ललितपुर, २३ साउन
राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले कोञ्ज्योसोम गाउँपालिकाका ४३ भूमिहीन दलित, सुकुम्बासी परिवारलाई निस्सा वितरण गरेको छ ।
वडा तहबाट पालिका हुँदै सङ्कलन भएको तथ्याङ्कका आधारमा आयोग जिल्ला समितिले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, पालिकाको प्रमुख प्रशासकीय अधिकृतसहितको उपस्थितिमा निस्सा वितरण गरिएको हो ।
राष्ट्रिय भूमि आयोगका ललितपुर जिल्ला संयोजक श्रीगोविन्द महर्जनले भूमिहीन तथा सुकुम्बासीलाई जग्गा वितरण गर्न कुनै समस्या नरहेको बताएका छन् ।
कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले पालिकाभित्रका सबै सुकुम्वासी, भूमिहीनलाई जग्गा वितरणका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरसँग समन्वय गरेर चाँडै टुङ्गोमा पुर्याउने बताए ।