काठमाडौं, मंसिर २४
पछिल्लो केही समययता राज्य सञ्चालकहरु विदेश जाने क्रम बढेको छ । मुलुकमा विदेश भ्रमणमा जाने लहर चलेको छ । सांसददेखि लिएर स्थानीय जनप्रतिनिधि र सरकारी कर्मचारीहरु जनताले तिरेको करबाट विदेश भ्रमणमा पुगेका छन् । कोही अध्ययन त कोही कार्यक्रममा सहभागी हुन विदेश गइरहेका छन् । उनीहरु त्यहाँ घुम्छन्, हेर्छन् तर त्यहाँ बुझेका कुराहरु यहाँ कार्यान्वयन गर्दैनन् । अन्य मुलुकको विकासबाट हाम्रा जनप्रतिनिधिहरुले किन केही सिक्दैनन् ? काठमाडौं उपत्यकाका जनप्रतिनिधिहरु कार्यक्रमका लागि विभिन्न मुलुक पुगिसकेका छन् । उनीहरुले धेरै मुलुकको विकास नियालिसकेका छन् । तैपनि उनीहरुलाई कुनै प्रभाव परेको छैन् । काठमाडौं उपत्यका नाम मात्रको उपत्यका बनेको छ । अव्यवस्थित शहर र जताततै फोहोर । न फोहोर व्यवस्थापन गर्न सकिएको छ न पानीको पाइपहरु व्यवस्थित छ ।
सडकमै ढल फुटेर यत्रतत्र फोहोर भएको हुन्छ । तर, सरोकारवाला निकायलाई मतलब छैन् । पानीको पाइप र ढल खन्ने नाममा सडक खाल्डाखुल्डी बनाएर छोडिएको छ । साँघुरा फुटपाथ, त्यहीमाथि पसल । सडककै छेउमा वर्कसप सञ्चालन गरिएको छ । तारहरु लत्रिएको अवस्थामा छ । कतै पोलहरु भाच्चिएका छन् त कतै खम्बा ढलेर बसेको छ । बाटोको छेउमा सिसै सिसा भएको घरहरु ठड्याइएको छ । होर्डिङ बोर्डले शहर कुरुप बनाएको छ । अस्तव्यस्त बसोबासका कारण काठमाडौं उपत्यकाका मुलुककै दुर्गन्धित शहर बनेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा दुई पटक मेयरमा निर्वाचित भइसकेका छन् । यता, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन २०७४ सालको निर्वाचनमा पनि विजयी हासिल गरेर मेयर बनेका थिए । ललितपुर महानगरको प्रहरी बलको प्रमुखमा सिताराम हाँछ्थु छन् । मेयर र प्रहरी प्रमुख मिडियाबाजी मात्र गर्छन् । हप्तैपिच्छे पत्रकार सम्मेलन गरेर मिडियाबाजी गर्ने अनि कामचाँहि केही नगर्ने । मेयर महर्जन न सार्वजनिक, गुठी, सरकारी जग्गा खोजतलास गर्छन् न शहर व्यवस्थापनतर्फ नै ध्यान दिन्छन् । काठमाडौं महानगरपालिकाका प्रहरी पनि सुस्ताउँदै गएका छन् ।
काम गर्नुको साटो कुनै बाटोमा गफ ठोकेर बसेका हुन्छन् त कुनै मोबाइल चलाएर । महानगर प्रहरीले शुरुवातमा जसरी काम गरिरहेको थियो, अहिले त्यसको आधा पनि गर्दैनन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का सांसद दुर्लभ थापाको घर सल्लाघारीमा छ । सल्लाघारीमा बिहान र बेलुका पैदलयात्रीलाई निकै सास्ती हुन्छ । फुटपाथ व्यापारीका कारणले पैदलयात्रीहरु सडकको