neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएलएसआईपीको अनुदान पाएपछि आफै प्रडक्ट बनाउँदै सहकारी, मासिक १५ लाखको कारोबार

एनएलएसआईपीको अनुदान पाएपछि आफै प्रडक्ट बनाउँदै सहकारी, मासिक १५ लाखको कारोबार

Jun 20th, 2023


काठमाडौं, असार ५

अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ। यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ। यस्तै गलत परम्परा बोक्ने हजारौँको भीडबाट केही महिलाहरू बाहिर निस्किन सफल भएका छन्। जसले सहकारी पुरै हाक्ने आट गरेका छन्। महिला मात्र शेयर सदस्य रहेको ‘बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी’ ले समाजमा ठूला–ठूला परिवर्तन महिलाले नै गर्छन् भन्ने सत्य सावित गरेको छ ।

वि.स २०७१ सालमा बाणगंगा नगरपालिका–५ कपिलवस्तुमा स्थापना गरिएको सहकारीमा १३ सय महिला शेयर सदस्य रहका छन्। सहकारीले स्थापना कालदेखि बचत तथा ऋणसँगै दूध बजारीकरणमा ठूलो योगदान पु¥याउँदै आएको सहकारीका अध्यक्ष तुलसी थापाले बताइन्। सहकारी ग्रामीण क्षेत्रका महिला किसानहरूको सहारा बनिरहेको छ। ‘सहकारी स्थापना हुनु अघि यहाँका महिला चुला चौकामा मात्र सिमित थिए,’ विगतका दिन उनी कोट्याउँछिन्,‘अहिले त २–४ वटा गाईभैंसी पालेर चुरा टिका पोते किन्न सक्ने भएका छन्। हाल दूध उत्पादनमा लागेपछि परनिर्भरताको अन्त्य भएको छ ।’

पहिला यहाँका महिलाहरूलाई दूध उत्पादन गरेर पैसा कमाउन सकिन्छ भन्ने नै जानकारी थिएन । पहिला महिलालाई पहिला घरभित्रको भूमिकामै सीमित राखिँदै आएको थियो । अधिकांश समय घरकै काममा व्यस्त हुँदा समाजमा महिलाको भूमिका नगन्य हुन्थ्यो । उनी भन्छिन्, ‘पुरातन सोचले ग्रसित मान्यतालाई तोड्दै गाउँमै सहकारी बनायौँ । र, अहिले आफ्नो खुट्टामा आफै उभिन सक्ने भएका छौं।’

सहकारीमा आबद्धमध्ये ३ सय जना गाईभैंसी पालनमा आबद्ध छन्। बाँकी बाख्रा, तरकारी लगायतका क्षेत्रमा आबद्ध छन्। दूध उत्पादनमा लागेका महिला किसानहरू दूध बिक्रीबाट आम्दानी हुन थालेपछि निकै खुसी छन् । ‘पहिले पनि काम गथ्यौँ । त्यो कामले न घरको सामान्य आवश्यकता पूरा हुन्थे न त सन्तुष्ट नै हुन्थ्यौँ’, अध्यक्ष थापाले भनिन्, ‘अहिलेको व्यवसायबाट भनेको समयमा पैसा आउँछ । बालबालिकाहरूलाई राम्रो स्कुलमा पढाउन सफल भएका छौँ । धेरै कुरा सिक्न पाएका छौँ । आफ्नो नाम पनि भन्न नसक्ने म अहिले कही गएर राम्रोसँग बोल्ने भएका छौं।’ साथै घर खर्च चलाउन पनि धेरै सहज भएको उनको अनुभव छ।

