काठमाडौँ १६ असाेज
नेपालको आर्थिक वृद्धिदर सुधार हुने विश्व बैंककाे प्रक्षेपण छ । विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गरेको प्रतिवेदनमा आयात प्रतिबन्ध हटेको, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपन लगायतका कारणले सन् २०२४ मा नेपालको अर्थतन्त्रको वृद्धिदर तीन दशमलव नौ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।
‘नेपाल विकास अपडेटः निर्यातको प्रतिस्पर्धात्मकता पुनःस्थापना’ प्रतिवेदनले सन् २०२५ सम्ममा नेपालको अर्थतन्त्र पाँच प्रतिशतले बढ्ने अनुमान पनि गरेको छ । साथै प्रतिवेदनले अनियमित वर्षाका कारणले कृषि उपज उत्पादनको वृद्धिमा हुनसक्ने क्षति, भारतको निर्यात प्रतिबन्ध र उपभोग्य वस्तुमा पछिल्ला दिनमा आकासिएको मूल्यका कारण हुनसक्ने मूल्यवृद्धि र उच्च मुद्रास्फीतिका कारण बढ्दै जाने नीतिगत दर, आन्तरिक ऋण व्यवस्थापन खर्च र वृद्धिमा हुनसक्ने ढिलासुस्तीलगायतका जोखिमहरू पनि विद्यमान रहेकोतर्फ ध्यानाकर्षण गराएको छ ।
नेपालको निर्यात न्यून हुनुमा विद्यमान न्यून श्रम उत्पादकत्व र विनिमय दरको अभिमूल्यन लगायत कारक रहेको प्रतिवेदनमा उल्लेख छ । साथै, समकालीन देशहरू र मुख्य व्यापार साझेदार भारतको तुलनामा कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा रहेको श्रम उत्पादकत्वको गिरावटबाट पनि नेपाल प्रभावित रहेको औंल्याइएको छ ।