काठमाडौं, साउन २७
काठमाडौंमा धेरै मेयर आए र गए । आफ्नो अह्म भोट दिएर काठमाडौंबासीले काठमाडौंको अभिभावक चुने । नानीमैया दाहाल, पिएल सिंह, केशव स्थापित, विद्यासुन्दर शाक्य यसअघिका मेयर हुन् । काठमाडौंबासीले उनीहरुमाथि विश्वास गरेर मतदान गरे । तर, त्यो मत खेर गयो । किन कि उनीहरुले सिन्को पनि भाँचेनन् । काठमाडौंका जनताले कुनै सेवासुविधा पाएनन् । न उनीहरुले विकास नै देख्न पाए । मुलुकको राजधानी भनिएपनि काठमाडौंको अवस्था निकै नै दयनीय छ । अन्य जिल्लाको तुलनामा काठमाडौं शिक्षित व्यक्तिहरुको थलो हो । तैपनि काठमाडौंको विकास हुन सकेको थिएन् । किन कि काठमाडौंले सही नेतृत्व नै पाएन् । काठमाडौंबासीले पटकपटक राजनीतिक पार्टीबाट उठेका उम्मेदवारलाई जिताए । हरेक पटक नयाँ अनुहार फेरिएपनि काठमाडौंको अनुहार फेरिएन् । राजनीतिक दलबाट आजित भएका काठमाडौंबासीले २०७९ वैशाख ३० गतेको चुनावमा स्वतन्त्र उम्मेदवारलाई विजयी गराए ।
उनीहरुले बालेन्द्र शाह ‘बालेन’ लाई आफ्नो मेयर चुने । चुनाव जितेपछि पनि बालेनलाई त्यति सहज थिएन् । उनी राजनीतिक पार्टीको बीचमा घेरिएको थियो । स्वतन्त्र उम्मेदवारले जितेको देख्न नसकेका राजनीतिक पार्टीहरुले बालेनलाई असफल गराउन हरकोशिस गरे । फोहोरमै राजनीति भयो । काठमाडौंका सडक– सडकमा फोहोर थुप्रियो । तर, यसका उनको कुनै कसूर थिएन् । उनले भोट माग्न जाने बेलैमा बाटोभरि फोहोर थियो । गल्ली–गल्लीमा फोहोर थुपारिएको थियो । चुनावअघि मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्की थिए । तर, उनीहरुले फोहोर उठाउन सकेका थिएनन् । उनीहरुको काम गर्ने क्षमता पार्टीले नै देखेको थियो । जसका कारण पार्टीले नै पत्याएन् र टिकट दिएन् । जनताले भोट दिँदैन् भन्ने कुरा पार्टीलाई पहिल्यै थाहा थियो । एमालेले मेयरमा केशव स्थापित र कांग्रेसले सिर्जना श्रेष्ठलाई टिकट दियो । तर, काठमाडौंका जनताले दुवैलाई पत्याएनन् ।
सिँधै बालेनलाई भोट दिए । कलिला उमेरका बालेनसंग राजनीतिक अनुभव नहोला तर उनीसंग काम गर्ने क्षमता छ । राजनीतिक पार्टीका नेताहरुले बालेनलाई जसरी पनि जनताको नजरबाट नङ्गाउनुपर्छ र २०८४ सालको चुनावमा हामीले नै जित्नुपर्छ भनेर रणनीति तयार पारे । राजनीतिक दलका नेताहरुले बञ्चरेडाँडाका स्थानीयलाई उचाले । पहिलो चरणमै उनीहरुले बालेनलाई असफल बनाउन खोजे । बालेनले मेयरको शपथ लिने बेलामा भनेका थिए,‘म फोहोर नउठाईकन माला लगाउँदिन ।’ जति अवरोध गरेपनि बालेनले फोहोर उठाएरै छाडे । यद्यपि, उनले अहिलेसम्म पनि माला लगाएका छैनन् । अन्य नगरपालिकाका जनप्रतिनिधिहरु चुनाव जितेदेखि अहिलेसम्म फूलमाला लगाउन र रिबन काट्नमै व्यस्त छन् । जुनसुकै व्यक्ति वा संस्थाले आयोजना गरेको कार्यक्रम भएपनि जाने अनि उद्घाटन गर्ने । फूलमाला लगाउने, भाषण ठोक्ने तर काम नगर्ने । तर, बालेन ठ्याक्कै त्यसको विपरीत छन् ।
