काठमाडौं, ६ असार
दूध बिक्री नभएर सडकमा पोख्नु पर्ने किसानको बाध्यता नेपालमा कुनै नौलो कुरा होइन। हरेक किसानले उत्पादन लागतभन्दा सस्तो मूल्यमा दूध बिक्री गर्न बाध्य छन् भने उपभोक्ताले महँगो मूल्य तिर्न । बिचौलियाकै कारण किसान पशु पालन क्षेत्रबाट नै पलायन हुनु पर्ने बाध्यता छर्लङ्ग छ । तर, नवलपरासी वर्दघाट नगरपालिका–९ मा चन्द्रोदय बहुउदेश्य सहकारी संस्था संचालनमा आएपछि यो समयस्याबाट मुक्त छन्, किसानहरू। सहकारीले गाउँमै डेरी संचालनमा ल्याएपछि नवलपरासीका किसानहरूलाई दूध बिक्री नहुने हो की, उचित मूल्य नपाइने हो की भन्ने कुनै चिन्ता छैन। सहकारीले डेरी संचालनमा ल्याउनु अघिसम्म भने फेरि नवलपरासीका किसानहरू पनि यो समस्याबाट अछुतो थिएनन्। व्यवसायिकरूपमा गाईभैंसी पालन गर्ने किसान त कमै थिए। तर, प्रत्येकको घरमा २–४ वटा गाई भैंसी भने हुन्थ्यो।
उक्त गाई÷भैँसीबाट दूध राम्रै उत्पादन हुन्थ्यो तर बिक्री गर्ने बजार थिएन । दूधबाट चिया, मही, दही र घिउ मात्रै बन्थ्यो । कसै कसैले मात्र साइकल, बाइकमा दूध सङ्कलन गर्दै हिँड्नेलाई दूध बिक्री गर्नु पर्ने बाध्यता थियो। ती कष्टकर दिन सम्झदै एक किसानले भने,‘त्यतिखेर त अहिले जस्तो कहाँ जति पनि दूध बिक्री हुन्थ्यो र ? कति त बिक्री हुँदैन थियो । बिक्री भए पनि कौडिको भाउँमा बिक्री गर्नुपथ्र्यौ।’ त्यति मात्र हैन, दूध बिक्री भए पनि समयमा भुक्तानी पाइदैंन थियो । तर, जब चन्द्रोदय बहुउदेश्य सहकारी संस्थाले किसानहरूको मर्का बुझेर गाउँमै डेरी संचालनमा ल्यायो। त्यहाँदेखी नवलपरासीका किसानहरू यस्ता समस्याबाट मुक्त भएको सहकारीका व्यवस्थापक विष्णु प्रसाद पाण्डे बताउँछन्। उनका अनुसार उक्त सहकारी २०५० सालमा स्थापना भएको हो। स्थापना पश्चात नै सहकारीले डेरी संचालनमा ल्याएको थियो।
तर, माओवादी द्धन्द्ध कालमा (२०५८–०६२सम्म) सहकारी बन्द भयो। र, फेरि २०६३ सालदेखि सहकारीलाई पुनरजागरण गरेर त्यही नाममा संचालनमा ल्याइयो। २०६३ देखिनै यस सहकारीले बचत तथा ऋण, दाना चापड, भेटनरीसँगै डेरी क्षेत्रमा काम गर्दै आएको छ। जसबाट पशुपालक किसान लाभान्वित भएको उनी बताउँछन्। सहकारी संचालनमा आएदेखि किसानहरूको गोठदेखि दूध संकलन गर्दै आएपनि व्यवस्थित रूपमा २०६५ सालदेखि संकलन गर्न थालिएको उनको भनाइ छ। व्यवस्थापक पाण्डे भन्छन्, ‘सुरुसुरुमा थोरै थोरै संकलन गथ्र्यौ। तर, २०६५ सालदेखि नवलपरासी पुरै जिल्लामा हाम्रो क्षेत्राधिकार बनाएर दूध संकलन गर्न थाल्यौं। यसबाट जिल्ला भरका किसान लाभान्वित भएका छन्।’
सिजनमा १५ हजार लिटरसम्म दैनिक दूध संकलन हुन्थ्यो। तर, पछिल्लो समय गाउँमा डेरीहरू धेरै खुल्न थालेसँगै दैनिक हाल ६ हजार लिटर दूध संकलन हुनेगरेको छ। हाल दूध उत्पादन अफसिजन भएकोले पनि कम भएको उनी बताउँछन्।
