काठमाडौं, पुस २२
नेपालमा ठूल्ठूला शैक्षिक संस्था छन्, जहाँ गुणस्तरीय अध्ययपन हुन्छ । पछिल्लो समय शिक्षा क्षेत्रमा व्यक्तिहरुले धेरै लगानी गरेका छन् । सरकारले पनि सरकारी शैक्षिक संस्थालाई गुणस्तरीय शिक्षाको थलो बनाउन प्रयास गरिरहेको छ । तैपनि, विद्यार्थीहरु विदेश जाने क्रम रोकिएको छैन् । माध्यमिक शिक्षा पूरा हुनेबित्तिकै विद्यार्थीहरु बाहिर जाने प्रवृत्तिले नेपालका विश्वविद्यालयहरु रित्तिँदै गएका छन् । यता, शैक्षिक संस्थामा गरिएको लगानी वालुवामा पानी बनेको छ । केही समययता पढ्नका लागि विदेश जाने ‘ट्रेण्ड’ नै बनिसकेको छ । एउटा साथी विदेश गएपछि अर्कोपनि विदेश हानिहाल्छन् ।
विदेश पढ्न जाने नाममा वर्षेनि अर्बौं रुपैयाँ बाहिरिरहेको छ । सरकारले पढ्नका लागि पठाएको विद्यार्थी सबै विदेशमै ‘सेटल’ भएका छन् । अमेरिका, अष्ट्रेलिया, क्यानडालगायत विभिन्न युरोपेली मुलुक पुगेका विद्यार्थीहरु नेपाल फर्किन चाहँदैनन् । जसका कारण मुलुकमा दक्ष जनशक्तिको अभाव भएको छ । उनीहरुले न पैसा पठाउँछन् न आफू फर्केर आउँछन् । यसले त मुलुकलाई ठूलो घाटा लागिरहेको छ । पैसा त पठाएनन् तर उनीहरुले आफूसँग भएको सीप पनि नेपालमा ल्याएर प्रयोग गर्दैनन् । उल्टो यहाँ भएको सम्पत्तिसमेत बेचेर लैजान्छन् । आफ्ना बुवाआमाको जायजेथो बेचेर उनीहरुले त्यहाँ घरजग्गा किन्छन् ।
देशको अर्थतन्त्र धरासायी बन्नुमा पढ्ने नाममा विदेश जानेहरुको ठूलो योगदान छ । २० देखि ३० लाख रुपैयाँ खर्च गरेर विद्यार्थीहरु विदेश पुगेका छन् । राज्यले विदेश गएकाले आएर देशमा केही गर्लान्, आफूसँग भएको सीप प्रयोग गर्लान् भनेर पठायो । तर, ठ्याक्कै उल्टो भयो । उनीहरु उतैको वातावरणमा रमाउने भए । जसका कारण उनीहरु फर्केर आउन चाहँदैनन् । यसले गर्दा राज्यलाई दुईटा क्षति भएको छ । प्रथमः मँहगो विदेशी मुद्रा पनि बाहिरियो, दोस्रोः जनशक्ति पनि बाहिरिए । मुलुकलाई संकटतिर धकेलेर सबैले आ–आफ्नो मनोमानी चलाएका छन् ।
पढ्ने नाममा नेपाली पैसा विदेश गयो, व्यापारका नाममा पनि । निर्यातको चौब्बर त आयात छ । अरु देश धमाधम सामान निर्यात गरेर आफ्नो अर्थतन्त्र मजबुत बनाइरहेका छन् । हामीचाँहि विद्यार्थी ‘निर्यात’ गरिरहेको छौं । व्यापार घाटा बढ्दो छ । तैपनि सरकारलाई फरक परेको छैन् ।
विद्यार्थीहरुलाई कक्षा १२ सम्म यहीको पढाइ राम्रो हुन्छ । त्यसपछि नराम्रो भइदिन्छ । विदेश जान जो पाइयो । ऋणधन गरेर विदेश जान्छन्, तर देशमै केही गरौं भन्ने सोच उनीहरुमा छैन् । विदेश जाने पैसा यही लगानी गरेर एउटा सानोतिनो व्यापार–व्यवसाय गर्न उनीहरुलाई लाज लाग्छ । अर्काको देशमा गएर जे गर्न पनि तयार हुन्छन्, उनीहरु । सरकारी जागिरेले आफ्ना सन्तान सरकारी शैक्षिक संस्थामा पढाउनुपर्ने प्रावधान छ । राजनीतिक दलको हकमा पनि त्यही हो । तर, सरकारी कर्मचारीहरुले मँहगामँहगा विद्यालयमा आफ्ना छोराछोरी पढाइराखेका छन् । तिनकै छोराछोरी पढ्ने नाममा विदेश दौडिरहेका छन् ।