सहकारी स्थापना कालदेखि नै डेरी क्षेत्रमा काम गर्दै आएको छ। डेरी क्षेत्र जसले ग्रामीण अर्थतन्त्र र शहरी अर्थतन्त्रबीचमा पुलको काम गर्छ । दुग्ध व्यवसाय ठूलो रोजगारी सिर्जना गर्ने एउटा उपयुक्त क्षेत्र भएको पनि उनी बताउँछिन्। यो क्षेत्रले रोजगारीलाई मात्रै बढाउदैन । बरु भोकमरी र कुपोषणको अवस्था अन्त्य गर्न समेत सहयोग पु–याउँछ । त्यसैले पनि सहकारीले सुरुमै डेरी क्षेत्रमा काम गर्न थालेको उनको भनाई छ। उनका अनुसार बाणगंगा नगरपालिकाबाट मात्र दैनिक ६ सय लिटर दूध संकलन हुन्छ। अहिले दूधको अफ सिजन भएका कारण पनि कम दूध उत्पादन भएको उनी बताउँछिन्।

सिजनमा २२ सय लिटरसम्म दूध संकलन हुन्छ। सहकारी आफैको दूध संकलनका लागि गाडी किनेको छ। किसानको घरघरबाट दूध संकलन गर्छ। पछिल्लो समय सहकारी आफैले दूध संकलन गरेर आफ्नै प्रडक्ट उत्पादन गर्न सुरु गरेको छ। जसले गर्दा कारोबार समेत बढेको अध्यक्ष थापाले बताइन्। उनका अनुसार मासिक १५ लाखको कारोबार भइरहेको छ।
प्रडक्ट उत्पादन गर्ने एनएलएसआईपीको आइडिया, प्रडक्ट उत्पादन पछि डबल फाइदा गत वर्षसम्म सहकारीले किसानको गोठबाट दूध संकलन गरेर दूध नै बिक्री गर्दै आएको थियो। तर, जब सहकारीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन अयोजना (एनएलएसआईपी) को साथ पायो, त्यहाँदेखि आम्दानीको क्षेत्र विस्तार भएको छ। एनएलएसआईपीले ५० प्रतिशत अनुदान दिने भएपछि सहकारीले आफ्नै नामको प्रडक्ट बजारमा पठाउन थालेको हो। एनएलएसआईपीको साथ पाएपछि विभिन्न मेसिनहरू खरिद गरेर दूधको परिकार पनिर, कुल्फ, घ्यू, बटर, दही उत्पादन गर्दै आएको छ ।

‘पहिला दुग्ध पदार्थबाट नयाँ नयाँ परिकार बनाउन र विविधिकरण गर्न सकिरहेका थिएनौं,’ अध्यक्ष थापाले दुखेसो गरिन्,‘थोरै बचतबाट हामी महिला दिदिबहिनी मिलेर सहकारी अघि बढाएका थियौं। दूध संकलन गरेर बिक्री गर्न मात्रै पनि हामीलाई धेरै मुस्किल थियो। प्रडक्ट उत्पादन गरेर बिक्री गर्ने कुरा त सपना जस्तो लाग्थ्यो । तर, एनएलएसआईपीको साथ पाएपछि त्यो सपना पनि बिपनामा परिवर्तन भएको छ। हामी एकदमै खुसी छौं।’ हाल प्रडक्ट उत्पादन गर्न आवश्यक पर्ने विभिन्न सामाग्री खरिद गरिएको उनको भनाई छ। उनका अनुसार मेसिन किन्न ५६ लाख १५ हजार रूपैयाँ लाग्यो। जसमा ५० प्रतिशत एनएलएसआईपीको अनुदान, ३० प्रतिशत बैंक तथा २० प्रतिशत सहकारीको लगानी छ। उक्त रकमबाट जेनेरेटर, एनालाइजर, पनीर राख्ने फ्रिज, कोल्डस्टोर, पास्ताराइज सिस्टम, स्टिम बोइलर, दूध चिस्याउन आवश्यक पर्ने मेसिन, दूध पम्प लगायतका सामाग्री खरिद गरिएको छ।

