ललितपुर, साउन १६
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुनसक्ने बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज ललितपुरमा आयोजित ३१ औँ प्रकाश स्मृति दिवस तथा २९ औँ प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रममा उनले भने, ‘स्वतन्त्र, सक्षम, निष्पक्ष र उत्तरदायी न्यायपालिकासहितको संवैधानिक व्यवस्था छ, न्यायालय राजनीतिक हस्तक्षेप, आर्थिक प्रलोभन, राज्यको हस्तक्षेप, दबाब र प्रभावबाट मुक्त हुनुपर्छ, त्यसो हुन सकेन भने निष्पक्ष न्याय प्रदान हुन सक्दैन ।’ उनका अनुसार निष्पक्ष न्याय हुन नसके मानवअधिकारको संरक्षण पनि हुन सक्दैन ।
पूर्वसभामुख दमननाथ ढुंगानाले स्वतन्त्र र गैरराजनीतिक संस्था भनेको न्यायालय नै भएको भनाइ राख्दै मानवअधिकार र लोकतन्त्रको संरक्षणका लागि यसलाई निष्पक्ष र स्वतन्त्र राख्नुपर्ने बताए ।
इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले मानवअधिकार र सङ्क्रमणकालीन न्यायका विषयमा अङ्ग्रेजीमा रूपान्तरण गरेर व्याख्या गर्न नसक्दा अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो अदालतका नजीर स्थापित हुन नसकेको बताए।
इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले मानवअधिकार आन्दोलनलाई परिष्कृत गरेर जानु आवश्यक भएको भन्दै आम नागरिकमा न्यायको पहुँच पुर्याउन नसक्नु पनि गम्भीर विषय भएको धारणा राखे ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले यस वर्षको प्रकाश मानवअधिकार पुरस्कार कपिलवस्तुकी रुकय्या खातुनलाई प्रदान गरेको हो । पुरस्कारको राशि ५० हजार रहेको छ ।