ललितपुर, जेठ ५
ललितपुरको लगनखेल बसपार्कबाट सातदोबाटोतिर जाँदा बीच तिर पुगेपछि बायाँ तर्फ हनुमान स्थानको मन्दिर छ । मन्दिरको पूर्वपट्टि एउटा सुन्दर पार्क छ । जहाँ गमलामा फूल फुलेका छन्। आराम गर्नलाई फलामको बेन्च राखिएको छ । जथाभावि फोहोर नहोस् भनेर डस्बिन पनि राखिएको छ । यो सुन्दर ठाउँमा बच्चा बच्चीदेखि वृद्धवृदासम्म रमाइरहेका छन्। यो सुन्दर र आरामदायी ठाउँ बनेको धेरै भएको छैन । यो पोडियम दुई महिना अघि मात्र दुई दिनमा पार्कको रुपमा परिणात भएको हो ।
‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने भनाइलाई ललितपुर महानगरपालिकाले चरिरार्थ गरेको छ । अव्यवस्थित पार्किङका कारण सधैं अस्तव्यस्त रहने यो ठाउँलाई ललितपुर महानगरले पार्कको रुपमा परिणत गरेको हो । २०७९ फागुन ६ गते शनिबार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगनखेलको हनुमान स्थान दर्शन गर्न गएका थिए । मन्दिरको प्रवेशद्वारदेखि वरिपरिको क्षेत्र अव्यवस्थित पार्किङले आक्रान्त बनेको देखे।
त्यसपछि उनले यस क्षेत्रलाई व्यवस्थित पार्कको रुपमा विकास गर्न ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथूलाई निर्देशन दिए । उक्त निर्देशनपछि नगर प्रहरीको टिमले तुरून्तै काम सुरू ग¥यो र दुई दिनमै पार्किङ हटाएर यसलाई ठाउँ सुन्दर पार्कको रुपमा विकास गर्याे। सम्पदा क्षेत्रमा पर्ने उक्त स्थल मन्दिर दर्शनार्थीहरूको मात्र होइन, वरपरका स्थानीयको निम्ति पनि पार्किङ स्थल बनेको थियो । लगनखेलका व्यवसायीले पनि आफ्ना सवारी यहीँ पार्किङ गर्ने गरेका थिए । बजारमा राख्दा असुरक्षित हुन्छ भनेर मन्दिरमा ल्याएर राख्थे ।
‘पहिला त यहाँ मन्दिर जानलाई पनि एकदमै कठिन थियो,’ सुशिला तण्डुकार महानगरको तारिफ गर्दै भन्छिन्, ‘अहिले त धेरै राम्रो भएको छ । केटाकेटीले खेल्न खाली ठाउँ पनि पाएका छन् । बिहान–बिहान मन्दिर आउनेहरूका लागि एकछिन टहलिने ठाउँ पनि भएको छ । बुढा पाकाका लागि चौतारी पनि भएको छ ।’ महानगरले यस ठाउँलाई पार्कमा परिणत गरेपछि ठाउँको पहिचान नै बेग्लै बनेको उनी बताउँछिन्। अहिले त यहाँका स्थानी आफै पार्कको सफाई रेखदेख गर्छन् ।’यहाँका स्थानीय पनि एकदमै बुझ्ने छन्। गमलामा पानी उनीहरु आफै हाल्छन् । बोटबिरुवाको रेखदेख पनि उनीहरुले नै गर्छन् । रत पार्क बनाएको यतिका समयपछिसम्म पनि उस्तै सफा र हरियाली छ,’ उनी खुसी हुँदै भन्छिन्।
ललितपुर महानगरले पार्क निर्माण गर्न त्यति धेरै केहि गरेको छैन। अव्यवस्थित पार्किङका कारण सधैं अस्तव्यस्त रहने यो ठाउँलाई व्यस्थित गर्न १५ ओटा गमला राखिएको छ । गमलामा विभिन्न खालका फूल र विरुवाहरु रोपएका छन् । अनि वरपर बस्न मिल्ने खालका स्टिलका आठ ओटा कुर्सीहरु राखिएका छन् । बीचमा महानगरकै लोगो टाँसिएको एउटा डस्टविन छ । बस, यत्ति हो ।
यत्ति गर्दा आज यो ठाउँ थकाई मार्न र गफिन लायकको बनेको छ । बालबालिकाहरुलाई खेल्ने सुरक्षित ठाउँ बनेको छ । कसैका लागि भेटघाट गर्ने थलो बनेको छ । महानगरलाई सुरुमै पार्क बनाउन सजिलो भने थिएन । सुरूमा त स्थानीयले पार्किङ हटाउने कुरामा असहमति जनाएका थिए । उनीहरूले कुनै पनि हालतमा पाकिङ हटाउन नहुने जिकीर गरेका थिए । तर, स्थानीयलाई सम्झाइ बुझाई गरेर पार्कमा परिणत गरेको ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथू बताउँछन्। भन्छन्, ‘सुरुमा त यहाँका स्थानीयले विरोध गर्नु भयो। एक्कासि पार्किङ हटायो भने यहाँको व्यापार व्यवसाय सुक्छ । पार्क निर्मा गर्न नदिने भने । तर हामीले उहाँहरुलाईे सम्झाइ बुझाइ गरेपछि मान्नु भयो । अहिले उहाँहरु पनि एकदमै खुसी हुनुभएको छ । पार्कको रेखदेख आफै गरिरहनुभएको छ।’
