैले सोचेका छैनन् । जहाँ मनलाग्यो, त्यही बोर्डिङ गरिन्छ । घर कस्तो ठाउँमा बनाउने ? कति जग्गामा कति तलाको घर बनाउने ? कुनै मापदण्ड छैन् । घर बनाउन पाए पुग्यो । माटो नै चेकजाँच नगरिकन घर ठड्याइएको छ । कमशल माटोमा भौतिक संरचना निर्माण भइरहेका छन् । भनिन्छ नि,‘दशा बाजा बनाएर आउँदैन् ।’ भूकम्पलगायतका प्राकृतिक विपद् जति बेलापनि आउन सक्छ । त्यो घर त ढल्छ नै, छेउछाउमा भएका घरलाई समेत क्षति गर्छ । चार दशकअघि उपत्यकाभित्र प्रशस्तै ढुंगेधारा, चौतारा, पार्टीपौवाहरु देखिन्थ्यो । बाँसघारी पनि प्रशस्तै हुन्थ्यो । ठूल्ठूला रुखहरु थिए । अहिले ढुंगेधारा, पार्टीपौवा, चौतारा एकताकाको कथाजस्तै भएको छ ।

भद्रकालीबाट सिंहदरबार आउने बाटोमा हेर्नुपर्छ, सिमेण्टको गमला बनाएर रुख रोपिएको छ । पुलमाथि सिमेण्टको गमला बनाएको छ । विरुवा पनि थोरै मात्र गाँडिएको हुन्छ । मान्छेले तान्यो भने फुत्त निस्किन्छ । पानी हालेको हाल्यै हुन्छ तर विरुवा बढ्दैन् । पालिकाहरुले हामीले काम गरेका छौं है भनेर देखाउन खोजेको स्पष्ट छ । विरुवा रोपेपछि त हुर्किनुपर्यो । एउटा रोप्यो, मर्छ फेरि अर्को रोप्छ । यही क्रम चलिरहेको छ । जनताले तिरेको कर विरुवा रोप्ने नाममा सखाप पार्ने काम मात्र भइरहेको छ । आज रोपेको विरुवा केही दिनमा मरिहाल्छ, फेरि अर्को रोप्यो । कि रोप्दै नरोप्नु कि राम्रोसँग रोप्नु र हेरचाह गर्नु ।
काठमाडौं महानगरपालिकाले केही महिनाअघि बिजुलीबजारको पुलमा गमला राख्यो । त्यहाँ पुलको विरुवा रोपिएको थियो । अहिले ती फूलहरु सुकेर गएका छन् । कतिपयले चुँडेरै सकाइदिए । त्यहाँ पनि जनताले तिरेको कर खेर गयो । गमलामा रोप्नुको साटो जमिनमा रोपिदिएको भए हुने थियो ।

सडकको बीचमा रुखविरुवा रोपिएको छ । तर, ती पनि मरिसकेका छन् । सडकको छेउछाउ स्थानीय पालिकाले फलामको बस्ने कुर्सी बनाएका छन् । भद्रकालीमा काठको बनाइएको छ । ती काठका कुर्सी पानीले कुहिसकेका छन् । यता, फलाममा खिया लागेको छ । कि ढुंगा छापेर बस्नुपर्थ्यो कि सिमेण्टको । नत्र माथिबाट पानी छेक्ने खालको बनाउनुपर्थ्यो । यद्यपि, त्यसो गरिएन् । त्यो बिग्रियो, अर्को हाल्छन्, फेरि भ्रष्टाचार । जनताले तिरेको कर ‘वालुवामा पानी’ भएको छ । सरकारले विकास कस्तो हुनुपर्छ भन्ने नै बुझेन् । एकचोटिमा हुने काम पटकपटक गर्नुपरेको छ । पैसा भने खर्च भएको भर्यै छ । काठमाडौंमा खुला ठाउँ कतै छैन् । कतै गएर बस्छुभन्दा खुला ठाउँ छैन् । जसले गर्दा वृद्धवृद्धालाई सास्ती भएको छ । दिनभरी कोठामा निस्सासिएर बस्न त सकिँदैन् । हिजो दिँउसो १२ बजेतिरको कुरा हो, बागबजारबाट रत्नपार्क जानेतर्फ आकाशे पुलमा एउटा वृद्ध उभिरहेका थिए ।

कोठामा बस्दाबस्दै वाक्कदिक्क भएर बाहिर निस्किएका उनलाई पुलमाथि व्यापार गर्नेहरुले बस्न पनि दिएनन् । हामीलाई व्यापार गर्नुपर्ने छ, तपाई गइहाल्नुस भन्दै उनलाई व्यापारीहरुले हप्काइरहेका थिए । सिन्धुपाल्चोक घर बताउने ती वृद्ध त्यसपछि घरतिर लागे । आकाशे पुल व्यापार गर्ने ठाउँ होइन् । तर, कसैले टेरपुच्छर मानेका होइनन् । नगरप्रहरीको ध्यान आकाशे पुलमाथि जाँदैन् । जसका कारण आम सर्वसाधारण मर्कामा परेका छन् । आकाशे पुलहरु साह्रै फोहोर छन् । पुलहरु सफा गर्नुपर्यो, रंगरोगन गर्नुपर्यो । काठमाडौं उपत्यका फोहोरी शहर बनेको छ । जता हेर्यो फोहोरको थुप्रो । गुट्खाको खोल सडकभरी छरिएको हुन्छ । डस्टबिन कतै छैन् । खाने, सडकमा खोल फाल्ने क्रम जारी नै छ । यसमा सरोकारवाला निकायको ध्यान जान जरुरी छ । तारैतारको शहर बनेको छ काठमाडौं । साँघुरा सडक, सवारीको चाप । सडकहरु सफासुग्घर बनाउनुपर्यो । तीन तिरैबाट घर च्यापेर बनाइएको छ ।

अनि रुखचाँहि कहाँ रोप्ने ? एउटा नीति त हुनुपर्थ्यो । बाटो बनाऊ, घर बनाऊ सरकारको पोलेसी यतिमै सीमित छ । शहरलाई कसरी सफासुग्घर र सुन्दर बनाउने भन्ने सोच सरकारसँग छैन् । केही समय अघिसम्म ठूल्ठूला वरपिपलको रुख देखिन्थ्यो । अहिले पिपलको रुख देखिनै छोडिसकेको छ । सरकारले त आम सर्वसाधारणलाई रुख रोप भनेर सिकाउनुपर्ने होइन् र ? ससाना होइन्, ठूलाठूला हुने रुख लगाउनुपर्यो । आज रोपेर भोलि उख्लिने रुखको विरुवा के काम ? पहिलेपहिले घर ढुंगामाटोको हुन्थ्यो । त्यस्ता घरमा चराचुरुंगी बस्ने ठाउँ राखिन्थ्यो । भँगेरा, गौँथली आएर बस्थे । अहिले सबै ढलानको घर छ । त्यहाँ चरा बस्ने ठाउँ हुँदैन् । पछिल्लो समय भँगेरा देखिनै छोडिसकेको छ । चराचुरुंगीहरु विस्थापित हुँदै गए । जंगलहरु माँसिदा जीवजन्तुको घर नै मासियो ।
अनुसा थापा
भक्तपुर