neapl investment mega bank
  • गृहपृष्ठ
  • कार्तिक नाचमा देखाइयो नृसिंह अवतारको गाथा

कार्तिक नाचमा देखाइयो नृसिंह अवतारको गाथा

Nov 26th, 2023

ललितपुर, मंसिर १०

कार्तिक नाच सुरु भएको ८ औँ दिन नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ । मङ्सिर २ गतेबाट सुरु भएको कार्तिक नाचमा शनिवार राति नृसिंह अवतार (हिरण्यकश्यपु वध) देखाइएको हो । 

वि.स. १६९७ मा सुरु भएको ऐतिहासिक कार्तिक नाचमा भगवान् विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको छ । यो ऐतिहासिक नाच पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरू हरिवंश राजोपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहअनुसार तत्कालीन दरबार चोकभित्र रहेको भगवान् श्रीकृष्णको मन्दिर निर्माण सम्पन्न भएको उत्सव मनाउन पहिलो पटक सुरु गरेको इतिहास छ । 

कार्तिक नाच हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने नृत्य र सङ्गीतमा आधारित भएर देखाइने नृत्य नाटक हो । यो नाच पाटन दरबार स्क्वायरमा अवस्थित कार्तिक डबलीमा मञ्चन गरिन्छ । सुरुमा यो नाच राजा सिद्धिनरसिंह मल्लले ५ दिनको लागि नाशल चोकमा देखाएर यसको शुरुवात गरेका थिए ।

कार्तिक नाच सुरुमा ‘बाथः प्याखँ’ बाट सुरु हुन्छ । यो तीन दिनसम्म देखाइन्छ । त्यसपछि भगवान् विष्णुको विभिन्न कथाहरूमा आधारित नाचहरू प्रस्तुत गरिन्छ । तत्कालीन समयमा देशमा शान्ति, समृद्धि र मनोरञ्जनको हेतुले यो नाच सुरु भएको मानिन्छ । कुनै समय कार्तिक महिनामा २७ दिन अर्थात महिना दिनसम्म देखाइने हुँदा यो नाच कार्तिक नाचको नामले परिचित छ । 

परापूर्व कालमा कार्तिक महिनाभर मनाइँदै आएको उक्त नाच पछिल्ला वर्षहरूमा विविध कारणले गर्दा केही दिन मात्र देखाउन थालिएको छ । यस वर्ष मङ्सिर २, ३ र ४ गते बाथः प्याखँ, ५ गते युद्ध कला (शितज्वर-विषमज्वर युद्ध, महादेव/कृष्ण युद्ध), ६ गते देवी प्याखँ, ७ गते ज्ल शयण, ८ गते बराह अवतार, ९ गते नृसिंह अवतार, १० गते वस्त्रहरण लीला, ११ गते दधि लीला देखाइनेछ ।