काठमाडौं, भदौ १३
सर्वसाधारण चनाखो र राज्य जिम्मेवार नहुँदा यहाँ लाखौं सुकुम्बासी हुने देखिएका छन् । आफुसँग भएको जायजेथो गुमाउँदा करोडपतिहरु सडकपति बन्ने अनुमान लगाउन थालेका छन् । बैंक तथा वित्तिय संस्थाले कर्जा ठप्प पारेपछि मीटरब्याजी सल्बलाएका छन् । सरकारले मीटरब्याजसम्बन्धी कानुन बनाएर राजपत्रमा प्रकाशित गरिसकेको छ । तरपनि मीटरब्याजमा पैसा लिने र दिने क्रम रोकिएको छैन् । बाहिरी जिल्लामा मात्र नभएर काठमाडौं उपत्यकामा समेत मीटरब्याजको धन्दा मौलाएको छ । मीटरब्याजीसम्म पुर्याउने दलालीहरु छ्याप्छ्याप्ती भएका छन् । सोझासाझीको आवश्यकताको फाइदा उठाउने र उनीहरुलाई फसाउने कार्यले व्यापक रुप लिने देखिएको छ । अहिले बजारमा आर्थिक मन्दी छ । पैसाको अभावले सबैलाई च्यापेको छ । सहकारी भाग्दा आम सर्वसाधारण मर्कामा परेका छन् । बैंकले लामो समयदेखि कर्जा रोकेको छ ।
जसका कारण सर्वसाधारण मीटरब्याजीको शरणमा पुग्न बाध्य भएका छन् । मीटरब्याजीहरुको धन्दा फेरि मौलाएको भनि अहिले बजारमा व्यापक चर्चा चलेको छ । करोडको धितो लाखमा पास गरेर लिने, पास गर्दा लागेको रकम पनि त्यही निमुखालाई तिर्न लगाउने । दलालीलाई दिनुपर्ने पैसा छुट्टै छ । यता, पछि पैसा चुक्ता गरेपछि घरजग्गा आफ्नो नाममा फिर्ता ल्याउन पनि आफैंले पैसा हाल्नुपर्छ । यता, मासिक तिर्नुपर्ने ब्याज पनि छुट्टै छ । थोरै रकमका लागि आम सर्वसाधारणले यति धेरै पापड बेल्नुपरेको छ । दोहोरो कागज नगरिएको हुनाले कतिपयले जायजेथो नै फिर्ता गर्न चाँहदैनन् । करोडको धितो लाखमै पचाउन पाए हुन्थ्यो भन्ने लोभ उब्जिनु त स्वाभाविकै हो । सीधासाधी जनतालाई ललाईफकाई, अप्ठ्यारोमा परेकोको फाइदा उठाएर महगो ब्याजमा ऋण दिने, जायजेथो खाइदिनेलगायतका काम गर्न पाइँदैन् ।
कानुनले दश प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने स्पष्ट पारेको छ । ५० लाखभन्दा माथिको घरजग्गा किनबेच गर्दा पैसाको स्रोत देखाउनुपर्छ । कहाँबाट पैसा ल्याएर घरजग्गा किनिएको हो ? सरकारले यसको निधिखोजी गर्छ । उक्त रकमभन्दा कम मूल्यको घरजग्गा किन्दा स्रोत देखाउनुपर्दैन् । बैंक र सहकारीबाट जजसले बेलैमा पैसा निकालेर घरमा राखेका थिए, उनीहरुले सो रकम यसरी लगानी गरेका हुन् । करोडको धितो ४०–४५ लाखमा पचाउन पाइने, सरकारले सम्पत्ति पनि नखोज्ने अनि महिनैपिच्छे ३६ प्रतिशतका दरले ब्याज पनि आउने । तोकिएको अवधिमा ऋण चुक्ता गरेन् भने करोडको सम्पत्ति खान पाइहालियो, कति आनन्द । जसले पैसा लगानी गर्छ, उसले सीधा आपतमा परेकासँग भेट्दैन् । दलालीमार्फत काम गरिन्छ । कमिशन दिन्छु भनेर दलालीहरु खटाइएको हुन्छ ।
जेथो छ तर पैसाले फिटीफिटी परेकाहरु पनि त्यही दलालीकै पुग्छन् । ऋण दिने भएपनि खोजिदिन्छु, भन्छन् । दलालीलाई दुवैतिरबाट कमिशन आउने । बिचौलियाले नै सम्पूर्ण प्रोसेस गर्छ । पैसा लिने र दिनेको त भेटै हुँदैन् । पछि मालपोतमै भेट्छन् । जसलाई आफुले चिनेकै हुँदैन्, त्यस्तामाथि विश्वास गरिन्छ । आपतको फाइदा उठाउने यहाँ धेरै छन् । यहाँ आपतमा सहयोग गर्नेहरु होइनन्, कमाउन खोज्नेहरु मात्रै छन् । चिन्दैनचिनेकोमाथि विश्वास गरेर घरजग्गा नै पास गरेर दिनुलाई के भन्ने ? भोलि कानुनले त घरजग्गा पास गरेर लैजाने नै माथि पर्छ । किन कि उसले त धितो आफ्नो नाममा ल्याइसकेको हुन्छ । यस्ता व्यक्तिको धन्दा मौलाउनुको पछाडि सरकारकै कमीकमजोरी छ । पहिले बैंकले कर्जा दिन्थ्यो, त्यही भएर सर्वसाधारणलाई धेरै सहज भएको थियो । अहिलेको अवस्था त त्यो छैन् ।