दुग्ध पदार्थबबाट बन्ने वार्षिक अरबौं मूल्य चकलेटहरु अहिले पनि विदेशबाट आउँछन् । विभिन्न पेय पदार्थ, इनर्जि ड्रिङ्क्स, जुस लगायत पनि विदेशबाट आउने गरेका छन् । यी पेय पदार्थको सट्टामा दुधबाट बन्ने परिकार प्रयोग गर्न सक्ने हो भने यसले यो क्षेत्रको कुल खपत बढाउँछ । जसले गर्दा थप रोजगारीका अवसरहरु समेत सिर्जना हुन्छ। यी कुरालाई मध्यनजर गर्दै सहकारीले आफ्नै प्रडक्ट बजारमा पुर्याउन थालेको उनी बताउँछिन्। हाल ३ सय लिटर जति दूधको आफ्नै प्रडक्ट बनाएर सहकारीले बिक्री गर्दै आएको छ भने बाँकी दूध बुटवलको डेरीलाई बिक्री गर्दै आएको छ। आफैले प्रडक्ट बनाएर बिक्री गर्दा डबल फाइदा हुने गरेको अनुभवसम्म उनले साटिन्।

‘त्यति धेरै परिकार त बनाउन सकेका छैनौँ । भर्खर सुरूवात मात्र गरेका हौं। आफैले प्रडक्ट बनाउन थालेको वर्ष दिन पनि भएको छैन,’ उनले भनिन्, ‘त्यही भएर अहिलेलाई केही सिमित परिकार मात्र बनाएर बिक्री गरेका छौँ ।’ तर, अब बिस्तारै यहाँ सङ्कलन हुने सबै दूधको परिकार बनाउने योजना रहेको पनि उनले सुनाइन् । ‘दूध मात्र बिक्री गर्दा त खासै धेरै फाइदा नहुने रहेछ । तर, दूधबाट परिकार बनाएर बिक्री गर्दा धेरै फाइदा हुने रहेछ। अब दूधको नयाँ नयाँ परिकार बनाउन र विविधिकरण गर्ने योजनामा छौं। साथै अरू ठाउँमा पनि दूध संकलन केन्द्र खोल्ने योजना बनाएका छौं,’ उनले आफ्नो योजना सुनाइन्।
अझ उनी थप्छिन्, ‘हामीले अरूलाई दूध बेच्दा कम मूल्य पाइन्छ । बिचौलियाको बिगबिगी छ । आफैले प्रडक्ट बनाएर बिक्री गर्दा डल फाइदा हुने रहेछ।’

यसरी नेपाल लाइभस्टक सेक्टर इनोभेसन अयोजना साना तथा सझौला किसानहरूको हातमा हात र साथमा साथ मिलाएर अघि बढिरहेको छ। आयोजनाको साथ पाउने यो एउटा सहकारी मात्र होइन, यस्ता कयौं सहकारी तथा समूहलाई आयोजनाले अनुदान दिएर आत्मनिर्भर हुन सहयोग पुर्याउँदै आएको छ। सहकारीमा किसान तथा बैंककोसमेत लगानी भएकाले प्रत्यक्षरुपमा सबैलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उद्योग स्थापनाका लागि सहयोग गरिएको आयोजनाका कृषि विज्ञ सुशील खड्का बताउँछन्। ‘किसानको दूध बिक्री भएन भन्ने समस्या पनि हट्ने र सहकारीलाई पनि उत्पादन गर्ने उद्योगका रुपमा विकास गर्न सकिने भएकाले आर्थिक सहयोग गरेका हौँ’, उनले भने । उनका अनुसार यस आयोजनाबाट विभिन्न जिल्लाका धेरै किसान लाभान्वित भएका छन्।

