नेपाली बैंक तथा वित्तीय संस्थाहरु ह्याक गरेर रकम चोर्ने कार्यमा संलग्न गिरोहका तीन जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाका रमेश खड्का, नवलपरासीका विशेश्वर प्रसाद तिवारी र सन्दीप कलवास रहेका छन् ।
उनीहरुले विभिन्न प्रलोभनमा पारेर ठगी गरेका थिए । महानगरीय अपराध महाशाखाका अनुसार नाइजेरियन तथा भारतीय नागरिक पीटर हर्मन असेन्जा र स्मिथ मोरिसले नयाँ दिल्ली, मुम्बई पाकिस्तान, चीन, तान्जानिया, इथियोपिया तथा बेलायतमा बसी नेपालका विभिन्न व्यक्तिलाई एजेन्ट बनाएर ठगी तथा बैंक ह्याक गर्न लगाउँदै आएका थिए ।
प्रहरीका अनुसार यो ठगी र ह्याकका नाइके पीटर हर्मन असेन्जा र स्मिथ मोरिससहित अरु १० जना भारतीय पनि रहेको बताइएको छ ।
उनीहरुलाई राजधानीबाहिरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । सो समूहले कृषि विकास बैंक र पानश रेमिट ह्याक गरेको र त्यसरी ह्याक गरेको तथा ठगी गरेको रकम विभिन्न १७ वटा बैंकमा राखेर कारोबार गर्दै आएका थिए ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाले ह्याक र ठगी गरेको रकम नेपालका एजेण्डलाई १५ देखि २० प्रतिशत दिने र बाँकी रकम विभिन्न माध्यमबाट भारत पठाउने गरेको देखिएको वताइएको थियो ।
४० नेपाली एजेण्टहरुले सो कार्य गर्नका लागि एक जनाले ६ वटासम्म खाता खोलेको पाइएको र हालसम्म उनीहरुले १४ करोड ६७ लाख ९१ हजार शंकास्पद रुपमा कारोबार गरेको पाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सोही समूहमा रहेका ३४ नेपाली अनलाइन फर्डमा पनि संलग्न भएको पाइनुका साथै १५ जना पीडितहरु पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् ।