‘यो समय दूधको लागि अफसिजन हो। त्यसैले पनि कम छ। सिजनमा त यो भन्दा धेरैनै हुन्छ,’ उनी भन्छन्, ‘सहकारीले डेरी सञ्चालनमा ल्याएसँगै यहाँका किसानलाई धेरै सहज भएको छ । किसानलाई भुक्तानी पनि समयमा दिएका छौंँ । यहाँका किसान अहिले पशुपालनमा आकर्षित भएका छन् ।’ गाउँमा पशु पालन गर्न थालेसँगै त्यहाँका किसानले मनग्य आम्दानी गर्न सफल भएका छन् ।
एनएलएसआईपीको सहयोग अतुलनीय, आफ्नै प्रडक्ट बजारमा
सहकारीले दुग्ध संकलन मात्र होइन, पछिल्ले समय दूधको परिकार पनिर, घ्यू, बटर, दही उत्पादन गर्दै आएको छ । चाडबाडमा दूध जन्य परिकार धेरै आवश्यकता पर्छ । आफूहरूले दूध संकलन गरेर बिक्री गरे पनि दूध जन्य परिकार बनाउन नसक्दा पहिला धेरै दुख पनि लाग्ने गरेको उनले बताए। ‘हामी आफै दूध संकलन गरेर बिक्री गरिरहेका थियौं तर दूध जन्य परिकार बनाउन सकेका थिएनौंँ’, उनले भने, ‘अहिले एनएलएसआईपीको साथ पाएपछि आफैले विभिन्न परिकार बनाएर बिक्री गर्न थालेका छौं।’ हाल ५ सय लिटरको प्रडक्ट उत्पादन गर्ने गरिएको छ भने बाँकी दूध बिक्री गरिन्छ। यसरी दूधबाट आफैले परिकार बनाउने योजना भने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन अयोजना (एनएलएसआईपी) को हो। एनएलएसआईपीले सहकारीलाई ५० प्रतिशत अनुदान दिने भएपछि सहकारी आफैले दूधबाट बन्ने विभिन्न परिकार बनाउन थालेको हो। उनका अनुसार दूधबाट परिकार बनाउन थालेको धेरै भएको छैन। २०७९ असोजदेखि मात्र सुरु गरिएको हो।
जसमा एनएलएसआईपीले दूधको परिकार बनाउन विभिन्न सामाग्री किन्न सहयोग गरेको छ। उनका अनुसार एनएलएसआईपीले पहिलो किस्तामा ५० लाख ७९ हजार रुपैयाँ अनुदान दिएको थियो भने बाँकी रकम बैंक र सहकारीले नै ब्यहोरेको हो। उनका अनुसार आयोजनाको सहयोगबाट एक हजार लिटर प्रतिघण्टा क्षमता भएको पास्ताराइज सिस्टम, स्टिम बोइलर, दूध चिस्याउन आवश्यक पर्ने मेसिन, दूध पम्प र मार्केटिङका लागि आवश्यक पर्ने एउटा गाडि लगायतका थुप्रै मेसिन खरिद गरिएको छ।
उनी भन्छन्, ‘आयोजनाबाट प्राप्त मेसिनहरू चलिरहेको छ। एनएलएसआईपीको सहयोगले खरिद गरेका मेसिनबाट दूधलाई अटोमेटिक दूधमा पास्तराइज गर्ने, प्याकिङ गर्ने, दहि प्याकिङ गर्ने काम गरिरहेका छौं। अनुदानले गर्दा हामीलाई एकदमै सहज भएको छ।’ एनएलएसआईपीले अनुदान सहयोग नगर्दासम्म थोरै मात्रामा बिना लेभलको खुल्ला दूध मात्र बिक्री हुँदै आएको थियो। तर, एनएलएसआईपीको साथ पाएपछि सहकारीले आफ्नै ब्राण्डको प्रडक्ट बजार पठाइरहेको छ। हाल सहकारीले उत्पादन गरेका प्रडक्टहरू पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा बिक्री भइरहेको छ।
