काठमाडौं, पुस ६
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०६५ सालमा पहिलोपटक प्रधानमन्त्री भएका थिए । त्यतिबेला उनले एक जना सरकारी कर्मचारीलाई हटाउन मन्त्रिपरिषद्बाट स्वीकृत गरेर राष्ट्रपति रामवरण यादव कहाँ पठाए । तर, राष्ट्रपति यादवले स्वीकृत नगरेपछि उनले बोल्दाबोल्दै राजीनामा दिए ।
जबकी कसैले पनि उनको राजीनामा मागेको थिएनन् । प्रचण्डको निर्णयले सर्वसाधारणमाझ राम्रै छाप परेको थियो । पद ठूलो होइन् भन्ने उदाहरण दिएका थिए, उनले । तर, उनको उक्त कार्य सस्तो लोकप्रियता कमाउनका लागि मात्रै रहेछ भन्ने पुष्टि भइसकेको छ । प्रचण्ड देशको प्रधानमन्त्री भएको एक वर्ष हुन लाग्यो जनता र राष्ट्रको हितमा उनले यो एक वर्षको अवधिमा एउटा पनि निर्णय गरेका छैनन् । अहिले मुलुकमा आर्थिक मन्दी छ । व्यापार–व्यवसाय ठप्प छ । सर्वसाधारण समस्यामा छन् । महाबौद्ध, इन्द्रचोकका व्यापारीहरु हिजो दिँउसो १२ बजेसम्म पनि बोनी नभएको गुनासो गर्दै थिए ।
मालपोत र यातायात कार्यालयको अवस्था पनि त्यस्तै छ । चनमन्न छ । केही दिन उकालो लागेको शेयर हिजो फेरि स्वाटै ओरालो लाग्यो । बजारमा मँहगी ह्वात्तै बढेको छ । बेरोजगारको संख्या दिनहुँ उकालो लागिरहेको छ । यता, पेन्सन खाने भूपू कर्मचारीहरु सरकारले तलब खातामा नहालिदिएको बताउँछन् । कतिपय स्थानीय तहका कर्मचारीहरु तलब नपाएपछि आन्दोलित भएका छन् । एक वर्षको अवधिमा विदेशी ऋण ह्वात्तै बढेको छ । हरेक क्षेत्रमा बेतिथि छ । राजश्व छली, भ्रष्टाचार रोक्न उनले सकेका छैनन् । यातायात क्षेत्रमा लामो समयदेखि सिण्डिकेट छ । यातायात व्यवसायी भनिने ‘दलाल’ हरुले एकाधिकार जमाएर बसेका छन् । तर, सरकार उनीहरुको एकाधिकार तोड्न असफल रह्यो । चार दशकदेखि कालो प्लेट र हरियो प्लेटको ट्याक्सीको दर्ता बन्द छ । ढुवानी गाडी र फो–स्टक टेम्पोको दर्ता पनि बन्द छ । तर, सरकारले अहिलेसम्म नयाँ दर्ता खोल्ने निर्णय गर्न सकेको छैन् । छिमेकीले मिचेको नेपाल जमिन उनले फिर्ता ल्याउन सकेनन् ।
भूमिगत गएका उनले पहिलोपटक वालुवाटारमा सार्वजनिक हुँदा मुलुकलाई १० हजारभन्दा धेरै सेना नचाहिने बताएका थिए । अहिले आफैं प्रधानमन्त्री छन्, तर आफ्नै बोली कार्यान्वयन गर्न सकेका छैनन् । भ्रष्टाचारका कारण मुलुकको अन्तर्राष्ट्रिय बद्नाम भएको छ । सरकारी कार्यालय घुस खाने अड्डा बढेको छ । सडकमा उभिने ट्राफिक प्रहरीदेखि कार्यालयमा बस्ने सरकारी कर्मचारीहरुले खुलेआम घुस खाइरहेका छन् । खोइ त नियन्त्रण ? आम सर्वसाधारणले पाँच सय र हजार रुपैयाँको नोट घरमा लुकाएका छन् । बजारमा पैसाको अभाव छ । पाँच सय र हजारको नोट खारेज गरेर नयाँ निकाल्नुपर्छ भनि पटकपटक माग उठिसकेको छ ।
