सुनसरीको इटहरीमा रहेको अम्बेकोशी बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष फणीन्द्र बहादुर पुर्बछाने मगर पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत सुनसरीमा थुनछेक बहस पछि न्यायाधीश शम्भु गौतमको एकल इजलासले आज उनलाई कारागार चलान गर्ने आदेश गरेको हो ।
यस्तै सहकारीका सञ्चालक समिति सदस्य शिला गजमेर पनि अदालतले तोकेको ५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि जेल चलान भएको जिल्ला अदालत सुनसरीका सूचना अधिकारी नवीन कोइरालाले बताए ।
पुर्पक्षका लागि मगरलाई झुम्का कारागार चलान गरिएको छ भने गजमेरलाई जिल्ला कारागार कार्यालय मोरङ लगिएको छ ।
यस्तै पक्राउ परेका लेखा सुपरिवेक्षण समितिका संयोजक राहुल अग्रवाल १० लाख र लेखा समितिकै सदस्य कुमार आले ५ लाख धरौटी बुझाएर तारेखमा रिहाइ भएका छन् ।
११ जनाविरुद्ध प्रहरीमा ठगी मुद्दा दर्ता गरे पनि प्रहरीले भने ४ जनालाई मात्र पक्राउ गरेको थियो ।
सहकारीका उपाध्यक्ष देवेन्द्र बस्नेत,सदस्य मीनकुमार आले मगर,सागर राई,टेक बहादुर चर्मकार,राजकुमार तामाङ,सहकारीका व्यवस्थापक भोजकुमार आले मगर र लेखा समिति सदस्य किरण आले भने अहिले सम्म फरार रहेका छन् ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका सम्पूर्ण युनिटहरू मार्फत खोजी गरिए पनि पक्राउ गर्न नसकेको प्रहरीले जनाएको छ ।
सहकारी ऐन २०७४ अन्तर्गत दफा १२२ अन्तर्गत १० करोड देखि माथि १ अरब सम्म माग दाबी सहितको बिगो भएमा ६ वर्ष देखि ८ वर्ष सम्म कैद र बिगो बमोजिम जरिवाना गर्ने उल्लेख छ ।