अवस्था यस्तो कि, बाबुआमा बिते भनेपनि हप्ता दिनसम्म छोराछोरी आइपुग्दैनन् । स्वर्गीय नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख बितेको दुई दिनपछि मात्र दाहसंस्कार गरिएको थियो । उनको छोराहरु बाहिर थिए । विदेशी नागरिकता तथा राहदानी लिइसकेकाहरुले नेपाल आएर नौटंकी गरेको उदाहरणहरु पनि छ । यसको सुहाउँदो पात्र रवि लामिछाने हुन् । देशका लागि ज्यानै दिन भाषण गर्ने लामिछानेले नेपाली जनतालाई कसरी भुङ्ग्रोमा राखे ? भन्ने कुरा खुल्दै छ । विदेशी नागरिकता र राहदानी लिइसकेका उनको एकपछि अर्को काण्ड बाहिरिँदै छ । शुरुवातदेखि नै विवादमा तानिएका उनको असली रुपमा जनताले विस्तारै देखिरहेका छन् ।
देशको लागि केही गर्छु भनेर अमेरिकी नागरिकता र राहदानी त्यागेर नेपाल आएको भन्ने उनी त्यता ठग्न नपाएपछि यता आएको त स्पष्ट छ । विदेशमा काम गर्नुपर्छ, ठग्न पाइँदैन् । अब यहाँ त हाउडे गफ ठोकेर जनताको आँखामा कालोपट्टी बाँधेर खान पाइयो । नेपाल आएपछि पत्रकारिता गरे । विदेशबाट केही नेपालीको उद्धार गरेजस्तो गरेर वाहवाही बटुले । त्यसपछि राजनीतिमा होमिए । पुराना नेताहरुले काम नगरेर जनता वाक्कदिक्क थिए, उनले पनि धमिलो पानीमा माछा मारिहालें । राजनीतिमा प्रवेश गरेको छोटो समयमै सांसददेखि गृहमन्त्रीसम्मको यात्रा तय गरे ।
सुशासन र सदाचारिताको बारेमा लामोचौडा भाषण गर्ने उनीसँगै नेपाली नागरिकता र राहदानी नभएको खुल्यो । त्यसपछि अदालतले सबै पद चैट पारिदियो । अनि गएर नागरिकता लिए । देशमाथि घात गर्ने र जनताको आँखामा धुलो झोक्ने व्यक्ति नेपाल फर्किएकोभन्दा नफर्किएकै बेस् ।
चितवनमा दुईपटक निर्वाचन गर्नुपर्यो । राज्यको ढुकुटीको दोहन भयो । अर्कोतिर दोहोर्याएर चितवनबासीले भोट हाल्नुपर्यो, बेकारको सास्ती । भित्रीदेखि बाहिरी आवरणसम्म झुटले ढाकिएको व्यक्ति नेपाल आउँदा ठूलो क्षति भयो । एक जना गायकले गीत गाएका थिए,‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट ।’ लुट्ने दिमाग भएकाहरु मात्रै नेपाल फर्किएका छन् । नेपालीहरु आफू केही नगर्ने र अरुमाथि हिलो छ्याप्ने काममा अब्बल छन् । देशमा पढेलेखेको संख्या बढेको छ । तर, तिनले के गरे ? देशका नेताहरु कामचोर भए, केही गरेनन् भन्नबाहेक नेपालीले केही जानेनन् । माध्यमिक तहमा पढिरहेका अधिकांश विद्यार्थी भन्छन्,‘देशमा केही गर्ने वातावरण छैन्, हामी बाहिर जान्छौं ।’
