काठमाडौं, साउन १८
अहिले काठमाडौं उपत्यकामा दिनदहाडे चोरी हुन थालेको छ । चोरी, लुटपाटलगायतका घटना निरन्तर बाहिर आइरहेका छन् । झन् सार्वजनिक सवारी साधनमा पाकेटमारको संख्या ह्वात्तै बढेको छ । दिँउसै चोरी हुन थाल्दासमेत गृह प्रशासनको ध्यान यतातिर केन्द्रीत हुन सकेको छैन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो विषयमा कुनै चासो देखाएका छैनन् । पछिल्लो समय बेरोजगारी ह्वात्तै बढेको छ । मँहगी बढेको बढ्यै छ, आम्दानीको स्रोत छैन् । खानका लागि पनि कतिपयले चोरी गर्दै आएका छन् । कसैकसैलाई भने सानैदेखि चोरी गर्ने बानी परेको हुन्छ, ठूलो भएर पनि त्यही नै गर्छन् । यसमा नागरिक आफैंपनि सतर्क हुनुपर्ने बेला भएको छ । गलाभरि, हातभरि सुन लगाएर हिँडेका हुन्छन्, महिला । सुन लगाउनु कुनै अप्रिय घटनालाई निम्तो दिनुजतिकै भइसकेको छ ।
यो कुरा सबैले बुझ्न जरुरी छ । नेपालीमा देखासिकी गर्ने बानी छ । धाक लगाउन पनि नेपाली कम्तीका छैनन् । यसले आफ्नै ज्यान लिन सक्छ भनेर उनीहरु सोच्दैनन् । अहिले सबैको हातमा मोबाइल फोन छ । लाखौं पर्ने मोबाइल देखाउँदै हिँड्छन् । पाकेटमारले नउडाएसम्म कसैको चेत नै खुल्दैन् । मँहगो फोन छ भन्दैमा देखाउनु त पर्दैन् । घरबाट निस्किदासमेत यति लापरवाही छ कि के भन्ने ? झ्यालढोका राम्ररी नलगाईकन निस्किएका हुन्छन् । अब सरकारले घरघरमा सुरक्षा दिन त सक्दैन् । आफ्नो घरको सुरक्षामा आफू पनि त जिम्मेवार हुनुपर्यो । झ्यालढोका राम्ररी बन्द गर्ने, छिमेकी वा घरधनीलाई यसो हेर्दिनु भन्नेलगायतका काम गर्यो भने त चोरी हुनबाट जोगिन सकिन्छ । एउटा सामान्य भोजमा जानुपर्यो भनेपनि सुनले बेरिएर हिँड्छन् । अहिले सुन लगाएर हिँड्ने अवस्था छैन् भन्ने थाहा हुँदाहुँदै पनि हेलचेक्य्राइँ गरिएको छ ।
केही महिनाअघि चाबहिलको सरस्वतीनगरमा सुनकै कारणले एक जना महिलाको ज्यान गयो । गलामा लगाएको सुनले ती महिलाको ज्यान लियो । तर, योबाट पनि जनताले अझै पाठ सिकेका छैनन् । सुन लगाउनुहुँदैन् भनेर सर्वसाधारणको अझैपनि चेत खुल्न सकेको छैन् । सुन देखाउनै डरमर्दो स्थिति बनिसकेको छ । अहिले सार्वजनिक सवारी साधनमा पाकेटमारी ह्वात्तै बढेको छ । सार्वजनिक सवारी साधन चढ्नसमेत असुरक्षित भएको छ । चालक–सहचालकले दाउरा मिलाएझैं यात्रु मिलाएका हुन्छन् । सबैलाई आफ्नो गन्तव्यसम्म पुग्नुपरेको हुन्छ, त्यसैले भीड भएनि चढ्नैपर्यो । त्यही मौका छोपेर पाकेटमारले पाकेट सफा गर्दिहाल्छ । कहिले यात्रुको मोबाइल हराउँछ कहिले पर्स । चोरी, लुटपाथ, पाकेटमारीका घटना ह्वात्तै बढ्दाखेरिसमेत प्रहरी प्रशासनले अनुगमनमा चासो देखाएको छैन् ।
