काठमाडौँ, १६ जेठ
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सांसद विकास कोष पाएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आएको भन्दै व्यङ्ग्य गरेका छन् । । सरकारले साविकको सांसद विकास कोषअर्थात् स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम ब्युँत्याएपछि सामाजिक सञ्जालमार्फत मङ्गलबार उनले उनले वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ? भनेर प्रश्न समेत गरेका छन् ।
उनले लेखेका छन् “सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीयज्यूहरू ।”
आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत खारेज गरिएको यो कार्यक्रमलाई आगामी आर्थिक बर्ष २०८०/८१ मार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदीय क्षेत्र विकास कार्यक्रमका रूपमा फेरि ल्याइएको बताएका थिए।
यस कार्यक्रमअन्तर्गत एउटा आयोजनामा न्यूनतम १ करोड विनियोजन हुने गरी सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलगायतका भौतिक पूर्वाधार निर्माणका आयोजना तथा कार्यक्रम छनोट गरिने उनले बताए ।
यो कार्यक्रम कार्यान्वयन गर्न आगामी आवका लागि सरकारले ८ अर्ब २५ करोड विनियोजन गरेको छ ।