तर, सरकारले त्यो पनि गर्न सकेको छैन् । लक्ष्यअनुरुप राजश्व उठेको छैन् । सरकारलाई आफ्नै खर्च धान्न हम्मेहम्मे परेको छ । जनताले तिरेको करले नधानेपछि सरकारले धमाधम विदेशी ऋण लिएको हो । सरकारी खर्च धान्न सक्ने क्षमता छैन् भने सरकारले विदेशी ऋणको किस्ता कहाँबाट ल्याएर तिर्छ ? विदेशी ऋण मिनाहाका लागि उनले अहिलेसम्म कुनै प्रक्रिया चालेका छैनन् । देशमा खाने नै खाने मात्रै छन् । आम्दानीको स्रोत छैन्, खानेको चाँहि लहर छ । स्थानीय जनप्रतिनिधि पनि तलबभत्ता खान्छन् । सरकारले जनप्रतिनिधिहरुको तलबभत्ता कटौती गर्न अहिलेको अवस्थामा निकै नै जरुरी छ ।
उनले यसमा विषयमा पनि कुनै एक्सन लिएका छैनन् । यता, भूपू सरकारी कर्मचारीको पेन्सन र ज्येष्ठ नागरिकको भत्ता कटौती गर्न पनि सरकार असक्षम छ । माफियाहरुले सरकारी, गुठी, मठमन्दिर, सार्वजनिक जग्गा व्यक्तिको नाममा लगेका छन् । सरकार ती जग्गा फिर्ता ल्याउन असफल भएको छ । मुलुकका ठूला उद्योगपति भनिएकाहरुलाई नै राज्यलाई लुटिरहेका छन् । राजश्व छलि गरेका छन् । सरकारले राजश्व छली गर्नेलाई कानुनको दायरामा ल्याउन सकेको छैन् । प्रधानमन्त्री प्रचण्डले ठूला कुरा मात्रै गर्ने रहेछन् र उनीसँग काम गर्ने क्षमता रहनेछ भन्ने अहिले प्रमाणित भएको छ । राजश्व उठाउनका लागि उनले जग्गाको कित्ताकाट खोलियो । शेयरमा १२ करोडको सीमा हटाइयो, तैपनि कुनै प्रगति भएन् । मुलुकमा रोजगारीको अवसर नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जानेको भीड छ । युवायुवतीहरु धमाधम पलायन गइरहेका छन् । घरेलु कामदार बनेर खाडी गएका महिलाहरुको श्रमसँगै यौन शोषण भइरहेको छ ।
महिलाहरु गर्भवती भएर नेपाल फर्किरहेका छन् । सरकारले रोजगारी दिन नसकेपछि घर परिवार पाल्न गएका महिलाहरुको जिन्दगी तहसनहस बनेको छ । हालसालै मात्र एउटा एकदमै पीडादायी घटना घट्यो । कुबेतबाट आएकी एक युवतीले विमानमै बच्चा पाएर कमोडभित्र फ्याँलिन् । बच्चाको ज्यान गयो, ती महिलाको भविष्य पनि अन्धकार भयो । सडकमा माग्नेको संख्या ह्वात्तै बढेको छ । बच्चा, बुढाबुढीदेखि लिएर सुत्केरीसम्म माग्न बसेका छन् । उता, बैंक तथा वित्तिय संस्थाका कारण करोडौंको उठीबास लाग्ने भएको छ । सहकारीले पैसा खाइदिएपछि बचतकर्ताहरुको बिचल्ली भएको छ ।
तीन खम्बे अर्थनीति बोकेको सहकारीले डुबाउनु डुबायो । सहकारी र लघुवित्तबाट पीडित भएकाहरु पाइलैपिच्छे भेटिन्छन् । उनीहरु निकै समस्यामा छन् । तर, सरकारलाई मतलब छैन् । देश सकाउनमा प्रचण्डको मात्र हात छैन् तर उनले सुधारका लागि प्रयास नै गरेको देखिँदैन् । देश तहसनहस बनाउनमा भूपू राजा, भूपू राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता, सरकारी कर्मचारीहरुको सराबरी योगदान छ । सबै राज्यको ढुकुटी लुट्ने मात्रै भए । सरकारी कर्मचारी ‘कामचोर’ छन् । महालेखा परीक्षकको कार्यालयले आम्दानीभन्दा खर्च भयो भनेर सार्वजनिक गरिसकेको छ । यस्तो पाराले देश कसरी चल्छ ? अब प्रधानमन्त्री प्रचण्डसँग दुईटा उपाय छ । कि धमाधम एक्सनमा जाने कि नैतिकताको आधारमा राजीनामा दिने । पहिले एउटा मन्त्रिपरिषद्को निर्णय स्वीकृत नहुँदा राजीनामा दिए, अहिले देश नाजुक अवस्थामा पुगिसक्यो अझै पदको लोभ गरेर बस्ने ?
