neapl investment mega bank
  • गृहपृष्ठ
  • पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक

पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक

Dec 11th, 2019

कास्की, २५ मङ्सिर (रासस)

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको हो ।

प्रतियोगितामा विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स, पोखरा पल्टन र एक्सपर्ट धनगढी ब्लुज गरी छ टोलीले उपाधिका लागि स्पर्धा गर्नेछन् । मङ्सिर २८ गते उद्घाटन खेल साविक विजेता पोखरा पल्टन र काठमाडौँ गोल्डेन्सबीच हुनेछ । मङ्सिर २९ गते विराटनगर टाइटन्स र धनगढी ब्लुज तथा काठमाडौँ गोल्डेन्स र बुटवल ब्लास्टर्स बीच दुई खेल हुनेछ ।

मङ्सिर ३० गते पोखरा पल्टन र चितवन राइनोज स्पर्धामा उत्रिनेछन् भने पुस १ गते काठमाडौँ गोल्डेन्स र धनगढी ब्लुज तथा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच स्पर्धा हुने खेल तालिका छ । पुस २ गते बुटवल ब्लास्टर र चितवन राइनोज तथा पुस ३ गते पोखरा पल्टन र बुटवल ब्लास्टर तथा धनगढी ब्लुज र चितवन राइनोज भिड्ने छन् ।

पुस ४ गते विराटनगर टाइटन्स र काठमाडौँ गोल्डेन्स आमनेसामने हुनेछन् । पुस ५ गते विराटनगर टाइटन्स र चितवन राइनोज खेल्नेछन् भने सोहि दिन दिउँसो बुटवल ब्लास्टर र धनगढी ब्लुज प्रतिष्पर्धामा उत्रिनेछन् । पुस ६ गते धनगढी ब्लुज र पोखरा पल्टन खेल्नेछन् । पुस ७ गते चितवन राइनोज र काठमाडौँ गोल्डेन्स तथा पुस ८ गते बुटवल ब्लास्टर र विराटनगर टाइटन्सबीच स्पर्धा हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिनुभयो ।

पुस १० गते समूहमा दोस्रो र तेस्रोका बीचमा फाइनल प्रवेशका लागि ‘इलिमिनेटर’ खेल हुनेछ । सो खेलको विजेता र समूह विजेताबीच पुस १२ गते प्रतियोगिताको उपाधिका लागि स्पर्धा हुने आयोजकले जनाएको छ । गत वर्ष विजेता पोखरा पल्टनले ट्रफीसहित नगद रु २७ लाख तथा उपविजेता चितवन राइनोजले नगद रु १० लाख प्राप्त गरेको थियो । आयोजकले यस संस्करणको पुरस्कार राशी सार्वजनिक गरिसकेको छैन ।