आयोजनाको सहयोगले यहाँका युवालाई रोजगारी दिनुका साथै स्थानीय उत्पादनलाई ठूला सहरमा बिक्री गर्ने वातावरणसमेत बनेको उनको भनाइ छ । उनी भन्छन्, ‘यहाँ दूध प्रशोधन तथा दूध खरिद बिक्रीलगायत क्षेत्रमा गरी १२ जनाले रोजगारीसमेत पाएका छन्’, उनले भने । उनका अनुसार आयोजनाले सहयोग गरेपछि काम गर्न एकदमै सहज भएको उनको अनुभव छ। ‘पहिला मेसिनरी सामान नहुँदा हामीलाई काम गर्न एकदमै समस्या थियो। हरेक काम गर्न एकदमै समय लाग्थ्यो। दूधको काम समयमा नसक्दा बिग्रेर खेर जान्थ्यो,’ उनी आफ्नो अनुभव साट्छन्, ‘मेसिन भएपछि काम छिटो भएको छ। पहिला जस्तो दूध बिग्रेको छैन। गुणस्तरमा पनि एकदमै सुधार भएको छ। उहाँहरूको सहयोग वयान नै गर्न सकिदैन।’
अझ उनी थप्छन्, ‘सहकारी आफैले यति धेरै मेसिन खरिद गर्न सक्दैन थियो। आयोजनाको सहयोग अतुलनिय छ। अहिले त दैनिक २५ हजार लिटरसमम दूध होल्ड गरेर राख्न सक्छ। आफ्नै ट्याङ्कर भएकाले दूध हामी आफै पुर्याउन सक्छौं।’
हाल सहकारीले दूधमात्र मासिक एक करोड रूपैयाँसम्मको कारोबार गरिरहेको छ। यसरी सहकारी संस्थालाई उद्योगका रुपमा अगाडि बढाउन अनुदान रकम उपलब्ध गराइएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन अयोजनाले जनाएको छ।
सहकारीमा किसान तथा बैंककोसमेत लगानी भएकाले प्रत्यक्षरुपमा सबैलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उद्योग स्थापनाका लागि सहयोग गरिएको आयोजनाका कृषि विज्ञ सुशील खड्का बताउँछन्। ‘किसानको दूध बिक्री भएन भन्ने समस्या पनि हट्ने र सहकारीलाई पनि उत्पादन गर्ने उद्योगका रुपमा विकास गर्न सकिने भएकाले आर्थिक सहयोग गरेका हौँ’, उनले भने । उनका अनुसार यस आयोजनाबाट नवलपरासीका किसान मात्रै होइन, विभिन्न जिल्लाका धेरै किसान लाभान्वित भएका छन्।
उक्त आयोजनाले कृषिको विकासका लागि सहकारी र समूहमार्फत व्यवसाय गर्ने किसानहरूलाई अनुदान दिदैं आएकोे छ । विश्व बैंकको ५५ मिलियन डलर सहुलियत पूर्ण ऋण सहयोगमा सञ्चालित आयोजनाले पशुजन्य पदार्थहरूको उत्पादकत्व तथा मूल्य शृङ्खलामा वृद्धि र छनौट गरिएका पशुजन्य वस्तुहरू (दूध, मासु, पश्मिना) मा आधारित साना किसान तथा उद्यमीहरू लगायतको समयानुकूलतालाई सुधार गर्ने लक्ष्य लिएर काम गरिरहेको छ । आयोजनाले पाँच प्रदेशका विभिन्न जिल्लाका विभिन्न स्थानीय तहका सामुह तथा सहकारीलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ। यो आयोजनाको कार्यक्रम अनुसार सुरुमा भौतिक कार्य सम्पन्न गर्नु पर्ने प्रावधान रहेको छ । यस सहकारीमा संस्थाका सबै सदस्यहरूको २० प्रतिशत आफ्नो लगानी रहेको छ भने ३० प्रतिशत बैंकबाट ऋण लिनु पर्ने प्रावधान छ । बाँकी ५० प्रतिशत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले दिने गर्छ । त्यसले गर्दा पनि अनुदानको दुरुपयोग नहुने उनको भनाई छ ।एड्भोटेरिएल