न उनी कसैले बोलाएका कार्यक्रममा जान्छन् न उनले रिबन नै काटेको देखिन्छ । उनी महानगरलाई सफा र विकसित महानगर बनाउन लागिपरेका छन् । काठमाडौंमा फुटपाथ व्यापारको एकदमै समस्या थियो । कसैले हटाउन नसकेको फुटपाथ उनले हटाएरै छाडे । गुजुल्टिएर बसेको तारहरु धमाधम व्यवस्थापन गर्न थालिएको छ । शहर पहिलेभन्दा धेरै सफा देखिन थालेको छ । राजस्व नतिर्नेलाई उनले करको दायरामा ल्याउन थालेका छन् । सरकारी, सार्वजनिक, गुठी, खोला अतिक्रमण गरेर बनाइएको संरचना धमाधम हटाइँदै छ । निजी विद्यालयले अनिवार्य छात्रवृत्ति दिनुपर्ने निर्णय गरे । नदिनेको नाम नै सार्वजनिक गरिदिए ।
सरकारले सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई १५ रुपैयाँ खाजा दिँदै आएको छ । उनले १० रुपैयाँ थपेर २५ रुपैयाँ बनाइदिए । काठमाडौंमा जताततै सवारी साधन पार्क गर्ने गरिएको थियो । जसका कारण पैदलयात्रीलाई हिँड्न सास्ती भइरहेको थियो । अव्यवस्थित सवारी पार्किङ्गका कारण काठमाडौं अस्तव्यस्त देखिन्थ्यो ।
उनले पार्किङ्गका लागि बनाइएका बेसमेण्टमा पार्किङ्ग नै गर्नुपर्ने भनेर कडाइ गरे । बेसमेण्टमा सञ्चालन हुँदै आएको व्यापार व्यवसाय हटाइयो । यता, बसपार्कबाटै गाडी सञ्चालन गर्नुपर्ने निर्णय गरिएको छ । त्यस्तै, विभिन्न ठाउँमा सञ्चालित टिकट काउण्टरलाई बसपार्कभित्र सार्न उनले निकै प्रयत्न गरिरहेका छन् । काठमाडौंका विभिन्न ठाउँमा सुकुम्बासी बस्ती छ । सुकुम्बासी बस्तीले गर्दा नदीनाला फोहोर भएको छ । थापाथली, गैरीगाउँ, सिनामंगल एरियामा भएका सुकुम्बासी हटाउन महानगरले निकै जोडबल गर्यो र अहिलेपनि गरि नै रहेको छ । तर, राजनीतिक दलहरुले त्यहाँ भोटको खेती गर्दै आएको हुनाले महानगरलाई अलिक अप्ठेरो परेको छ ।
काठमाडौंका अधिकांश घर बहालमा लगाइएको छ । तर, घरधनीहरुले घर बहाल कर छल्दै आएका थिए । उनले घर बहालमा लगाउनुअगावै सम्झौता गर्नुपर्ने भनि कानुन नै बनाइदिए । जसले गर्दा महानगरले कर पनि विगतको तुलनामा बढी उठायो । काठमाडौंमा दुई हजारभन्दा बढी सहकारी दर्ता छन् । उनले बचतकर्ताको निक्षेप फिर्ता नगर्ने सहकारीको दर्ता खारेज गर्ने र सञ्चालकलाई कानुनको दायरामा ल्याउने चेतावनी दिए । उनले गरेको राम्रा कामको लिष्ट लामै छ । राजनीतिक दबाबलाई मतलब नगरेर उनले आफ्नो कामलाई महत्व दिए । उनी जनताका लागि आएका थिए, त्यसैले उनलाई अन्य कुराले फरक नै पारेन् ।
