काठमाडौँ ९ जेठ
सरकारले जापानले दिने ४१ करोड बराबरको अनुदान सहायता स्वीकृत गरेको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा जापान सरकारबाट मानव संसाधन विकास छात्रवृत्तिका लागि यो अनुदान साहयता लिने निर्णय गरेको हो ।
त्यस्तै सरकारले अर्थमन्त्रीको प्रस्तावमा भन्सार महसुल विधेयकका लागि सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताइन् । यसले भन्सारसम्बन्धी नयाँ विधेयक तर्जुमाका लागि बाटो खुलेको उनले बताइन् ।
मन्त्री शर्माका अनुसार विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि १९.७० मिलियन अमेरिकी डलर सहायता स्वीकृति गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै, विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय भएको छ ।
बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने र असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको समेत उनले जानकारी दिइन् ।