काठमाडौ ९ असोज
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार भएको द्वीपक्षीय औपचारिक वार्तापछि नेपाल र चीनले १३ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्।
मंगलबार जारी गरिएको संयुक्त वक्तव्यमा दुई देशका प्रधानमन्त्रीबीच नेपाल(चीन सम्बन्धका विविध आयामबारे गहिरो छलफल भएको उल्लेख छ। नेपालले हस्तक्षर गरेको चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्सअन्तर्गतका परियोजना अघि बढाउन दुबै पक्ष सहमत भएका छन्।दुबै पक्षले ऊर्जा क्षेत्रमा विशेष गरी जलविद्युतको क्षेत्रमा मिलेर काम गर्ने बताएका छन्।
नेपालको आवश्यकताअनुसार अरनिको राजमार्गको चौथो चरण मर्मत सम्भार गर्न चिनियाँ पक्ष सहमत भएको छ। रसुवागढी(स्याप्रुवेशी सडक पनि नेपाली पक्षले साइट क्लियर गरेपछि चीनले मर्मत गरिदिने भएको छ।
त्यस्तै टोखा(छहरे सुरूङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिन सहमत भएका छन्। चक्रपथ विस्तारको दोस्रो चरणको कामको पनि गत बढाउने बताइएको छ ।
केरूङ(काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनमा दुबै पक्षले सन्तुष्टि जनाउँदै नेपाल(चीन रेलवे सहकार्यका लागि जति सक्यो चाँडो आठौं बैठक बस्न सहमत भएका छन्। नेपालका रेलवे कर्मचारीलाई तालिम दिन चीन तयार भएको छ।