ललितपुर, असार ११
ललितपुरको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि दुई अर्व ३३ करोड रुपैयाँको बार्षिक बजेट ल्याएको छ । उप प्रमुख मुना अधिकारीले नगरसभामा प्रस्तुत गरेको बजेट नगरसभा सदस्यहरुले सर्वसम्मत रुपमा पारित गरेका छन् ।
गोदावरी नगरले पूर्वाधार विकासमा ३५ करोड , स्वास्थ्य क्षेत्रमा ३ करोड , शिक्षामा ५ करोड रुपैयाँ विनियोजन गरेको छ । सम्पदा संरक्षण, खानेपानी, खेलकुद तथा खेल पूर्वाधार निर्माण, दमकल खरिद, नगर बस संचालनका लागि २२ करोड बजेट छुट्याइएको छ । नगरपालिकाले कृषितर्फ १ करोड ५० लाख बजेट विनियोजन गरेको उप प्रमुखले नगरसभामा प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा उल्लेख छ ।
नगरभित्रका वडाहरुका लागि प्रति वडा १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । सडक बत्तीका लागि ३ करोड, फोहोर मैला व्यवस्थापन, तरकारी बजार सञ्चालन, स्वरोजगार कार्यक्रम, सिंचाइ, पर्यटकीय पदमार्ग निर्माण र सूचना प्रविधिका लागि १/१ करोड रुपैयाँ विनियोजन गरेको बजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरसभामा अध्यक्ष तथा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले स्वास्थ्य र शिक्षासँगसँगै पूर्वाधारलाई यो बजेटले प्राथमिकता दिएको बताए ।