neapl investment mega bank
  • गृहपृष्ठ
  • नक्कली भूटानी शरणार्थी प्रकरणबारे टीआई नेपालको धारणा

नक्कली भूटानी शरणार्थी प्रकरणबारे टीआई नेपालको धारणा

May 12th, 2023

काठमाडौं, बैशाख २९

ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई हदैसम्म कारबाही हुनुपर्ने माग गरेको छ । शुक्रबार टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले प्रेस विज्ञप्ति जारी गर्दै  प्राप्त प्रमाणलाई उचित संयोजन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने बताएकी हुन् ।

अध्यक्ष प्रधानाङ्गले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन गरिएको संगठित प्रयासबारे हाल भइरहेको तदारूकतापूर्ण अनुसन्धानको टीआई नेपालले स्वागत गरेको बताएकी छिन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हालसम्मको अनुसन्धानबाट उच्च प्रशासनिक तथा राजनीतिक तहको संलग्नता देखिएको यस प्रकरणको अनुसन्धान कुनै पनि प्रकारको दबावबाट प्रभावित नहोस्, कुनै पनि बहानामा छानबीन शिथिल नहोस् र नरोकियोस्, प्राप्त प्रमाणलाई उचित संयोजन नगरी मुद्दा कमजोर बनाएर अदालतमा पेश गर्ने प्रपञ्च नरचियोस् र अपराधीहरू जुनसुकै पद र तहका भए पनि तिनलाई हदैसम्मको कारवाही होस् भनी टीआई नेपाल जोडदार आग्रह गर्दछ ।’

कुनै पनि प्रकारको दबाब र प्रभावबाट मुक्त निष्पक्ष छानबिन गरी सबै पद र तहका समस्त अपराधीहरूमाथिको कारबाही हुनुपर्ने पनि टीआई नेपालको भनाइ छ । ‘आफ्नै नागरिकलाई अनागरिक बनाउने, उनीहरूसँग अवैध रकम असुली गर्ने र किर्ते कागजात तयार गरी शरणार्थीका रूपमा विदेश पठाउने यो उपक्रम जालसाजी, लुट र मानव तस्करीको संगठित अपराध मात्र होइन, राज्यविरुद्धको, नागरिकविरुद्धको र मानवताविरुद्धको अक्षम्य अपराध समेत हो । यो अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र साख ध्वस्त पार्ने कुकृत्य त हुँदै हो, नेपालका मित्रराष्ट्रहरूको सदाशयलाई प्रताडित गर्ने दुष्कृत्य पनि हो,’ टीआई नेपालको विज्ञप्तिमा भनिएको छ ।