कविताः ए रात ! तिमी कहिले विहानी हुन्छौं हँ ?
परिवारको भोको पेट पाल्न
रोजगारको लागि
विदेशमा दास बन्न
परीक्षा दिन पाउँ भनी
बिन्ती चढाउँदा
लाचार सरकार –
युवाहरूको छातिमा
ताकि ताकि गोली दागिन्छ यहाँ
भोको पेट मिचिमिचि जिउनु पर्ने !
ए रात !
तिमी कहिले विहानी हुन्छौं हँ ?
कुर्सीवालाहरू खुलेआम भ्रष्टाचार गर्छन् यहाँ
खरबौं एनसीएल पचाउछन् !
करोडौं सुन पनि खान्छन्,
छानबिन समिति गठन गर्दै
आँखामा धुलो छर्दै
कुर्सीवाला लुटेराहरु !
आमाको लुटिएको अस्मिता समेत
भागबन्डा लगाई लगाई
डकार्दै
लाज-सरम पचाई
नेपाल आमालाई लुट्छन् यहाँ !
ए रात !
तिमी कहिले विहानी हुन्छौं हँ ?
अब त, संयमताले सिमा नाघिसकेको छ !
भोको पेट भर्न
आमाको लुटिएको अस्मिता फर्काउन
भ्रष्टाचारी दुराचारी नकचराहरुलाई
लखेटी लखेटी
सिमापारी कटाउन
बेरोजगार
पिडित
नेपाली आमाका सपूत
युवाहरूको साथ खोजेको छ ।
युवाहरूको काँध मागेको छ !
समयले परिवर्तन चाहेको छ
त्यसैले, ए रात !
तिमी कहिले विहानी हुन्छौं हँ ?
-निलनकुमार थेच्वमि