पद त्यति नै प्यारो छ भने काम गर्नुपर्यो । २०६५ सालमा राष्ट्रपतिबाट शपथ लिने बेलामा उनले कोट प्यान्ट लगाएका थिए । तेस्रो पटक प्रधानमन्त्रीको शपथ खाँदा उनले दौरा सुरुवालमा शपथ खाए । यसले पनि उनी अन्य राजनीतिक दलकै बाटो हिँडेको पुष्टि भइसकेको थियो । हुन त यहाँ देशको माया कसलाई छ र ? सबै सकाउनमा सबै जिम्मेवार छन् । एमाले भन्छः देश बर्बाद भयो । उसको बर्बादको कारण सर्वसाधारणले राम्रोसँग बुझेका छन् । सत्तामा जान नपाएपछि एमाले पानी नपाएको माछाझैं छट्पटाइरहेको छ । एमालेको नौटंकी कसले बुझ्दैन् र ? सबै पार्टी ‘एउटै ढ्याङ्गका मुला’ हुन् । जनयुद्धको बेला माओवादीमा लागेकाहरु उपचार नपाएर तड्पिरहेका छन् । मुलुकको राजनीति परिवर्तन गर्न प्रचण्डले नेतृत्वले गरे होलान् तर गोली खाने त अरु छन् । अंगभंग भएर बाँचेका छन् । प्रचण्डले उनीहरुलाई बिर्सिए । प्रचण्डले के गुमाएका छन् ?
जति गुमाउनु थियो जनताले गुमाए । कतिपय आमाबुवाको काख रित्तियो, कतिपयको सिन्दुर पुछियो । हालै मात्र प्रचण्डले गोकर्ण रिसोर्टमा आफ्नी नातिनीको विवाह गरे । करोडौं रुपैयाँ खर्च गरेर तामझामका साथ विवाह भयो । त्यतिबेला जनयुद्धका घाइतेहरुको कति मुटु पोल्यो होला ? उनको लागि खुसीको मौका थियो होला तर घाइतेहरुको आँखामा आँशु टिल्पिलाएको थियो । यस्तो व्यक्तिलाई जनताको अभिभावक भन्न सुहाउँछ ? २०६४ चैत २८ गते भएको चुनावमा माओवादीले १२१ क्षेत्रबाट प्रत्यक्ष जित्यो । थोरै भोटले धेरै क्षेत्रमा हार्यो । त्यतिबेला काम गरेनन्, राजाझैं टाउको हल्लाउँदै हिँडे । त्यसपछि उनलाई जनताले पत्याएनन् । कहिले कांग्रेस त कहिले एमालेसँग टाँसिन्छन् । सबैभन्दा ठूलो समय हो, उनले त्यो बुझेनन् । मौका पाउँदा काम गरेको भए माओवादी अहिलेपनि पहिलो पार्टी हुन्थ्यो ।
अनुसा थापा
भक्तपुर