जसले बालेनलाई असफल बनाउन खोजेका थिए, उनीहरु नै असफल भए । राजनीतिक दलहरुले उचालेर कमलादीमा खोलामाथि बनेका घर भत्काउन रोके । बालेनले त्यहाँको खोला पहिलेकै अवस्थामा ल्याउँछन् भन्नेमा जनता विश्वस्त छन् । उनले सुकुम्बासी पनि हटाएरै छोड्ने देखिन्छ । भूमाफियाहरुले सरकारी, गुठी, मठमन्दिरका जग्गा दर्ता गरेर व्यक्तिको नाममा लगेका छन् । बालेनले त्यो पनि सरकारकै नाममा ल्याउलान् । नेपालमा जस्तो पनि हिन्दी फिल्म चलाउँदै आइएको थियो । राष्ट्र र राष्ट्रियतामाथि आघात पुग्ने फिल्म पनि चलाउने गरिएको थियो । उनले त्यस्तो हिन्दी फिल्म चलाउन रोके ।
काठमाडौंबासी बालेनप्रति गौरन्वित महसुश गर्छन् । आफ्नो भोट खेर नगएकोमा उनीहरु खुसी छन् । शहर सुन्दर बनाउन उनी जुन जाँगरका साथ लागिपरेका छन्, त्यो अन्य मेयरमा पनि हुने हो भने देश विकास हुन कति बेर लाग्छ ? होडिङ्ग बोर्डलाई करको दायरामा ल्याउने काम पनि भइरहेको छ ।
देशलाई बालेनको खाँचो छ भनेर जनताहरु आवाज उठाउन थालिसकेका छन् । उनले बोल्दै नबोलीकन भटाभटी काम गरे । जनतामा उनको ‘क्रेज’ देखेर राजनीतिक दलका ठूल्ठूला नेता डराउनुपर्ने भएको छ । झुठ्ठा भाषण गर्ने, काम केही नगर्नेहरुलाई बालेनले चुनौती दिएका छन् । बालेनलाई भर्याङ बनाएर राजनीतिमा प्रवेश गरेकाहरुको पत्तासाफ हुँदै गएको छ । जनताले बोल्ने होइन्, काम गर्ने खोज्छन् भन्ने त प्रमाणित भइसकेको छ । देशैभरी बालेन र महानगर प्रहरी प्रमुख राजु पाण्डेको चर्चा छ । महानगर प्रहरीमा कति बल हुँदो रहेछ ? भन्ने कुरा बल्ल थाहा हुँदै छ । मेयरले दिएको निर्देशनबाट उनी पछाडि हटेनन् ।
उनले हरेक आदेश मानेका छन् । डोजर लिएर ‘फिल्ड’ मा निस्किदा उनलाई पनि डर हुन्छ होला । तर, उनले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् । सामाजिक सञ्जालमा महानगर प्रहरीकै चर्चा छ । भुरादेखि बुढासम्मले बालेन भन्न थालेका छन् ।
महानगर प्रहरीको चर्चा चलिरहँदा अन्य स्थानीय तहका नगर प्रहरी कहाँ छन् ? कुनै अत्तोपत्तो छैन् । काम गरेको भएपो जनताले पनि नाम लिन्छन् । सबैले मेयर त पाए तर, काठमाडौंको जस्तो काम गर्ने मेयर कसैले पाएनन् । जनप्रतिनिधि, कर्मचारी र नगरप्रहरीले मिलेर भटाभट काम गर्ने हो भने देश विकास हुन बेर लाग्दैन् । काठमाडौं महानगरपालिकाले यो उदाहरण दिइसकेको छ । अन्य स्थानीय तहले पनि यो कुरा सिक्नुपर्छ ।