काठमाडौँ २१ साउन
राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिएकाे छ । विभागले आइतबार सुन प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरू प्रहरीलाई जिम्मा लगाएको हो ।
विभागले आइतबार सम्पूर्ण फाइलहरू बुझाएको हो । सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व र भन्सार छलीमा मात्रै गर्दा जरोसम्म पुग्न नसकिने निष्कर्षसहित सरकारले संगठित अपराध, अन्तर्देशीय अपराध र आतंकवादसँग पनि जोडेर अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको हो ।
आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जानकारी दिए । पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने महानिर्देशक ढुंगानाले बताए ।
यही ३ साउनमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर सिनामंगल पुर्याइएको एक क्विन्टल सुन बरामद गरेको थियो । सुन प्रकरणमा हालसम्म २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा ३ जना विमानस्थल भन्सारका कर्मचारी पनि रहेका छन् ।