नगर प्रहरी टोलीले त्यो ठाउँको फोहोरमैला हटाएर पार्क बनाएपछि र मन्दिर वरिपरिको क्षेत्र खुला भएपछि स्थानीय खुसी छन् ।
यहाँ पार्किङ गर्नेहरूका लागि पनि पार्किङको व्यवस्था मिलाएको छ, महानगरपालिका। पार्किङ गर्नका लागि भनेर महानगरलेनै सडकको एक क्षेत्रमा निःशुल्क पार्किङको व्यवस्था गरेको छ । यहाँ रिक्स भयो वा ठाउँ भएन भने उता सःशुल्क पार्किङको पनि व्यवस्था गरेको छ । जसले गर्दा पहिला पार्क बनाएको ठाउँमा पाकिङ गर्नेहरूलाई पनि धेरै सहज भएको छ।
‘सर्वसाधारणलाई विश्वासमा लियो भने गाह्रो काम केही छैन । हामीले उहाँहरूलाई सम्झाइबुझाइ पार्किङ स्थललाई पार्कमा परिणत गरेका हौं,’ उनी भन्छन्, ‘अहिले हनुमान स्थान मन्दिर क्षेत्र खुला हुनुका साथै सवारी पार्किङको वैकल्पिक व्यवस्था पनि भएको छ । हामी पनि खुसी छौ ं। स्थानीय पनि खुसी हुनुभएको छ ।’
यसरी सवारी पार्किङमा परिणत भएको सम्पदा क्षेत्रलाई दुई दिनमै महानगरले पार्कमा बदल्न सकेको हो । यो त एउटा सानो उदाहरण मात्रै हो । अहिले ललितपुर महानगरले अव्यवस्थित धेरै ठाउँहरूलाई पार्कमा परिणत गर्दै आएको छ । हालसम्म जावलाखेल, झम्सिखेल लगायतका धेरै ठाउँ पार्क निर्माण गरिसकिएको छ । नगरस्तरीय गौरवको आयोजनाका लागि छुट्टाइएको ६ करोड रूपैयाँ बजेटबाटै यस्ता पार्कका कामहरू भइरहेको नगर प्रहरी प्रमुख हाछेथू बताउँछन् । पार्कमा गमला, कुर्सी लगायतका फर्निचरको व्यवस्था पनि त्यही बजेटबाट गरिँदै आइएको छ ।
पार्क संसारभर शहरका अभिन्न अंग बन्न थालेका छन् । नयाँ पार्क बनाउने, पुराना पार्क पुनर्स्थापना र विस्तार गर्ने अभियान चलेको छ । कुनै पनि शहरको पर्यावरण, त्यहाँका मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य, त्यो शहरको शोभा र सभ्यतासँग पार्क जोडिन थालेको छ । त्यसैले पनि ललितपुर महानगरले पार्क निर्माणलाई प्राथमिकता दिएको हो । उनी भन्छन्, ‘सहरको कोलाहलबीच मानिसका आँखा र मन शीतल र शान्त पार्न मात्र पार्क चाहिने होइन । पार्कको महत्व त्योभन्दा बहुआयामिक र गहिरो छ । फेरि पार्क भनेको मुलुक धनी भएपछि मात्र बनाउने पनि होइन । किनभने, पार्क विलासी कुरा हैन, सहरको न्यूनतम आवश्यकता हो । धनीभन्दा न्यून आय भएका मानिसलाई झनै चाहिने कुरा हो ।’
शहरी बासिन्दाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पार्क र हरियालीले धेरै सकारात्मक प्रभाव पार्ने उनी बताउँछन् ।
शहरमा बस्ने हाम्रो शरीरको रुखबिरुवासँग सम्पर्क टुटेको छ । माटोको गन्ध सुँघ्न पाउँदैन । न बग्ने पानीको आवाज सुनेको छ, न त्यस्तो ताजा पानीको बासना नै थाहा छ । शहरिया शरीरले न त पुग्ने गरी हावाको स्पर्श लिन्छ, न घामको ।
‘हामी शहरका मानिसलाई जंगलमा स्थानान्तरण गर्न सक्दैनौं न त शहरलाई जंगलमा बदल्न सक्छौं,’ प्रमुख हाछेथु सम्झाउँछन्, ‘तर, सहरमा रुख रोप्न सक्छौं, हरियाली बढाउन सक्छौं । खाली ठाउँ खोजेर र ठाउँ खाली गरेर सानाठूला पार्क बनाउन सक्छौं । ती पार्कमा एकैछिन हिँडेर, डुलेर मानिसले तनाव कम गर्न सक्छन् । रमाउन सक्छन् । खुसी हुन सक्छन् ।’ यसैले महानगरले पार्क निर्माणलाई प्राथमिकता दिएको हो । र, आगामी दिनमा अझ पार्क निर्माणलाई विस्तार गर्दै लैजाने पनि महानगरको योजना रहेको छ ।