बीचबाट हिँड्न बाध्य छन् । सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा त्यही बाटो हुँदै बिहान र बेलुका कार्यालय आउजाउ गर्छन् । तर, उनको त्यसतर्फ ध्यान जाँदैन् । फुटपाथ हटाउन उनले निर्देशन दिदैनन् । नगरपालिकाका वडाका वडाध्यक्षहरु फुटपाथ व्यवस्थापन गर्न र पैदलयात्रीलाई सहज रुपमा हिँड्ने वातावरण बनाउन चासो देखाउँदैनन् । मेयर थापा आफैं जग्गा दलाली हुन् ।
अधिकांश वडाध्यक्ष पनि जग्गा दलाल नै हुन् । कहाँ सरकारी र गुठीको जग्गा छ भनेर खोज्दै हिँड्नेहरुले नगरपालिकाभित्रको समस्याबारे के जानकारी राख्थें । नगरपालिकाले राखेको प्रहरीहरु एक नम्बरको ‘काम चोर’ छन् । ११ बजे स्कुटर र मोटरसाइकल चढेर कार्यालय आउँछन् । २ बजे टाप कसिहाल्छन् । उनीहरुले काम गरेको सर्वसाधारणले आजसम्म देखेका छैनन् । बसिबसि जनताले तिरेके कर पचाउने काम भइरहेको छ । नगरप्रहरी नै सरकारी गाडी चढ्छन्, अरु त के कुरा गर्नु । आफ्नो नगर क्षेत्रभित्र के भइरहेको छ ? कहाँ सुधार गर्नुपर्ने छ ? जनप्रतिनिधिहरुलाई मतलब नै छैन् । जाडु, कुचोलगायतका सरसफाइका सामानहरु बोकेर हिँड्नुपर्ने नगरप्रहरी स्कुटर र मोटरसाइकलमा हुइकिन्छन् । सडक छेउमा पेट्रोल पम्प छ ।
इन्धन हाल्नका लागि गाडीको लाम मुख्य सडकसम्म आइपुगेको हुन्छ । सडक छेउछाउ जथाभावी गाडी पार्क गरिएको हुन्छ । सडक मिचेर घर बनाएको छ । त्यस्ता घर पनि पालिकाहरुले भत्काउन सकेको छैन् । जनप्रतिनिधिहरु केही नै गर्दैनन् । दिन कटाउने र माना पचाउने काम मात्र भइरहेको छ । पछिल्लो समय बस्ती ह्वात्तै बढेको छ । शहर घरैघरले भरिपूर्ण छ ।
घनाबस्तीका बीच ग्याँसको डिपो राखिएको छ । पेट्रोल पम्प राखिएको छ । केही कारणबस् आगलागी भइहाल्यो भने पालिकाहरुसँग दमकल पनि छैन् । उपत्यकाबाहिरका विभिन्न जिल्लाबाट काम लिएर आएका सर्वसाधारणहरु काठमाडौंमा एकछिन पनि बस्न नसक्ने बताउँछन् । प्रदूषणका कारण श्वास फेर्न गाह्रो हुने उनीहरुको भनाइ छ । माइतीघरदेखि तीनकुनेसम्म बाटोको बीचमा मसिना रुख छन् ।
नभए रुख देखिनै छाडिसकेको छ । कहीँ गएर बसिहालौं भनेपनि खाली ठाउँ छैन् । काठमाडौं उपत्यकामा घाम देखिन छोडिसकेको छ । अग्लो घर हुनेले छतमा बसेर घाम ताप्न पाउँछन् । अन्यलाई घामको मुख देख्न पनि गाह्रो छ । सडक विभागले सडक छेउमा पेट्रोल पम्प राख्न लाइसेन्स दियो । थोरै जग्गामा पेट्रोल पम्प सञ्चालन भएका छन् । यता, पालिका र वडाले थोरै जग्गामा घर बनाउनलाई नक्सा पास गरिदियो । बाटोको छेउछाउ, पेट्रोल पम्प सँगै जोडिएका घरहरु बेच्नेको लर्को