ट्राफिक प्रहरी कहिले सार्वजनिक सवारी साधनमा चढेर अनुगमन गर्दैनन् । सरकारले यसलाई नियन्त्रण गर्न कुनै योजना नै बनाएको छैन् । आफ्ना जनतालाई चोरी गर्नुपर्ने बाध्यता किन आइपर्यो ? सरकारले यसमा पनि ध्यान दिएको छैन् । सरकारले नै आफ्ना जनतालाई चोर बनाइरहेको छ । सरकारले जनतालाई सन्तान जन्माउन दियो । उसलाई नागरिकता दियो ।
तर, उसले पाउनुपर्ने हकअधिकार खोइ त ? देशमा गरिबी छ । वर्षभरि दुःख गर्दा ६ महिना खान पुग्दैन् । त्यस्ता बाबुआमाले आफ्ना छोराछोरीलाई कसरी पढाउने ? निःशुल्क भनिएको शिक्षा कागजमा मात्र सीमित छ । न पढाइलेखाइ हुन्छ न सीप । काम खोज्यो, पाइँदैन् । काम पाइएन् आज नखाऊँभन्दा भोको पेट मान्दैन् । भोक खप्नै नसक्ने भएपछि उसले पहिले अरुको सामु हात फैलाउँछ । खानका लागि माग्छ तर, कसैले दिँदैनन् । कसैले माग्यो भने नेपालीहरु भन्छन्,‘हातखुट्टा सध्ये छ त काम गरेर खानुपर्यो नि ।’ काम पाएको भए कसैले माग्थ्यो र ? कतैबाट खाना नपाएपछि उसले चोरी गर्छ । विस्तारै उसलाई त्यसकै बानी लाग्छ । हामीहरु खाना बढी भएर टोकरीमा लगेर फ्याक्छौं । तर, भोकाहरुलाई खान दिँदैनौं । भोकालाई खान दिऊँ भन्ने भावना हामीमा छैन् ।
यहाँ धनी र गरिबबीचको खाडल ठूलो भयो । धनीहरु आफ्नो सम्पत्ति देखाउँदै हिँड्छन् । गरिब खान पाएर तिनीहरुको सम्पत्ति चोर्छन् । धनी लुटिने र गरिब लुटेरा बनेका छन् । लुटिने पनि नेपाली, लुट्ने पनि नेपाली कतातर्फ जाँदैछ हाम्रो समाज ? लुट्दाखेरि प्रतिकार गर्दा ज्यानसमेत गएको छ । एक जनाको ज्यान जान्छ, अर्को जेल । सरकारलाई त ठूलो क्षति भइरहेको छ ।
सरकारले यसबारे जनचेतना फैलाउन ढिलो भइसकेको छ । भोकालाई खान देऊँ भनेर चेतना फैलाउनुपर्यो । अहिले छोरा खाने, बुवा हेर्ने अवस्था सिर्जना भएको छ । बुवा भोकै हुन्छन् त छोराले सोध्दैनन् । पहिलो कुरा त हाम्रो शिक्षा प्रणाली नै ठीक छैन् । मानवताको विषयमा हाम्रो पाठ्यक्रममा उल्लेख नै छैन् । खान नपाएकालाई खान दिनुपर्छ, ठूलालाई सम्मान गर्नुपर्छ, बाँडीचुँडीको भावना राख्नुपर्छ यस्ता विषय पढाउनुपर्यो ।
घोकन्ते शिक्षाले कहिलेसम्म चल्छ ? बालबच्चालाई त सिकाउनुपर्यो । सानैदेखि सिकायो भने पो उनीहरुले सिक्छन् । जन्मिनेबित्तिकै मन्टेश्वरीमा लगेर राखिदिने अनि बालबालिकाले के सिक्छन् ? मानवीय भावना नै नसिकेको बच्चाले आफ्नो बाबुआमालाई त हेर्दैन् भने अरुलाई के हेर्छ ? अर्कोतिर राज्य गरिबसम्म पुग्दै पुगेन् । कि त उनीहरुलाई काम दिनुपर्यो कि बेरोजगार भत्ता दिनुपर्यो । सरकारी कर्मचारीको पेन्सन काटेर बेरोजगारी भत्ता दिए भइहाल्यो । सरकारी कर्मचारीलाई किन पेन्सन दिनुपर्यो ? जागिर खाउञ्जेल त भ्रष्टाचार गर्छन् । तलबभत्ता र सेवासुविधा पनि प्रशस्तै दिएको हुन्छ, सरकारी कर्मचारीलाई । नेताहरुलाई नानाथरीको सुविधा किन दिनुपर्यो ? तिनको सुविधा काटेर गरिबलाई दिए, सबैले खान पाउथें । चोरी गरेर त हिँड्नुपर्दैनथ्यो । काठमाडौंमा पाँच वटा घर हुनेले ज्येष्ठ नागरिक भत्ता लिइरहेका छन् ।
