काठमाडौ १५ जेठ
संविधानले नै जेठ १५ गते संघीय संसद्मा बजेट पेस गर्नुपर्ने व्यवस्था गरेपछि सरकारले आज बजेट ल्याउँदै छ । स्रोतका अनुसार अर्थमन्त्री डा. प्रकाशशरण महतले आज १७ खर्बहाराहारीको वार्षिक बजेट ल्याउने तयारी गरेका छन् ।
अर्थ मन्त्रालयका एक अधिकारकिा अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहने स्रोत अनुमान समितिले आगामी आवको बजेटका लागि १६ खर्ब ८८ अर्बको सिलिङ दिएअनुसार सोही आधारमा बजेट तयार पारिएको छ ।
सरकारले चालु आर्थिक बर्षका लागि भने १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट छुट्याएकोमा आगामी बर्षको बजेटको आकार भने घट्ने बताइएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठुलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । अर्थमन्त्री महतले स्रोतका सीमितताका कारण ठुलो आकारको बजेट ल्याउन सम्भव नहुने बताउँदै आएका छन् ।
राजस्व संकुचनका कारण स्रोतको तीव्र दबाबकाबिच आउन लागेको बजेटमा कतिपय चालु खर्च र वित्तीय हस्तान्तरण हुने अनुदान पनि कटौती हुने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
त्यस्तै सरकारले खर्च कटौति गर्न प्रशासनिक खर्च घटाउने तयारी स्वरूप दुई दर्जन बोर्ड तथा समिति पनि खारेजी गर्ने तयारी समेत गरेको बताइएको छ ।
यतिखेर सार्वजनिक ऋणको साँवा ब्याजको दायित्व बजेटको आकारभन्दा बढी भएको छ । पुँजीगत खर्च नहुँदा बजारमा आवश्यक पुँजी प्रवाह हुन सकेको छैन । बैङ्क तथा वित्तीय प्रणालीमार्फत पनि पुँजी प्रवाह हुन सकेको देखिदैन । सरकारले यीनै अवस्थालाई मध्यनजर गरेर बजेट ल्याउन लागेको हो ।