काठमाडौँ १४ जेठ
वर्ष २०७९/ ८० मा नेपालको आर्थिक वृद्धिदर कम हुने अनुमान गरिएको छ । सरकारले आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादनमा सङ्कुचन आउने भएकोले आर्थिक वृद्धिदर कम हुने अनुमान गरिएको हो ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा यातायात तथा भण्डारण क्षेत्र, शिक्षा र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घटेसँगै देशको आर्थिक वृद्धि २.१६ प्रतिशतमा सीमित हुने उल्लेख छ ।
गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा ५.२६ प्रतिशत रहेको थियो । ऊर्जा उत्पादनमा वृद्धि भएको कारण विद्युत, ग्यास, वाष्प र वातानुकुलित क्षेत्रको उत्पादन भने १९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ३.७४ प्रतिशत र वागमती प्रदेशको सबैभन्दा कम १.८० प्रतिशत रहने अनुमान छ ।
चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर बढ्ने अनुमान गरिएको छ भने यस अवधिमा कृषि र गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः २.७३ प्रतिशत र १.९२ प्रतिशत रहने सरकारको अनुमान छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर क्रमशः २.२४ प्रतिशत र ६.५६ प्रतिशत रहेको थियो ।