ज्येष्ठ नागरिक भत्ता दिने नीति नै खारेज गर्नुपर्यो । आर्थिक अवस्था कमजोर भएकालाई राशन कार्ड दिऊँ । सरकारले दिने सेवासुविधा सबै धनीले हड्पिरहेका छन्, गरिब हेरेको हेर्यै । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद्, सरकारी कर्मचारीलगायतको सेवासुविधा काटेर गरिबलाई पनि दिनुपर्यो । आखिर भोक सबैलाई लाग्छ । हामीलाई घरपरिवारबाट दिने शिक्षा पनि त्यस्तै छ ।
जहाँबाट भएपनि कमाएर ल्याउनुपर्यो । भ्रष्टाचार गर कि ठग, पैसाचाँहि कमाउनैपर्यो । कमाउन नसक्ने छोराछोरीलाई अभिभावकले नै हेप्छन् । बरु, पानी तताएर खाऊँ, चोरेर र ठगेर नखाऊँ भनेर अभिभावकले नै सिकाउन सकेनन् । चोर्नु, ठग्नु र भ्रष्टाचार गर्नु गलत हो भनेर अभिभावकले नै सिकाएनन् । आज चोर्यो, भोलि चोर्यो बानी नै त्यही बस्यो । भ्रष्टाचार र ठगी बढ्नुको कारण पनि यही हो ।
छोराछोरीले कसरी कमाएर ल्याएका छन् ? यो घरका परिवारलाई थाहा हुन्छ । तर, परिवारका सदस्य चुइक्क बोल्दैनन् । यसको अर्थ त्यस्तो कामलाई प्रोत्साहन गर्नु हो । मान्छेले जन्मिँदा पनि केही ल्याउँदैन्, मरेपछि पनि केही लाँदैन् । तरपनि सम्पत्ति कमाउनकै होडबाजी चलेको छ । नेपालीलाई सात पुस्तालाई पुग्ने सम्पत्ति जोड्ने बानी लाग्यो । बाबुले कमाएको सम्पत्तिमा सात पुस्ताले मोजमस्ती गर्छन् । जनतामा चेतना फैलाउन राज्य चुकेको छ । जसले गर्दा समाजमा आपराधिक क्रियाकलाप बढ्यो । बुढापाकाले भन्छन्,‘बाँचुञ्जेल बाबुआमालाई भोकभोकै राख्ने, मरेपछि काजकिरिया गरेर आफन्तलाई भोज खुवाउने ।’ मरेको व्यक्तिको काजकिरिया गरेर के काम, बाँचुञ्जेल नहेरेपछि । घटना घटेपछि दोषीलाई पक्रेर पनि केही काम छैन् । उल्टै राज्यकै ढुकुटी सकिने हो ।
जनतालाई राम्रो सिक सरकारले दिनुपर्यो । मान्छे जन्मिदै सबै कुरा सिकेर आएको हुँदैन् । उसको घरपरिवार र समाजले दिएको सिक सिक्छ । कोही ठूलो मान्छे बन्छन्, कोही चोर । सबैले शिक्षा पाएको भए, जागिर पाएको भए चोर त कोही बन्दैनथें नि । राजनीतिक परिवर्तन भयो तर गरिबको दिन कहिले आएन् । खान नपाएर आत्महत्या गर्नुपर्ने अवस्था अझैपनि छ ।
अब सरकार जिम्मेवार हुनुपर्यो । होइन् भने यसले ठूलो क्षति निम्त्याउनुपर्छ । स्थानीय तहले बेरोजगारको विवरण संकलन गर्नुपर्यो । उनीहरुलाई काम दिने हो कि भत्ता, जिम्मा सरकारको हो । यसमा बेलैमा सरकारको ध्यान जाओस् ।