छ । तर, कसले किन्ने ? भोलि सरकारले सडक ठूलो बनायो भयो घर जान्छ । यता, पेट्रोल पम्पको छेउ आगलागी हुने डरले अधिकांशले घर बेच्न खोजिरहेका छन् । भाडाका लागि सडकसँग जोडेर घर बनाइयो । अहिले त्यो घरले समस्यामा पारेको छ । शहर व्यवस्थित कसरी बनाउने ? दुर्घटना कसरी कम गर्ने ? प्रदुषण कसरी कम गर्ने ? शहरलाई कसरी हरियो बनाउने ? पालिकाहरुले योजना त बनाउनुपर्यो ।
मुलुकको राजधानी भनिएको छ तर के आधारमा राजधानी भन्ने ? यस्तो अस्तव्यस्त र फोहोर ठाउँलाई शहर भनिन्छ ? जताततै कंक्रिट मात्र छ । हरियो रुखबिरवा देखिनै छोडेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा चार आना दुई पैसाभन्दा मूनि जग्गाको कित्ताकाट नहुने निर्णय भएको थियो । त्योभन्दा कम जग्गामा घर बनाउन नदिने भनेर २०७९ जठे ९ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले साढे दुई आना जग्गाको पनि कित्ताकाट हुने निर्णय गरेको छ । गत साउन ३० गतेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । थोरै जग्गामा पनि घर बनाउन पाउने भएपछि शहर झनै अस्तव्यस्त हुने भयो । घर बनाउनेहरुले न खाली जग्गा छोडेका छन् न बाटोलाई जग्गा छोडेका छन् । बाटो मिचेर घर बनाइएको छ । भूकम्प आयो भने कहाँ गएर बस्ने ? आफ्नो घरमा खाली ठाउँ हुँदैन्, सडकमा बस्ने अवस्था हुँदैन् । घर भत्किएर सबै सडकमा आइहाल्छ । त्यतिबेला खुल्ला ठाउँ खोज्दै टुँडिखेल पुग्नुपर्छ । यस्तो पनि शहर हुन्छ ? बिना योजना बसाइएको शहर घातक हुन सक्छ । अहिले अधिकांशको घरमा पार्किङ छैन् । मोटरसाइकल सडकमा ल्याएर पार्किङ गरिएको पाइन्छ ।
अहिलेको अवस्थालाई मध्यनजर गर्ने हो भने काठमाडौंलाई शहर भन्न मिल्दैन् । काठमाडौं हेरि बाहिरका जिल्ला निकै सफासुग्घर र व्यवस्थित छ । जनप्रतिनिधिहरुले तलबभत्ता खाइरहेका छन् तर काम गर्नतर्फ चासो देखाउँदैनन् । शहर सुन्दर र व्यवस्थित बनाउनु जनप्रतिनिधिहरुको दायित्व हो । यद्यपि, जनप्रतिनिधिहरुले त्यो गर्न सकेनन् । राजधानीमा बस्ती बढेको छ तर त्यसलाई कसरी व्यवस्थापन गर्ने ? जनप्रतिनिधिहरुसँग भिजन छैन् । अझैपनि ख्यालख्याल गर्ने हो भने काठमाडौं उपत्यका झनै कुरुप बन्छ । विस्तारै उपत्यका खाली हुन बेर छैन् । किन कि प्रदुषणले उपत्यकामा बस्न नसकिने अवस्था बनेको छ । गाडीहरु धुँवाको मुस्लो फालेर गुडिरहेका हुन्छन् । वातावरण विभाग, यातायात व्यवस्था विभाग र पालिकाहरुले चेकजाँच गर्दैन् । यस्तो ठाउँमा बसोबास गर्ने आम नागरिकले आफूलाई सुकिलामुकिला भन्न सुहाउँछ ?
अनुसा थापा
भक्तपुर