neapl investment mega bank
  • गृहपृष्ठ
  • १४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन, आर्थिक वर्षको बजेट समेत आएन

१४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन, आर्थिक वर्षको बजेट समेत आएन

Jun 30th, 2023

काठमाडौ १५ असार

देशभरका ७५३ मध्ये करिब १४० स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन्।

जनताको सबभन्दा नजिकको सरकार भनिने स्थानीय तहमा जाने कर्मचारीको चरम अभाव देखिएपछि ती स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन्।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा कतिपय स्थानीय तहले आगामी आर्थिक वर्षको बजेटसमेत ल्याउन सकेका छैनन्।

बजेट निर्माण र कार्यान्वयनमा प्रमुख भूमिका रहने प्रमुख प्रशासकीय अधिकृतसहितका जनशक्ति नै पर्याप्त नभएको भन्दै स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अतिरिक्त गाउँपालिका महासंघ र नगरपालिका संघमा गुनासो गर्ने गरेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ४४ नगरपालिका र ९६ वटा गाउँपालिकाले बजेट ल्याउँदा निमित्त प्रमुख प्रशासकीय अधिकृत नगर तथा गाउँसभाको सचिव बन्नुपरेको थियो। संघीय तहमा उपसचिव र अधिकृत उपलब्ध नभएका कारण स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिएको मन्त्रालयस्थित स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राईले बताए।