– दाने बोहरा
सिमकोट, २७ मङ्सिर (रासस)
हुम्लाका उच्च हिमाली क्षेत्रका लामा बस्ती यतिबेला सुनसान हुन थालेका छन् । चिसो अत्यधिक बढेपछि नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका लामा समुदाय बसोबास गर्दै आएका बस्तीहरु सुनसान भएका हुन् । उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ का तिल जाङ्घ, हल्जि र लिमीका बासिन्दाहरु चिसो छल्न र व्यापार व्यवसाय गर्न जिल्ला बाहिर निस्किएका हुन् ।
जिल्लाका उत्तरी सीमा क्षेत्रमा रहेका प्रहरी चौकी सदरमुकाम सिमकोट सारिएका छन् । नाम्खा गाउँपालिकाका हिल्सा प्रहरी चौकी र लिमी प्रहरी चौकी जिल्ला सदरमुकाम सिमकोट आइपुगेका छन् । हिल्सामा होटेल व्यवसाय गर्दैआएका व्यवसायीहरु पनि चिसो छल्न बेंसीतिर झरेका जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
उत्तरी नाम्खा गाउँपालिकाका तिल, जाङ्ग, हल्जि गाउँमा हिमपात भएको छ । लेकमा रहेका भेडीगोठ बेंसी सारिएका छन् । तिब्बतबाट बहने चिसो सिरेटोका कारण बिहान, बेलुका, घाम नलागेको दिन र रातको समयमा बढी चिसो हुने गरेको त्यहाँका स्थानीय बासिन्दाले बताउने गरेका छन् । हरेक वर्ष मङ्सिरको दोस्रो सातासम्म उपल्लो हुम्लीहरु सबै बेंसी झर्ने गर्दछन् । चिसो छल्न निस्किएका यहाँका स्थानीय बासिन्दा र प्रहरी चौकी कार्यालय फागुन, चैततिर पुनः गाउँ फिर्ता हुने गर्दछन् ।
लिमाटाङ्ग गाउँ नै सुनसान
सिमकोट गाउँपालिका वडा नं ३ ९साविक ७, ८ र ९० मा पर्ने लिमाटाङ्ग गाउँ सुनसान बनेको छ । कुल ४५ घरधुरी रहेको लिमाटाङ्ग गाउँमा एक जना घर कुरुवा बाहेक दुई÷तीन वर्षयतादेखि अरु कोही पनि नबसेको स्थानीयवासी ज्याम्फाल लामाले बताए । वृद्ध लामाका अनुसार आफ्नो परिवारका सबै सदस्य शहर पसेपछि उनी एक्लो घर कुरेर बसिरहेका छन् ।
धार्मिक आस्था र परम्परालाई भुल्न नसकेर र घर, जग्गा एवं पशुवस्तुको मायाले गाउँ छोड्न नसकेको उनले बताए ।
आफू जवान हुँदा ५० देखि ६० वटासम्म चौरी पालेको अनुभव सुनाउने लामाले यतिबेला गाउँमा चौंरीको नाम लिने मान्छे नै नभएको बताए । लिमाटाङ्ग गाउँका अधिकाँश स्थानीय बासिन्दाले चौरी, भेंडा, घोडा, खच्चर पाल्न छाडेका छन् ।
उच्च हिमाली क्षेत्रमा बस्दैआएका लामाहरु भेंडाबाख्रा पाल्ने र मङ्सिर महिनातिर अछाम झरेर चामल, गहुँ, भटमास जस्ता खाद्यान्न खरिद गरेर लैजाने गर्छन् । उनले भने – “हाम्रो पालामा सबैका घरमा भेंडाबाख्रा हुन्थे र अहिले सबैले बिक्री गर्दै गाउँ छाडेका कारण भेंडाबाख्रा देखिन छोडेका छन् ।” कतिपय हिउँदको समयमा भोट जान्थे र भोट जाने भोटे भएकाले उनीहरुले भोटे भनेर सम्बोधन गरिन्थ्यो ।
लामाले भने – “सबैले शहर रोजेपछि अहिले गाउँमा रहेका जग्गा र अधिकाँश घर दलित समुदाय र छिमेकी गाउँका बासिन्दाले चर्चेर आएका छन् । उहिले हामी पढाइभन्दा पनि सम्पत्ति कसरी आर्जन गर्न सकिन्छ भन्ने सोच्थ्यौं, त्यही बाउबाजेको पेशालाई अङ्गाल्यांै । अहिले सबैका छोराछोरी पढलेख गरेर शिक्षित बने । हामीले जस्तो दुःख गर्न चाहेन र शहर पसे ।”
संस्कृति जोगाउन मुश्किल
लामा समुदायको पहिचान काम्लो, रातो काम्लो, बोख्खु, खुट्टामा पुरुषले लगाउने दोच्छा, महिलाले लगाउने लाम, मोजासमेत गाउँमा देखिन छोडेको छ । भेंडाबाख्राको ऊनबाट हातले आफैंले बुनेका यी सामग्रीको अहिले महङ्गो मूल्य पर्ने गरेको लामाले बताए । लामाले भने – “हिउँदको समय शुरु भएपछि पुरुषहरु ऊन कात्ने र महिलाहरु चान बुन्ने गर्दथे तर, अहिले यो परम्परा हराएको छ ।” शहरबाट भित्रिने कपडाले स्थानीय उत्पादनलाई विस्थापित गरिसक्यो ।
लिमाटाङ्ग गाउँमा हुने गहुँ, जौ, तीतो फापर, फापर, कालो जौ, आलु, कोदोका बालीहरु पनि लगाउन छाडिए । गाउँमा खनजोत गर्ने मान्छे नै भेटिन छाडेका छन् । आफूहरुले प्रयोग गर्ने काठका भाँडाकुँडा समेत हराउन थालेको उनले बताए । उनले भने – “एक चिण्डो जाँड, टसि खादक लिएर मागी बिहे गर्ने चलन पनि हराइसक्यो ।”