बाबुआमा पनि छोराछोरीलाई बाहिर पठाउदाँ मख्ख । छोराछोरी बाहिर गएका आमाबुवाहरु घमण्ड गर्छन् । अरुमाथि हिलो छ्याप्दैमा परिवर्तन हुँदैन् । विदेश गएकाहरु उतै रमाइहाल्छन् अनि देश कसले हेर्छ ? पढेलेखेका युवापुस्तासँग लड्ने आँट छैन् । परिवर्तनको सोच उनीहरुसँग छैन् ।
अनि बुढाखाडाले मौका पाउनु स्वाभाविकै हो । अमेरिका, अष्ट्रेलिया यत्तिकै विकसित बनेको होइन् । त्यहाँको नेतृत्व, युवापुस्ता सबैको मेहिनेतले आज अमेरिका, अष्ट्रेलिया त्यहाँ पुगेको हो । नेपालमा त्यो अवस्था नै भएन् । सोच र सीप भएका विदेशमा छन्, बुढाबुढी, बालबच्चा मात्रै मुलुकमा बाँकी भएका छन् । मुलुकका कलेजहरु धरासायी बनिरहेको छ । तर, निजी कलेज सञ्चालकहरु सरकारलाई घच्घचाउन सक्दैन् । राज्य सञ्चालकहरु विद्यार्थीहरुलाई विदेश जानबाट रोक्नुपर्छ भनेर भाषण गरिरहेका हुन्छन् । तर, खोइ त योजना ? जुन देशमा युवाशक्ति हुँदैन्, त्यो देशको विकास सम्भव छैन् ।
बाहिरी देशको रणनीति नेपालका नेताहरुले कहिले बुझ्ने ? अमेरिका, अष्ट्रेलियाले अन्य मुलुकको पैसा पनि लग्यो, जनशक्ति पनि तान्यो । त्यहाँका नेताहरुले ती जनशक्तिसँग भएको सीप, क्षमताको प्रयोग गरेर आफ्नो देशलाई उचाइमा पुर्याए । उनीहरु दिनप्रतिदिन विकासमा फड्को मारिरहेका छन्, हामीचाँहि हेरेको हेर्यै । विकसित देशमा काम गर्नका लागि अन्य मुलुकमा जाँदैन् । उनीहरु घुम्न जान्छन् । नयाँ–नयाँ कुरा सिक्छन् अनि आफ्नो देशमा प्रयोग गर्छन् । नेपालमा ठ्याक्कै उल्टो छ । अभिभावकहरु जसरी हुन्छ छोराछोरी बाहिर पठाउनमै ध्याउन्न छन् । छोराछोरी अमेरिका, अष्ट्रेलिया पठाएका अभिभावक युद्ध जितेझैं गर्छन् ।
जबसम्म अप्ठेरो पर्दैन्, तबसम्म अभिभावकलाई छोराछोरी आफ्नो साथमा भए–नभएको फरक पर्दैन् । बिरामी हुँदा, गाह्रोसाह्रो पर्दा मात्र उनीहरुलाई छोराछोरी बेकारमा पठाएझैं हुन्छ । अर्काको बाबुआमालाई कसले हेर्छ ? नेपालको राजनीतिक प्रणाली कसको कब्जामा छ ? युवा पुस्ताले फर्केर हेरेका छन् ? कोही गुण्डा पृष्ठभूमिबाट आएका छन्, कोही गुलेली हिर्काएर राजनीतिमा प्रवेश गरेका छन् । कसैले आठ कक्षा मात्र पढेका छन्, कसैले टाउको हल्लाउनबाहेक केही जानेका छैनन् । यस्ताबाट विकास खोजेर हुन्छ ? बिहे नगरेकाहरु देशको महान् नेता रे ! नेताले बिहे गरोस् कि नगरोस्, जनतालाई के मतलब ?
जनतालाई नेताहरुले भ्रम छरिरहेका छन् । उनीहरुको भ्रम चिर्न सक्ने कोही पनि जन्मिएकै छैनन् जस्तो छ । एउटा उखान छ,‘जुन जोगी आएपनि कानै चिरेको’ । रवि लामिछाने, गगन थापा, महेश बस्नेत, केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाल, ज्ञानेन्द्र शाहीजस्ताबाट देश विकास हुन्छ भनेर कल्पनै नगर्दा बेस् ।
अनुसा थापा
भक्तपुर