neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट सुविधा नदिने ६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने मेयर बालेनको चेतावनी

छुट सुविधा नदिने ६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने मेयर बालेनको चेतावनी

May 31st, 2023

काठमाडौ १७ जेठ

महानगरपालिकाका मेयर बालेन शाहले विपन्न एवं लक्षित वर्गलाई अस्पतालले कानून बमोजिम पाउनुपर्ने सुविधा उपलब्ध नगराएका अस्पताल प्रशासन बन्द गर्ने चेतावनी दिएका छन् ।

मेयर शाहले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा कानून अनुसार विद्यमान सुविधा उपलब्ध नगराएमा अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने बताएका हुन्।

काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउने सम्बन्धमा जेठ ६ गते सार्वजनिक सूचना जारी गरिसकेको छ ।

यस सम्वन्धमा उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेका छन् ।

उनले भनेका छन् ‘यदि मन्त्री ज्युले ७ दिन भित्र उहाँहरूलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ,’ ।