६ महिनामा बैंकबाट कर्जा मिलाउँछु भनेर सोचेझैं सजिलो छैन् भन्ने कुरा सर्वसाधारणले बुझेका छैनन् । कसैलाई छोराछोरी विदेश पठाउनु छ, कसैलाई उपचार गर्न पैसा चाहिएको छ । कसैलाई त बैंकले नै कर्जाका लागि च्यापेको च्यापै होला । अनि अन्तिम विकल्प यही मीटरब्याजीहरु बने । ६ महिनामा तिरिहाल्छु भनेर लिन्छन् तर जायजेथो नै गुमाउनुपर्नेसम्मको अवस्था आउन सक्छ । बाध्य भएर आफ्नो सम्पत्ति छोड्नुपर्ने हुन्छ । करोडपतिहरु रोडपति बन्न क्षणिक पनि लाग्दैन् भनेर त्यसै भनिएको होइन् । हतारोमा निर्णय गर्दा वा एकछिनको समाधान खोज्दा घरपरिवार नै लथालिङ्ग बन्न सक्छ । पैसा माफियाहरुको हातमा गएको छ । तर, त्यो पैसा बजारमा ल्याउन सरकारसँग कुनै योजना छैन् । न पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन सक्छ न कुनै ठोस् कदम चाल्न सक्छन् ।
एकातिर राज्यले राजश्व पाउन सकेको छैन्, अर्कोतिर जनता रातारात सुकुम्बासी बन्ने देखिएको छ । बैंक र सहकारी उही रफ्तारमा चल्छ भनेर सर्वसाधारणले धमाधम ऋण लिए । एउटा बैंकले टाइट गर्यो भने अर्को बैंकमा ऋण सार्छौं भन्ने सोच ऋणीहरुको थियो । उनीहरुले ऋण लिएर घरजग्गामा लगानी गरे, गाडी किने, सेयर खरिद गरे । तर, अहिले त बजारमा व्यापक आर्थिक मन्दी छायो । बैंक तथा वित्तिय संस्थाले ऋण दिन त छाडि नै हाल्यो । साथै, एउटा बैंकको ऋण अर्को बैंकमा ट्रान्सफर गर्न पनि पाइएन् । धितो बेचौंभन्दा बिक्दैनन्, अनि के गर्ने ? यस्ता पैसा चलाउनुपर्ने बाध्यता त सर्वसाधारणमाथि जाइलाग्यो । नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले सहज कर्जा दिने वातावरणसमेत सिर्जना गर्न सकेन् । यस्तै पारा रह्यो भने धेरै सुकुम्बासी बन्छन् ।
बजारमा मन्दी छ भन्ने कुरा प्रधानमन्त्री, उद्योग व्यवसायी र सर्वसाधारणलाई थाहा छ । तर, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र अर्थमन्त्री डा प्रकाशशरण महतलाई चाँहि जानकारी छैन्जस्तो छ । नत्र कुनै न कुनै एक्सन त लिनुपर्थ्यो । सरकारले दुई हजारको नोट निकाल्न ढिलाइ गरिरहेको छ । जसले गर्दा सीधासाधी जनता मीटरब्याजीको जालोमा फसिरहेका छन् ।
दुई हजारको नोट निकाल्नेबित्तिकै घरमा लुकाएर राखेको पैसा काम नलाग्ने हुन्छ । कि त लगेर गाड्नुपर्छ कि सरकारलाई बुझाउनुपर्छ । होइन् भने पाँच लाखभन्दा माथिको सम्पत्ति खरिदबिक्री, नामसारी गर्दा स्रोत खोज्नुपर्छ । सरकारमा बस्नेहरुको हानाथापले गर्दा धेरैको घरखेत उड्ने भएको छ । सबै निकाय एकजुट भएर लाग्ने हो भने मात्रै समस्याको समाधान निस्किन्छ ।
नत्र शोषक सामान्तीहरुले अरुलाई सुकुम्बासी बनाएर कमाउँछन् ।
जोसँग आम्दानीको स्रोत छैन्, धितो छैन् त्यसलाई विगतदेखि नै बैंकले कर्जा दिँदैन् । उनीहरु मीटरब्याजमै पैसा चलाउँथे । तराईंको घटनाले त यो कुरालाई पुष्टि गर्यो । पहिले तराईंमा यो समस्या थियो, अहिले देशभर नै देखिएको छ । बैंक तथा वित्तिय संस्था सर्वसाधारण केन्द्रीत नबनेसम्म यो समस्या देखिरहन्छ । केही व्यक्तिले बैंकमा कब्जा जमाउँदा पनि यो अवस्था देखिएको छ । भाटभटेनी साहु मीनबहादुर गुरुङ्ग, दुर्गा प्रसाईंलगायतले बैंकबाट कर्जा पाउँदा जनताले किन पाएनन् ? यहाँ पनि सरकारकै कमजोरी देखिएको छ । राष्ट्र बैंक र अर्थ मन्त्रालयले बैंकहरुलाई सर्वसाधारणप्रति उत्तरदायी बन्नुपर्छ भनेर सिकाउन सकेन् । जसले गर्दा सर्वसाधारणले सम्पत्तिदेखि लिएर ज्यानसमेत गुमाए ।
मीटरब्याजीले दिएको तनावका कारण तराईमा धेरैले आत्महत्या गरे । सरकारले बैंक र सहकारी खोल्न लाइसेन्स दियो तर नियमन गरेन् । सर्वसाधारणलाई सेवा दिऔं, आपतमा परेकालाई कर्जा दिऔं भनेर सरकारले भन्यो तर, बैंक तथा वित्तिय संस्थाले टेरेनन् । सर्वसाधारणलाई मुलुकमा बैंक तथा वित्तिय संस्था भएको महसुश भएन् । सरकार छ ? भनेर प्रश्न गर्नुपर्ने अवस्था छ । राजनीति परिवर्तन भयो तर शोषकीहरु हट्न सकेनन् ।