काठमाडौं, साउन २६
संखुवासभा कारागारमा २ कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जना प्रहरी पक्राउ परेका छन्। घटनामा प्रहरी नै संलग्न देखिएपछि कारागार सुरक्षामा खटिएका असईसहित १० जना प्रहरीलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामी जेलभित्रै कुटपिटबाट मारिएका थिए।
बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामी कारागारबाट भाग्ने प्रयास गरेका थिए ।
सुरक्षा घेराभित्र दुईजना कैदीको शंकास्पद अवस्थामा मृत्यु भएपछि घटना अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय (विराटनगर) बाट प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय समिति संखुवासभा पुगेको छ।