काठमाडौँ २० भदौ
महालेखापरीक्षकको रिक्त रहेको पदको लागि इतिहासमै पहिलोपटक महिलाको दाबेदारी परेको छ । महलेखापरीक्षकको लागि सेवा निवृत्त उपमहालेखापरीक्षक राममाया कुँवरको दाबेदारी परेको हो । महालेखापरीक्षक ६५ वर्षे इतिहासमा पहिलो पटक महिला उमेद्वारले आफ्नो दाबेदारी परेको छ । महालेखापरीक्षकको लागि १६ जनाले दाबेदारी प्रस्तुत गरेका छन् जसमा उनी मात्र महिला हुन् अरु १५ जना पुरुष छन् ।
गत साउनमा महालेखापरीक्षकको कार्यालयबाटै सेवा निवृत्त भएकी कुँवरले निवर्तमान महालेखापरीक्षक टङ्कमणि शर्मा दंगाल पछि केही समय कार्यवाहकको रूपमा भूमिका निर्वाह गरेकी थिइन् । उनले जेठ ८ गतेदेखि महालेखापरीक्षकको कार्यालयमा कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।
कुँवरले नेपाल सरकारको राजत्रांकित विशिष्ट श्रेणी अर्थात सचिव सरहबाट पाँच वर्षे सेवा अवधि पूरा गरेर साउन २२ गतेदेखि अनिवार्य अवकाश पाएकी थिइन् । महालेखापरीक्षकको कार्यालयमा २० वर्ष कार्य गरेकी राममाया कुँवरले महालेखापरीक्षकको अब्बल उमेदवार हुन् । निजामती सेवामा ३१ वर्षको कार्य अनुभव बटुलेकी कुँवरले मुखियादेखि सचिवसम्मको जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।
महालेखापरीक्षकको कार्यालयमा लामो समय काम गरेको अनुभव र कार्यवाहक महालेखापरीक्षक समेत भइसकेकाले उनलाई महालेखापरीक्षकको प्रमुख दाबेदार मानिएको छ । २०४९ साल जेठ १ मा वन विभागमा मुखिया पदबाट निजामती सेवामा प्रवेश गरेकी राममायाले २०५३ सालमा खरिदार पदमा नाम निकालिन् भने २०५९ साल चैत्रमा शाखा अधिकृतका रूपमा महालेखापरीक्षकको कार्यालयमा प्रवेश गरेकी थिइन् । २०६७ सालमा उपसचिव र २०६९ मा सहसचिव हुँदै २०७५ साउन २३ गते विशिष्ट श्रेणी अर्थात् सचिवसरह उपमहालेखापरीक्षकमा बढुवा भएकी थिइन् । आफ्नो ऊर्जाशील समय नै महालेखापरीक्षकको कार्यालयमा खर्चिएकोले त्यही कार्यालयमा प्रमुख भएर आउने तिब्र अभिलासका साथ आफ्नो दाबेदारी प्रस्तुत गरेकी राममाया आफूले आर्जन गरेको ज्ञान, सिप, र अनुभवलाई नेपालको लेखा परीक्षण प्रणालीको सुधारमा केन्द्रित गराउन निरन्तर सकृय रहने बताउँछिन् ।