उक्त आयोजनाले कृषिको विकासका लागि सहकारी र समूहमार्फत व्यवसाय गर्ने किसानहरूलाई अनुदान दिदैं आएकोे छ । विश्व बैंकको ५५ मिलियन डलर सहुलियत पूर्ण ऋण सहयोगमा सञ्चालित आयोजनाले पशुजन्य पदार्थहरूको उत्पादकत्व तथा मूल्य शृङ्खलामा वृद्धि र छनौट गरिएका पशुजन्य वस्तुहरू (दूध, मासु, पश्मिना) मा आधारित साना किसान तथा उद्यमीहरू लगायतको समयानुकूलतालाई सुधार गर्ने लक्ष्य लिएर काम गरिरहेको छ । आयोजनाले पाँच प्रदेशका विभिन्न जिल्लाका विभिन्न स्थानीय तहका सामुह तथा सहकारीलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ। यो आयोजनाको कार्यक्रम अनुसार सुरुमा भौतिक कार्य सम्पन्न गर्नु पर्ने प्रावधान रहेको छ । यस सहकारीमा संस्थाका सबै सदस्यहरूको २० प्रतिशत आफ्नो लगानी रहेको छ भने ३० प्रतिशत बैंकबाट ऋण लिनु पर्ने प्रावधान छ । बाँकी ५० प्रतिशत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले दिने गर्छ । त्यसले गर्दा पनि अनुदानको दुरुपयोग नहुने उनको भनाई छ ।

साथै, अब ठूलो जनसंख्या विस्तारै ग्रामीण वा अर्ध–शहरी क्षेत्रमा फैलिएर जाने सम्भावना छ । यसले गर्दा डेरी क्षेत्रको बजार पनि काठमाडौं वा मुख्य शहरमा मात्रै केन्द्रित मात्रै नभएर उदीयमान शहरमा केन्द्रित हुँदै जानुपर्ने आवश्यकता देखिएको छ । यस्तो अवस्थामा डेरी उद्योगहरुको संरचनागत सुधार गरेर यही संरचनामा केही थप रोजगारी सिर्जना हुनेहुनाले पनि डेरी क्षेत्रमा लगानी गरेको उनले बताए। उनका अनुसार अब डेरी उद्योगहरुले परम्परागत परिकार बनाउने र दैनिक रुपमा वितरण गर्ने प्रणालीमा मात्र सिमित हुनुहुँदैन।

धेरै दुध उत्पादन हुने समयमा पाउडर बनाउने, चकलेट लगायत अन्य नयाँ परिकारहरु बनाउने लगायतका काम ती उद्योगहरूले गर्नुपर्ने उनको भनाई छ। जसले गर्दा दुध उत्पादन नहुने र ग्रामीण क्षेत्रमा समेत धेरै अवधिसम्म उपभोग गर्न सकिने त्यस्ता उत्पादनहरु पठाएर त्यसको उपभोग बढाउन सकिन्छ । डेरी उद्योग बहुआयामिक क्षेत्र हो । यो क्षेत्र आफैमा धेरै क्षेत्रसँग अन्तरसम्बन्धित हुने भएकोले यो क्षेत्रमा हुने विकासले अन्य धेरै क्षेत्रलाई सहयोग गर्छ । पशुपालनमा विस्तार हुँदै जाँदा कृषि क्षेत्रबाट उत्पादन हुने दाना उद्योगहरु पनि फस्टाउँदै जान्छन् । यसबाट पशुपालनबाहेकका अन्य कृषकलाई पनि अप्रत्यक्ष रुपमा सहयोग मिल्न जान्छ । त्यस्तै, यो क्षेत्रको प्रवद्र्धन हुँदा अन्य पशुजन्य उत्पादनहरु प्रवद्र्धन गर्न पनि यसले सहयोग गर्छ । नयाँ नयाँ अनुसन्धान र विकास अघि बढ्दै जाने हो भने भोलिलका दिनमा उच्च नश्ल भएका गाईभैंसी विदेशमा बिक्री गरी प्रशस्त विदेशी मुद्रा आर्जन गर्नसक्ने अवस्था पनि रहन्छ ।