काठमाडौँ ३२ जेठ
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले डा. अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।
आज बिहान मात्रै शंकरदास वैरागीले मुख्य सचिवको पदबाट राजीनामा दिएका थिए । वैरागीको राजीनामा स्वीकृत गरेपछि अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय भएको हो ।
उनी प्रधानमन्त्री कार्यालयमा सचिव थिए। उनले सूचना तथा सञ्चार, उद्योग वाणिज्य तथा आपूर्ति, योजना आयोगमा काम गरेका छन्। सहसचिव रहँदा लामो समय अर्थ मन्त्रालयको बजेट महाशाखामा काम गरेका थिए।
अहिले मुख्यसचिव रहेका शंकरदास वैरागीलाई सरकारले राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार नियुक्त गरेको छ।